News

Dec 30, 2008

संसद्को बैठक बहिष्कार गर्दै भत्ता खाँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१४ पुस व्यवस्थापिका संसद्को बैठक बहिष्कार भइरहेको छ । त्यो पनि छैटौं पटकसम्म । तर, सदन बहिष्कार गरेर पनि सभासद्हरूले तबल बुझिरहेका छन् । काम केही नगर्ने वा गर्न नदिने सभासद्ले पनि प्रत्येक दिनको भत्ता बुझेको सुन्दा सबैलाई विरक्त लाग्न सक्छ । तर, भएको छ यस्तै । लगातार छैटौं दिन पनि बैठक स्थगित भयो । यो अवधिमा कुनै पनि व्यवस्थापकीय काम सदनले गरेको छैन । तर पनि सभासद्हरूको हरेक बैठकको भत्ता भने पाकिरहेको आधिकारिक निकायले जानकारी दिएको छ । पछिल्लो डेढ सातादेखि सभासद्हरू बैठकस्थल पुग्छन्, हाजिरी गर्छन् । र, नियमसंगत ढंगले दैनिक बैठक भत्ता र यातायात खर्चबापत पाउने तीन सय ५० रुपैयाँ आउने मेसो पक्का गर्छन् । सभासद्हरूले काम नगर्दासमेत भत्ता पाउने 'अनौठो व्यवस्था'ले राज्यकोष भने दैनिक दुई लाख रुपैयाँभन्दा बढीका दरले रित्तिन्छ । सभासद्हरूलाई मासिक पारिश्रमिकबाहेक बैठक बसेका दिन दुई सय बैठक भत्ता र एक सय ५० रुपैयाँ यातायात खर्चबापत राज्यले दिने गर्छ । ६ सय एक सदस्यीय संविधानसभामा अहिले पाँच सय ९४ सभासद् छन् । उनीहरूले पाउने दैनिक बैठकभत्ता र यातायात खर्चबापत मात्रै एक दिनमा दुई लाख सात हजार नौ सय रुपैयाँ खर्च हुन्छ । बैठक बसेका दिन उपस्थित सबै सभासद्ले उक्त सुविधा पाउँछन् । संसद् स्थगित भएका पछिल्ला ६ दिनमा मात्रै सभासद्हरूका लागि सरकारी ढुकुटीबाट १२ लाख ४७ हजार चार सय रुपैयाँ भत्तामा मात्रै सकिएको छ । तर, यो अवधिमा सभासद्हरूले संसद्मा गर्नुपर्ने कुनै पनि व्यवस्थापकीय काम भने गरेका छैनन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसले बैठक बहिष्कार गर्न थालेपछि गत ३ पुसदेखि लगातार संसद् बैठक स्थगित हुँदै आएको छ । गत २६ कात्तिकमा सरकारसित भएको नौबुँदे सहमति कार्यान्वयनका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनसमक्ष जवाफ दिनुपर्ने माग गर्दै कांग्रेसले बैठक बहिष्कार गर्दै आएको हो । सभासद्समेत रहेका कांग्रेस नेता डा. प्रकाशशरण महतले संसदीय प्रक्रियाका विभिन्न रूपभित्रै बहिष्कार पनि पर्ने भएकाले अनौठो नभएको बताए । 'संसद्को काम व्यवस्थापकीय मात्रै नभएर सरकारलाई सचेत गर्नु पनि हो,' उनले भने । बैठक बहिष्कार गर्ने तथा गर्नुपर्ने व्यवस्थापकीय काम नगरे पनि अहिलेसम्म कुनै पनि सभासद्ले भत्ता बहिष्कार गर्ने 'नैतिक आँट' भने देखाएका छैनन् । केही सभासद्हरू त हाजिर गर्न मात्रै संसद् जाने गर्छन् । उनीहरू बैठकस्थलमै बस्दैनन् । हाजिरी गरेर निस्कन्छन् । माओवादी सभासद् खिमलाल देवकोटा नियमसंगत ढंगले काम नगर्दा पनि भत्ता बुझ्नु जायज भए पनि नलिनु उचित हुने बताउँछन् । उनले सेवा सुविधासम्बन्धी ऐनमै सुधार गर्नुपर्ने बताए । 'एउटा सभासद्ले मासिक पारिश्रमिक नै पाउने भएकाले अन्य नाममा दोहोरो सुविधा दिनु राम्रो होइन । ऐनमै केही सुधार गर्नुपर्नेछ,' नयाँ पत्रिकासित उनले भने । संसद्का पदाधिकारी र सदस्यहरूको सेवा सुविधासम्बन्धी पुरानै ऐन अहिले पनि कार्यान्वयनमा रहेको छ । सरकारले अर्को व्यवस्था नभएसम्म यही ऐनलाई आधार मानेर सभासद्हरूलाई सेवा सुविधा दिने निर्णय गरेको छ । संसद् बहिष्कार वा अवरुद्ध गर्ने तर बैठकभत्ता र यातायात खर्च बुझ्ने परम्परा नयाँ भने होइन । अन्तरिम व्यवस्थापिका संसद्को समयमा माओवादीले रोष्ट्रम घेराउ गर्दै केही दिन संसद् बैठक अवरुद्ध गरेको थियो । उनीहरूले संसद् अवरुद्ध गरे पनि भत्ता भने बुझेकै थिए । त्यस्तै, एमालेले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाविरुद्ध ५६ दिन संसद् अवरुद्ध गरेको थियो । त्यतिखेर पनि सांसदहरूले भत्ता भने बुझेकै थिए । संविधानसभा सदस्यहरूलाई मासिक पारिश्रमिक, बैठकभत्ता तथा यातायात खर्चका लागि राज्यले करोडौं खर्च व्यहोर्नुपर्छ । निर्धारित दुई वर्षको अवधिमा नयाँ संविधान बनाए भने पनि सभासद्हरूको पारिश्रमिकमा मात्रै राज्यले ३ अर्बभन्दा बढी खर्च गर्नुपर्छ ।

बालकमाथि प्रहरीको बर्बर यातना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुर्खेत, १४ पुस गाग्री चोरेको आरोपमा गाउँलेले मोसो दली चारपाटा मुडेर ल्याएका दुई बालकलाई जिल्ला प्रहरी कार्यालयका सईले बर्बर यातना दिएका छन् । १२ र १३ वर्षका ती बालकलाई गाउँलेकै सामुन्ने प्रहरी कन्ट्रोल रुममा उनले निर्घात कुटेका थिए । उत्तरगंगा-७, तापानीका १२ वषीय गोपाल मल्ल र १३ वषीय अमर विकलाई गाउँलेले सोमबार दिउँसो तीन बजेतिर चारपाटा मुडेर जिप्रकामा ल्याएका थिए । उनीहरूलाई देख्नासाथै सई मनोज कुमारले 'यिनै हुन् साले चोरहरू' भन्दै कटबाँसको लठ्ठीले भकुर्न थाले । उनले कन्ट्रोल रुममा राखिएका दुईवटा लठ्ठी समातेर लगातार प्रहार गरेका थिए । दुखाइले बालकहरूको चिच्याहट करिब सय मिटर पर सडकसम्म सुनिएको थियो । गाउँलेले 'अझै भएन हान्नुस् सर' भन्दै उक्साइरहेका थिए । कुमार पनि के कम, हुटिङ पाएको खेलाडीको शैलीमा बालकहरूमाथि बर्सिरहे । पत्रकारहरूले फोटो खिच्न थालेपछि भने उनले बालकलाई कन्ट्रोल रुमको भित्रपट्टी लगेका थिए । उनी भन्दै थिए, 'अस्ति पनि साला चोरहरू समातिएका थिए, नयाँ एसपीले कुरा नबुभदा छोडियो, अब त यिनीहरूलाई छोड्दिनँ ।' बालकसँगै जिप्रका गएका जिल्लास्थित केही बालअधिकारवादी संस्थाका प्रतिनिधिले चारपाटा मुडेर मोसो लगाई बजार घुमाउनेलाई प्रहरीले कारबाही गर्ला भन्ने आशामा थिए । तर, सई कुमारको व्यवहारले उनीहरू चकित परे । एक अधिकारवादीले भने, 'नाबालकले चोरेमा उनीहरूलाई कारबाही गर्ने उचित कानुन छ, बालकहरूमाथि यसरी भौतिक आक्रमण गर्ने प्रहरीमाथि कारबाही हुनुपर्छ ।' गोपाल मल्ल भन्छन् - मेरो बुबाको तीन महिनाअघि भारतको सिमलामा मृत्यु भयो । उहाँ काम गर्न जानुभएको थियो, हिउँमा पुरिएर मृत्यु भएछ । घरमा आमा र एक भाइ छन् । आमा गिट्टी कुट्ने काम गर्नुहुन्छ । म हरिडिल प्राविमा पाँच कक्षामा पढ्छु । मैले यसअघि कहिल्यै पनि चोर्ने काम गरेको थिइनँ । तर, अहिले स्कुलमा नास्ता खाने पैसा जुटाउनका लागि साथीसँग मिलेर गाग्री चोेरेको हुँ ।

चार विदेशी कम्पनीलाई लगानी अनुमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१४ पुस विभिन्न मुलुकका चारवटा कम्पनीले नेपालका जलविद्युत् आयोजनामा लगानी गर्ने अनुमति पाएका छन् । दुईवटा भारतीय र एक-एक जर्मन तथा सिंगापुरका कम्पनीले सो स्वीकृति पाएका हुन् । चारवटै विदेशी कम्पनीले उद्योग विभागबाट जलविद्युत् आयोजनामा लगानी गर्न स्वीकृति पाइसकेको विभागले जनाएको छ । विभागको वैदेशिक लगानी शाखाका अनुसार, भारतका तेलाई सम्यक हाइड्रो पावर कम्पनी र नौलो हाइड्रो इलेक्टि्रक प्रालि, जर्मनीको दर्दी रिभर एन्ड तार्कुघाट मारियाकोर्ट हाइड्रो इलेक्टि्रसिटी तथा सिंगापुरको एसएन पावर होल्डिङले जलविद्युत् आयोजनामा लगानीका लागि स्वीकृति पाएका छन् । साउनयता लगानी प्रस्ताव पेस गरेका ती कम्पनीलाई विभागले स्वीकृति दिएको हो । स्वीकृतिप्राप्त कम्पनीले नेपालका विभिन्न नदीखोलामा जलविद्युत् आयोजना सञ्चालन गरी करिब ५ सय ५० मेघावाट विद्युत् उत्पादन लक्ष्य राखेका छन् । लगानीका लागि स्वीकृति लिएका कम्पनीमध्ये सिंगापुरको एसएन कम्पनीले सबैभन्दा बढी ४ सय ८२ मेघावाट विद्युत् उत्पादन गर्ने प्रस्ताव पेस गरेको छ । सो कम्पनीले तामाकोशीमा शतप्रतिशत आफ्नै लगानीमा आयोजना सञ्चालन स्वीकृति पाएको हो । कम्पनीले आयोजनाका लागि प्रारम्भिक सर्भे र डिजाइन गर्न ५३ करोड रुपैयाँ खर्च प्रस्ताव पेस गरेको छ । यसैगरी भारतीय कम्पनी नौलो नेपालले नेपाली साझेदारसँग मिलेर गोरखामा ६५ दशमलव ६ मेघावाट क्षमताको जलविद्युत् आयोजना सञ्चालन स्वीकृति पाएको छ । कम्पनीले सो आयोजना सञ्चालनका लागि प्रारम्भिक सर्भे र डिजाइन गर्न ५० करोड रुपैयाँ लगानी गर्न स्वीकृति लिएको हो । कुल लागतमध्ये ५० करोड रुपैयाँमा भारतीय लगानीकर्ताले ४५ करोड र नेपाली साझेदारले ५ करोड रुपैयाँ वेहोर्ने भएका छन् । यसैगरी तेलाई सम्यक कम्पनीले नेपाली साझेदारसँग मिलेर ९ सय ९५ किलोवाट क्षमताको आयोजना सञ्चालन स्वीकृति पाएको छ । सो कम्पनीले आयोजना सञ्चालनका लागि प्रारम्भिक सर्भे र डिजाइन गर्न दुई करोडको स्वीकृति पाएकामा नेपाली साझेदारले ३० लाख र भारतीय लगानीकर्ताले एक करोड ७० लाख रुपैयाँ वेहोर्ने भएका छन् । जर्मनीको दर्दी रिभर एन्ड तार्कुघाट कम्पनीले ९ सय ९० किलोवाट क्षमतायुक्त आयोजना सञ्चालन अनुमति पाएको छ । शतप्रतिशत जर्मनी लगानीमा सञ्चालन हुने आयोजना सञ्चालनका लागि प्रारम्भिक सर्भे र डिजाइन गर्न कम्पनीले ५ करोड रुपैयाँ लगानी गर्नेछ । साउनदेखि हालसम्म जलविद्युत्मा वैदेशिक लगानीका लागि चार कम्पनीले स्वीकृति पाए पनि दुईवटाले मात्र इजाजतपत्र लिएका छन् । उद्योग विभागका अनुसार, नौलो नेपाल र तेलाई सम्यक कम्पनीले इजाजतपत्र लिए पनि अन्य दुई कम्पनीले भने इजाजत लिइसकेका छैनन् । वैदेशिक लगानी स्वीकृत भएको तीन महिनाभित्र इजाजतपत्र लिइसक्नुपर्ने प्रावधान छ । पछिल्लोपटक वैदेशिक लगानी स्वीकृत भएकाबाहेक नेपाली र विदेशी लगानी रहेका अन्य चारवटा कम्पनीले पनि यसै वर्षको प्रथम चौमासिकमा आयोजना सञ्चालनका लागि इजाजतपत्र लिएका छन् । इजाजतपत्र लिने कम्पनीमा ३ सय मेघावाट क्षमताको माथिल्लो कणर्ाली आयोजना सञ्चालन गर्न जिएमआर आवर कणर्ाली हाइड्रो पावर, २० दशमवलव क्षमताको आयोजना सञ्चालनका लागि ल्यान्डमार्क सन्तोषी हाइड्रो पावर कम्पनी, २० मेघावाट क्षमताको आयोजना सञ्चालनका लागि बलेफी जलविद्युत् कम्पनी र २ दशमलव ४ मेघावाट क्षमताको आयोजना सञ्चालनका लागि रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी रहेका छन् ।

बंगलादेशमा सात वर्षपछि मतदान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ढाका/ बंगलादेशमा सात वर्षपछि सोमबार कडा सुरक्षा-व्यवस्थाबीच संसदीय चुनावका लागि मतदान भएको छ । चुनावमा ५० हजार सैनिक तथा ६ लाख प्रहरीलाई सुरक्षाका लागि तैनाथ गरिएको छ । देशभरमा ३५ हजार दुई सय १६ मतदान केन्द्र स्थापना गरिएका थिए भने महिला र पुरुषका लागि छुट्टाछुट्टै मतदान केन्द्र राखिएका थिए । तीन सय सिटका लागि भएको यस संसदीय चुनावमा मुख्य प्रतिस्पर्धा पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी लिग र खालिदा जियाको नेतृत्वको बंगलादेश नेसनलिस्ट पार्टीबीच हुने बताइएको छ । दुवै पार्टीले आ-आफ्नै गठबन्धन बनाएका छन् । अवामी दलको गठबन्धनमा १४ दल सामेल छन् भने खालिदा जियाको पार्टी बंगलादेश नेसनलिस्ट पार्टीमा चार दल सामेल छन् । महिलाको संख्या विगतमा भन्दा बढी रहेको देखिएको छ । प्रत्यक्षदर्शीका अनुसार ढाकाका विभिन्न मतदान केन्द्रहरूमा मत खसाल्न लाम लागेका महिला मतदाताको संख्या पुरुष मतदाताको भन्दा बढी छ । विगतमा मत खसाल्न आउने महिलाहरू विरलै मात्र देखिने गर्थे । चुनावमा बंगलादेशको निर्वाचन आयोगले कुल आठ करोड १० लाख ५८ हजार ६ सय ९८ रजिस्टर्ड मतदातामा ५०.९ प्रतिशत महिला रहेको बताएको छ ।

चर्चाको तेस्रो नम्बरमा स्टालिन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मस्को/ कम्युनिस्ट नेता जोसेफ स्टालिन रुसमा अझै चर्चित रहेका छन् । रुसको सबैभन्दा ठूलो टेलिभिजन स्टेसन रोसियाले गरेको मतसर्वेक्षणअनुसार प्रसिद्धिको सूचीमा स्टालिन तेस्रो स्थानमा छन् । पहिलो स्थानमा मध्ययुगका युवराज अलेक्जेन्डर नेभेस्की आएका छन् । १३औं शताब्दीमा युरोपियन आक्रमणकारीविरुद्ध नेभेस्कीले युद्ध छेडेका थिए । उनले विशाल रुसको साम्राज्यलाई अन्य देशबाट हुने आक्रमणबाट बचाए । पूर्वको मंगोल साम्राज्यसँग मेलमिलापको नीति लिएर रुसलाई मंगोल आक्रमणबाट पनि जोगाएको श्रेय उनलाई दिने गरिएको छ । दोस्रो स्थानमा सुधारवादी पूर्वप्रधानमन्त्री पियोटर स्टोलिपिन रहेका छन् । जार निकोलस द्वितीयको राज्यकालमा प्रधानमन्त्री बनेका पियोटर स्टोलिपिनले कृषिमा आधुनिकीकरण गरेका थिए । सन् १९११ मा उनको हत्या भयो । सर्वेक्ष्ाणमा पाँच करोड रुसी जनताले फोन, इन्टरनेट, टेक्स्टम्यासेजमार्फत मत प्रदान गरेका थिए । यस सर्वेक्ष्ाणमा ६ महिनासम्म जनताले मत प्रदान गरेका थिए । सुरुमा पाँच सय रुसी नायकलाई सर्वेक्षणमा समावेश गरिएको थियो । जनताको मतका आधारमा अन्तिममा १२ फाइनलिस्ट घोषणा गरियो । जर्जियाली मूलका स्टालिनले सर्वेक्ष्ाणको सुरुमा अन्यको भन्दा निकै मत पाएपछि कार्यक्रमका प्रोड्युसरले अन्य रुसी नायकलाई पनि मत दिन आग्रह गरेका थिए । दोस्रो विश्वयुद्धमा सोभियत युनियनले नाजी जर्मनीका शक्तिलाई पराजित गरेको श्रेय कैयौं रुसीले स्टालिनलाई दिने गरेका छन् ।

संविधान निर्माणको कार्यतालिका परिवर्तन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभा र व्यवस्थापिका-संसद्का समितिहरूको सभापति चयन गर्ने समयसीमालाई संशोधन गरिएको छ। संविधान निर्माणको ८२हप्ते कार्यतालिकामा संविधानसभाका सभापतिहरूको मनोनयन पुस १५ गतेसम्ममा गर्ने उल्लेख भएकोमा समयसीमाभित्र सभापतिहरूको चयन हुन नसकेपछि संशोधन गरिएको हो। संविधानसभाको सोमबारको बैठकले सभापतिहरूको चयन पुस २५ गते गर्ने गरी समयसीमा संशोधन गरेको हो।संविधानसभालगत्तै बसेको व्यवस्थापिका-संसद्को बैठकमा सभामुख सुवास नेम्वाङले व्यवस्थापिका-संसद्का सभापतिहरूको निर्वाचन पनि पुस २५ गते गर्ने जानकारी गराउनुभएको थियो।संविधानसभा बैठकले संविधानसभा नियमावली संशोधन मस्यौदा समिति गठन गरेको छ। समितिमा माओवादीका खिमलाल देवकोटा, कांगे्रसका डा. मीनेन्द्र रिजाल, एमालेका अग्नि सापकोटा र नेकपा संयुक्तका कल्पना राना हुनुहुन्छ। सभासद् पोस्टबहादुर बोगटीले समिति गठनका लागि प्रस्ताव प्रस्तुत गर्नुभएको थियो भने सभासद्हरू लक्ष्मण घिमिरे, भीमप्रसाद आचार्य र रामजनम चौधरीले र्समर्थन गर्नुभएको थियो।संविधानसभाले नियमावली संशोधन गरी संवैधानिक समितिमा स्वतन्त्र र मुस्लिम समुदायका दुइ सदस्य थप गर्ने निर्णय पनि गरेको छ। समितिमा स्वतन्त्र सभासद् सदरुल हक र बबन सिंह छन्। यसअघि ६१ सदस्यीय रहेको सो समितिमा दुइ सदस्य थप गरी ६३ सदस्यीय बनाइएको हो।

गोकर्ण सफारी जंगलमा सरकारले चिडियाखाना विस्तार गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्व राजाहरूको सयरस्थलका रूपमा रहेको गोकर्ण सफारी जंगलमा सरकारले चिडियाखाना विस्तार गर्ने तयारी गरेको छ। जाउलाखेलस्थित नेपालको एक मात्र सदर चिडियाखानामा जनावर र पन्छीका निम्ति स्थान अभाव हुन थालेपछि सरकारले सो तयारी गरेको हो।करिब ३१ सय रोपनीमध्ये हाल १५ सय रोपनी जंगलक्षेत्रमा आधुनिक वन्यजन्तु संरक्षण केन्द्र चिडियाखाना विस्तार गर्न लागिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव जुद्धबहादुर गुरुङले बताउनुभयो।हालको चिडियाखाना साह्रै साँघुरो र जनावरका निम्ति खोरजस्तो भएकाले गोकर्ण्र् विस्तारित गर्न लागेका हौ, सदस्यसचिव गुरुङले नेपाल समाचारपत्रसँग भन्नुभयो- अब बन्ने गोकर्ण चिडियाखानामा अवलोकन गर्न आउने मानिसलाई खोरमा राखिन्छ र जनावरलाई खुला छाडिन्छ।’मन्त्रालयबाट यसै साताभित्र गोकर्ण्र्नलाई विस्तारित चिडियाखानाका लागि स्वीकृति दिएपछि तीन महिनाभित्र चिडियाखाना विस्तार कार्य आरम्भ गरिने बताइएको छ।चिडियाघर विस्तारका निम्ति यसअघि सरकारले र्सूयविनायक, गोदावरीलगायत स्थान अवलोकन गरिसकेको बताउँदै सदर चिडियाखाना आयोजना प्रबन्धक सरिता ज्ञवालीले उपयुक्त भएकाले गोकर्ण विस्तारित गर्न लागिएको बताउनुभएको छ।अब केही महिनाभित्र नेपालमा विश्वस्तरकै आधुनिक चिडियाखाना हेन सकिनेछ’, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव गुरुङले भन्नुभयो- सो विषयमा सरकारले नयाँ सोच निर्माण गरिसकेको छ। विस्तारित चिडियाखानामा सबै जनावर र पन्छीलाई खुला राखिनेछ। सो चिडियाखानामा प्रकृति सुहाउँदो वृक्षरोपण र जनावरको बासस्थानसमेत बनाइनेछ।हाल जाउलाखेलमा रहेको सदर चिडियाखाना १ सय २० रोपनीमा सीमित छ। चिडियाखानामा १ सय ९ प्रजातिका जीवजन्तु रहेका छन्।

सिंहदरबारको मूलद्वार नजिक पिजन होल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मुलुकको मुख्य प्रशासनिक केन्द्र राजधानीस्थित सिंहदरबारको मूलद्वार नजिक पिजन होल राखिएको छ । सिंहदरबारभित्र रहेका सचिवालय, मन्त्रालय, विभाग एवम् अन्य निकायबाट प्रवाह हुने सेवा छिटो, छरितो र भरपर्दो हुनसकोस् भन्ने उद्देश्यले सिंहदरबारभित्र रहेका ती निकायमा आउने पत्र तथा दिइने निवेदनको सहजताका लागि सिंहदरबारको दक्षिण ढोकामा हरेक निकायको छुट्टाछुट्टै पिजन होल राखिएको छ । निवेदन, पत्र, गुनासा जस्ता कुरा त्यसमा राखिदिने व्यवस्था गरिएको हो ।अबदेखि सोही पिजन होलमार्फ आफ्नो पत्र निवेदन पठाउनसकिने गृहमन्त्रालयले जनाएको छ । यसैगरी सिंहदरबार प्रवेश गर्न चाहने र्सवसाधारणको सुविधालाई दृष्टिगत गरी सिंहदरबारभित्र रहेका सचिवालय, कार्यालय, मन्त्रालय र विभागलाई १९ समूहमा विभाजन गरी १९ प्रकारका प्रवेश पासको व्यवस्था पनि गरिएको छ । उक्त प्रवेश पास पर्ूववत प्रक्रियाअनुसार नै सम्बन्धित मन्त्रालयका लागि मात्र उपलब्ध गराइने पनि मन्त्रालयले जनाएको छ ।

इजराइलमा नेपाली कामदार पठाउने काम स्थगित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले इजरायल तथा प्यालेस्टिनबीच देखिएको पछिल्लो घटनाक्रमलाई ध्यानमा राखी त्यसतर्फकामदार पठाउने कार्य स्थगन गरेको छ । इजरायली सेनाले प्यालेस्टिन प्रशासन गाजा क्षेत्रमा गत साता गरेको हवाइ आक्रमणमा परी २३० जनाभन्दा बढीको मृत्यु भएपछि युद्ध सुरु हुनसक्ने सङ्केत देखापरेको भनी सरकारले हाललाई इजरायलमा कामदार नपठाउने निर्णय गरेको हो ।इजरायलमा पछिल्ला दिनमा नेपाली महिला कामदारको आकर्षा बढेर प्रतिदिन पाँचदेखि सात जना जाने गरेको श्रम तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । त्यहाँ ९० को दशकदेखि फाटफुट नेपाली कामदार जाने गरेका हुन् । हमास र इजरायलबीच छ महिनाअघि सम्पन्न युद्धविराम सम्झौताको अवधि सकिएको आठ दिनपछि त्यहाँ आक्रमण सुरु भएको हो ।

संविधानसभा नियमावली सर्वसम्मत पारित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभाको दोस्रो बैठकले संविधानसभा नियमावली संशोधन मस्यौदा समितिको प्रतिवेदन, २०६५ लाई र्सवसम्मतिले पारितगरेको छ । उक्त प्रतिवेदन संविधानसभा नियमावली मस्यौदा समितिका सभापति कल्पना राणाको संयोजकत्वमा तयार पारिएको हो । यसअघि सो प्रस्तावमा भएको सामान्य छलफलमा केही सभासद्हरूले समावेशी राज्यप्रणालीको अवधारणाअनुरूप कार्य हुननसकेको तथा संसदीय समितिहरूमा सबै जातजाति, धर्म, भाषा र वर्गका सभासद्को सहभागिताका निम्ति आग्रह गर्नुभएको थियो । सभामुख सुवास नेम्बाङले संविधानसभा, संवैधानिक समितिमा मुस्लिम समुदायलाई समावेश गर्न अप्ठ्यारो भएकाले नियमावली संशोधन भएको जानकारी गराउनुभयो ।

नेपाल र बहराइनबीच हवाइ सम्झौता सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल सरकार र बहराइन सरकारका प्रतिनिधिमण्डलबीच हवाइसेवा सम्झौतामा हस्ताक्षर भएको छ । राजधानीमा सोमबार भएको छलफलपछि हवाइसेवाबारे प्रारम्भिक हस्ताक्षर भएको जनाइएको छ । सन् १९९७ मा भएको हवाई सेवा सम्झौतामा हवाई नीति, २०६३ अनुकूल हुनेगरी तथा हवाई सुरक्षालाई अझ अभिवृद्धि गर्नेगरी तयार पारिएको नयाँ परिमार्जित सम्झौताका साथै नयाँ हस्ताक्षरित समझदारीपत्रमा विभिन्न सहमति भएको छ । सहमतिअनुसार दुवै पक्षका तोकिएका वायुसेवा कम्पनीहरूले प्रतिहप्ता २८ यात्रु उडान सञ्चालन गर्नसक्ने मौजुदा सम्झौतामा बहराइन पक्षले काठमाडौँ-बहराइन वृत्तखण्डमा हाल थप गरिएको १४ यात्रु उडान सिधामात्र सञ्चालन गर्नसक्नेछ ।यसैगरी दुवै पक्षका तोकिएका वायुसेवा कम्पनीहरूले प्रतिहप्ता सिधा २८ मालवाहन उडान सञ्चालन गर्नसक्ने र पर्यटन तथा नागरिक उड्डयनक्षेत्रमा द्विपक्षीय सहयोगका क्षेत्र पहिचान गरी ती क्षेत्रमा जनशक्ति विकासका लागि सहयोग विस्तार गर्ने सहमति भएको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रेस विज्ञप्तिमा जनाइएको छ । नेपालले सन् २०११ लाई नेपाल पर्यटन वर्षा रूपमा मनाउन गइरहेको परिप्रेक्ष्यमा नयाँ समझदारीमा भएको व्यवस्थाले दुवै मुलुकका बीच हवाई उडान वृद्धि हुन गई नेपालको पर्यटन प्र्रवर्द्धनमा सघाउ पुग्ने र बहराइनमा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरूलाई समेत सरल र सुलभ ढङ्गबाट सोझो हवाई सेवा प्राप्त हुने विश्वास मन्त्रालयले लिएको छ ।

Dec 28, 2008

घरैबसि विश्वब्यापी कविता प्रतियोगितामा भाग लिनुहोस

आगामी सरस्वती पूजाको दिन गतबर्ष झै अनलाइन विश्व वेभक्याम कविता प्रतियोगिता २०६५ सम्पन्न हुदैछ। कम्पियुटरमा वेभ क्यामेरा जोडेर इन्टरनेटबाट आफ्नो कविता वाचन गरी प्रतियोगितामा सहभागि बन्नुहोस र नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गर्नुहोस। अनलाइन लगायतको नगद पुरस्कार १५ हजार, १० हजार र ५ हजार साथै अनलाइन भोटिङमा विजयी कवितालाई ५ हजार, ३ हजार र १ हजार रहेको छ। नेपाली भाषा बाहेक मातृभाषा वा अन्य भाषाको कविता पनि समावेश गरिनेछ। एकै भाषाको ५ भन्दा बढि कविताहरुको सहभागिता भएमा मूल्याङ्कन गरि पुरस्कृत गरिने छ। एकै ठाँउ वा समुहबाट कम्तिमा ७ जना सहभागि हुनेभएमा तपाईहरुले एकजना मूल्याङ्कन पर्यवेक्षक छानेर पठाउन सक्नुहुनेछ।
समयः बिहान ११ बजेदेखि बेलुकी १२ बजे सम्म (नेपालको समय)

स्थानः आफ्नै घर वा क्याफेको इन्टरनेट र वेभक्याम भएको कम्पियुटर

मितिः माघ १८ गते (जनवरी ३१) शनिवार, लोडसेडिङको कारण नेपालबाट ३ दिन अघिबाटै सहभागि बन्नसक्नुहुनेछ।

च्याट गर्ने ठेगानाः sahityaGhar@yahoo.comsahityaGhar@hotmail.co.uk
विस्तृत जानकारीको लागि www.sahityaGhar.com हेर्नुहोला।
शोधपुछ direct.letter@gmail.com वा
फोन 0044 7878533582

आयोजक
अनलाइन नेपाली साहित्य मंच, वेलायत

सरकार र पत्रकारबीच दस बुँदे सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी सम्वद्ध मजदूरहरुले एक साता अगाडि हिमालमिडियामाथि आक्रमण गरेपछि आन्दोलित पत्रकारहरु र सरकारबीचको वार्ता सहमतिमा पुगेको छ। दस बुँदे सहमतिमा पुगेपछि नेपाल पत्रकार महासंघले आफ्ना आन्दोलनका कार्यक्रमहरु स्थगन गरेको महासंघका महासचिव पोषण केसीले बीबीसीलाई वताएका छन्। "सोमबारदेखि कान्तिपुर पब्लिकेशन्सको पूर्वाञ्चल संस्करण सुचारु गरिने शर्तका साथ हामी सहमतिमा पुगेका हौं," केसीले भने। यसअघि सरकारले संसदमार्फत प्रेस स्वतन्त्रता ग्यारेण्टी गर्ने र पत्रकारको सुरक्षा गर्ने आश्वासन दिएपछि महासंघले आफुहरु सहमति नजिक पुगेको वताएको थियो। आइतबार बिहान पहिलो चरणमा बसेको दुई पक्षबीचको बैठक साँझ अबेर दोस्रो पटक बसेको थियो। सूचना तथा सञ्चारमन्त्री तथा नेकपा माओवादीका वरिष्ठ नेता कृष्णबहादुर महराले पत्रकारहरुलाई बैठकमा त्यस्ता आश्वासनहरु दिएका थिए। पत्रकारहरुको सुरक्षाको ग्यारेण्टी गर्ने लगायतका विश्वासहरु सरकारले दिलाएको वताउँदै महासंघका अध्यक्ष धर्मेन्द्र झाले भने, "प्रधानमन्त्रीले संसद समक्ष आएर पत्रकारहरुको र उनीहरुले काम गर्ने स्थलको सुरक्षा ग्यारेण्टी गर्ने प्रतिबद्धता जनाउने विषयमा सहमति भएको छ। त्यस्तै सञ्चार मन्त्रालयले छुट्टै एकाई मार्फत प्रेस स्वतन्त्रताको अनुगमन र कार्यान्वयन गर्ने विषयमा पनि सहमति भएको छ।" उनले सरकारका आश्वासनहरुलाई कार्यान्वयनको कसीमा जाँचिने वताएका छन्। माओवादी सम्बद्ध छापाखाना मजदूरहरुको धर्नाका कारण गएको चारदिन देखि अवरुद्ध बनेको कान्तिपुर पब्लिकेशन्सको पूर्वाञ्चल संस्करण सोमबारदेखि सुचारु गराउन समेत महासंघले सरकारसंग माग गरेको थियो। तर त्यस विषयमा भने सहमतिमा पुग्न निकै समय लागेको थियो। आइतबारनैं हिमालमिडिया आक्रमणमा संलग्न भनिएका दुईजना माओवादी सम्वद्ध मजदूर नेताहरुलाई थप दस दिन हिरासतमा राखी छानवीन गर्न ललितपुर जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई अनुमति दिएको छ। ती दुई मजदूर नेताले दुई दिन अगाडि स्वेच्छिक गिरफ्तारी दिएका थिए।
हिमालमिडियामाथि आक्रमण एवं कान्तिपुर पब्लिकेशन्सको पूर्वाञ्चल प्रकाशनमा जारी अवरोधहरु विरुद्ध पत्रकारहरुले गएको एक सातामा -याली, धर्ना, सम्पादकीय खाली राख्ने, कालो पट्टी लगाउने जस्ता विभिन्न विरोधका कार्यक्रमहरु गर्दै आएका थिए।

प्रधानमन्त्रीले संसदलाई गर्ने भनिएको संवोधन स्थगित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मन्त्रीपरिषदको निर्णय कार्यन्वयन हुने समय सिमा नकिटिएको भन्दै नेपाली कांग्रेस सहमतिमा नआएपछि प्रधानमन्त्रीले संसदलाई गर्ने भनिएको संवोधन स्थगित भयो भने नेपाली कांग्रेसले संसद बहिष्कारलाई निरन्तरता दियो । नौं बुँदे माग पूरा गर्नेबारे माओवादी र नेपाली कांग्रेसबीच अन्तिम समयमा सहमति बन्ननसकेपछि प्रधानमन्त्रीले संसदमा गर्ने भनिएको सम्वोधन रोकिएको छ भने नेपाली कांग्रेसले संसद बहिष्कार जारी राखेको छ । आज पुष १३ गते बिहान माओवादी र नेपाली कांग्रेस तथा माओवादी र एमालेबीच भएका छुट्टाछुट्टै बैठकमा नेपाली कांग्रेसको ९ बुँदे माग मन्त्री परिषदको निर्णय र प्रधानमन्त्रीको सम्वोधनमार्फत पूरा गर्ने सहमति भएको थियो । दलहरुको बैठकको सहमति अनुसार मन्त्री परिषद बैठकले माओवादीले कब्जा गरेको सम्पति स्थानीय प्रशासनमार्फत फिर्ता गर्ने, वाईसीएलका क्याम्पहरु आजैदेखि हटाउन थाल्ने र स्थानीय शान्ति समितिहरु पुनर्गठन गर्ने निर्णय भएको थियो ।
कब्जा गरिएको सम्पति फिर्ता गर्ने तथा वाईसीएलका क्याम्प हटाउने समय सिमा मन्त्री परिषद बैठकको निर्णयमा नतोकिएको भन्दै नेपाली कांग्रेसले असन्तुष्टि जनाएपछि प्रधानमन्त्रीले सम्वोधन गर्ने कार्यक्रम स्थगित गरेका हुन् । यसैगरी, प्रधानमन्त्रीको सम्वोधन नआएपछि नेपाली कांग्रेसले संसद बहिष्कारको आफ्नो कार्यक्रमलाई निरन्तरता दिएका हो ।
संसद बहिष्कारको घोषणा गर्नेक्रममा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक लक्ष्मणप्रसाद घिमिरेले प्रधानमन्त्रीले धेरै पटक आफ्नो प्रतिवद्धता कार्यान्वयन नगरेकाले बिश्वासको वातावरण बन्न नसकेको बताए । 'संक्रमणकाल भनेको माओवादीको तर्साउने काल हो' घिमिरेले प्रश्न गरे। घिमिरेले प्रेस फ्रिडमकालागि एलाइन्स प्रेस फ्रिडमले गरेको बिरोध कार्यक्रमप्रति पार्टीकोतर्फबाट ऐक्यबद्धता पनि जनाएका थिए ।

माओवादी-एमाले वार्ता घरजग्गा फिर्ता गर्न माओवादी पुनः सहमत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कब्जा गरिएका घरजग्गा फिर्ता र वाईसीएलको ब्यारेकीय संरचना तत्काल हटाउन सत्तारूढ दल नेकपा माओवादी पुनः सहमत भएको छ। सत्ताधारी दल नेकपा (माओवादी) र नेकपा (एमाले) का शीष नेताहरूबीच शनिबार गोदावरी रिसोर्टमा भएको सात घण्टा लामो वार्तामा कब्जा गरिएका सम्पत्ति फिर्ता र वाईसीएलको ब्यारेकीय संरचनालाई अन्त्य गर्न तत्काल प्रक्रिया प्रारम्भ गर्ने र त्यसको अनुगमनको व्यवस्था गर्ने सहमति भएको छ।प्रधानमन्त्री एवम् माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’, नेताहरू डा. बाबुराम भट्टर्राई, रामबहादुर थापा बादल’, मोहन वैद्य, दीनानाथ शर्मा, देव गुरुङ, नेकपा -एमाले)का महासचिव झलनाथ खनाल, पूवमहासचिव माधवकुमार नेपाल, वामदेव गौतम, अमृत बोहरा, विष्णु पौडेल, विद्या भण्डारी, भीम रावल, सुरेन्द्र पाण्डेको सहभागिता भएको वार्तामा सरकार प्रभावकारी हुन नसकेको निष्कर्षस्वयम् माओवादीका नेताहरू र एमालेको केन्द्रीय कमिटीको बैठकले पनि निकालेकाले नयाँ एक्सनका साथ सरकारलाई प्रभावकारी बनाउने गरी अगाडि बढ्ने सहमति भएको छ।सरकार बनाउनुअघि सहमति गरिएका विषय र त्यसअघि सात दल र माओवादीबीच भएका सहमति, सम्झौता कार्यान्वयन गर्न ढिला नगर्ने, वाईसीएलको ब्यारेकीय संरचना र देशका विभिन्न ठाउँमा त्यसले गर्ने गरेका अराजक क्रियाकलाप पनि कडाइका साथ अन्त्य गर्न माओवादी सहमत भएको छ। वाईसीएलले कब्जा गरेका सरकारी, संस्थान र र्सार्वजनिक भवन पनि तत्काल खाली गर्ने सहमति भएको छ।जग्गा फिर्ता गर्ने सर्न्दर्भमा एमालेनेता अमृत बोहराका दाजु छत्रबहादुर बोहराको कब्जा गरिएका जग्गा दुइ दिनभित्रै फिर्ता गर्ने कुरा माओवादीले उठाउनासाथ एमालेले उहाँको मात्रै गर्नु राम्रो हुँदैन सबैको एकै पटक गर्नुपर्छ भनी आग्रह गरेपछि त्यो प्रक्रियालाई यथाशीघ्र अगाडि बढाउने कुरा भएको छ। तर कतिपय ठाउँमा भूमिहीन जनता बसेकाले ती ठाउँका बारेमा ग्यारेन्टी गर्न नसकिने खालको तर्क माओवादीले राखेको पनि बुझिएको छ।सरकारका कमी-कमजोरी एक-एक गरी केलाउने काम नेताहरूले गरेका छन्। कर्मचारीतन्त्रको पुरानै संस्कार र शैलीले पनि काम हुन नसकेको तर्क माओवादीको थियो।विभिन्न आयोगहरू, संवैधानिक नियुक्ति, राजनीतिक नियुक्तिजस्ता विषयलाई यथाशीघ्र अगाडि बढाउने, एमाले र माओवादीबीचको सम्बन्धलाई व्यापक बनाउने र त्यो सम्बन्ध तलैसम्म पुर्याउन आवश्यक संयन्त्र बनाउने सहमति भएको एमालेका भीम रावल र माओवादीका दीनानाथ शर्माले जानकारी गराउनुभएको छ।राष्ट्रिय अखण्डतामाथि प्रश्न उठाउने र कतिपय मधेसवादी नेताहरूले राष्ट्रिय एकतामाथि खलल पुर्याउने गरी अभिव्यक्ति दिएकोतर्फसचेत हुँदै प्रमुख राजनीतिक दलहरूबीच उच्चस्तरको समझदारी बनाई राष्ट्रिय एकताको पक्षमा र संविधान निर्माणका सवालमा एउटै मत बनाउन पहल गर्नेबारेमा दुइ दलका नेताहरूबीच गम्भीर छलफल भएको वार्ताका एक सहभागीले बताएका छन्।संविधान निर्माणजस्तो ऐतिहासिक कार्यमा ०४७ सालको संविधान निर्माणमा समेत प्रत्यक्ष सहभागी हुनुभएका र देशले पनि जिम्मेवार इमानदार स्वच्छ नेताको रूपमा लिएकाले संविधानसभाको सबैभन्दा महत्त्वपूर्ण संवैधानिक समितिको अध्यक्षमा माधवकुमार नेपाल बसिदिएर विशेष सहयोग गर्न प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष प्रचण्डले शनिबार पुनः विशेष आग्रह गर्नुभएको छ। गोदावरीको वार्तामा विगतमा भएको आफनो पार्टीट कमजोरी स्वीकार भइसकेकाले विगतप्रति शंका नगरिदिन पनि माओवादीले आग्रह गरेको बताइएको छ।नेकपा -एमाले)ले त्यसबारेमा पार्टी छलफल गरी पूवमहासचिव नेपाल संवैधानिक समितिको अध्यक्षमा जाने-नजाने निर्णयगर्ने बताएको छ। नेपाल संवैधानिक समितिको अध्यक्ष भएमा कांग्रेसलगायतका अन्य पार्टी पनि स्वीकार गर्ने बताइएको छ।पार्टी संवैधानिक समितिको अध्यक्षमा पठाउने निर्णय गरेमा उहाँलाई सभासद्मा पनि मनोनयन गर्नुपर्ने हुन्छ। विगतमा २६ जना मनोनयन गर्दा माओवादी मात्र नभई नेपाली कांग्रेसले पनि संविधान निर्माणमा भित्रैबाट तपाईंको भूमिका जरुरी छ भन्दै आग्रह गरेको थियो। तर नेपालले मनोनीत हुन अस्वीकार गर्नुभएको थियो। तर यस पटक पटक-पटक विशेष आग्रह भएकाले पार्टी सकारात्मक ढंगले छलफल गर्ने सम्भावना रहेको बुझिएको छ।संसद् गतिरोध हटाउने विषयमा पनि छलफल भएको, त्यसबारेमा आइतबार नै नेपाली कांग्रेससँग छलफल गर्ने निर्णयदुइ शीष नेताहरूबीच भएको छ। आइतबार बिहान पहिले एमाले र माओवादीबीच वार्ता हुने त्यसपछि नेपाली कांग्रेससँग वार्ता गरी ठोस निर्णया पुग्ने कुरा भएको छ। साथै प्रमुख प्रतिपक्षी दललगायत अन्य दललाई विश्वासमा लिएर जाने दायित्व ठूलो दल भएको हुनाले माओवादी र त्यसका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डको हो, त्यसैले त्यसतर्फविशेष ध्यान दिन एमालेका नेताहरूले आग्रह गरेका छन्। प्रधानमन्त्री प्रचण्डले आफू सबैलाई विश्वासमा लिन निरन्तर लागिपर्ने विश्वास दिलाउनुभएको छ।

पन्त र केसीलाई १० दिन हिरासतमै राख्न आदेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जिल्ला प्रशासन कार्यालय ललितपुरले हिमालमिडियामा आक्रमण गरेको आरोप लागेका माओवादी निकट मजदुर संगठनका दुइ नेतालाई थप १० दिन हिरासतमा राख्न आदेश दिएको छ । गत शुक्रवार स्वेच्छिक गिरफ्तारी दिएका माओवादी सम्बद्ध अखिल नेपाल रेष्टुरेन्ट मजदुर संघका अध्यक्ष रमेशबाबु पन्त र संचार तथा छापाखाना मजदुर यूनियनका उपाध्यक्ष रमेश केसीलाई प्रशासनले थप १० दिन हिरासतमै राख्न आदेश दिएको हो । दुवैजनाले घटनामा आफुहरु दोषी नभएपनि सरकारलाई सहयोग गर्न स्वेच्छिक गिरफ्तारी दिएको बताउँदै आएका छन् ।

हप्ताको ८२ घण्टा लोडसेडिङको सामना गर्नुपर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सोमबारदेखि नेपाली विद्युत् उपभोक्ताले हप्ताको ८२ घण्टा लोडसेडिङको सामना गर्नुपर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरण भार सम्प्रेषण विभागका प्रमुख शेरसिंह भाटकाअनुसार हप्ताको छ दिनमा १२ घण्टा र एक दिन १० घण्टा लोडसेडिङ हुने भएको छ ।दैनिक नौ लाख युनिट विद्युत उत्पादन भइरहेको कुलेखानीमा पानीको कमीका कारण ६० प्रतिशतभन्दा बढी उत्पादन घटेको छ । कोसीको क्षतिका कारण भारतबाट आयात गरिएको करिब ६५ मेगावाट विद्युत् आपूर्ति गर्न सकिएको छैन ।

वाईसीएलको अर्धसैनिक संरचना विघटन गरिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रमुख सत्तारुढ दल माओवादीले सशस्त्र द्वन्द्वकालमा कब्जा सम्पत्ति फिर्ता र आफ्नो भातृसंगठन वाईसीएलको ´अर्धसैनिक संरचना´ विघटन गर्ने भएको छ । सत्ता साझेदर दल एमालेसित गोदावरीमा शनिबार सम्पन्न छलफलमा माओवादीले वाईसीएलले कब्जा गरेर बसेका सरकारी तथा निजी भवन तथा सम्पत्तिसमेत पनि फिर्ता गर्ने सहमति गरेको छ। सहमतिअनुसार औद्योगिक क्षेत्र र सार्वजनिक भवनमा बस्दै आएका वाईसीएलले तीन दिनभित्र ती ठाउँ खाली गर्ने प्रक्रिया थाल्नेछ । एमाले केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेकाअनुसार ´कब्जा गरिएका घर जग्गा तत्काल फिर्ता गर्ने र वाईसीएल बस्दै आएका सरकारी तथा सार्वजनिक भवन खाली गर्ने सहमति भएको छ। वाईसीएल बालाजु, हेटौंडालगायतका औद्योगिक क्षेत्रमा बस्दै आएको छ । माओवादीले सम्पत्ति फिर्ता गर्नुपर्ने, वाईसीएलको अर्धसैनिक संरचना भंग गर्नेलगायतका नौ बुँदे माग राखेर प्रमुख विपक्षी दल कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ । शनिबार ६ घन्टासम्म चलेको बैठक दुई दलबीचको सम्बन्ध सुधार्ने कुरामै बढी बितेको जानकारी नेताले दिएका छन्। सत्तारुढ दलबीचको एकतालाई दह्रो बनाई विभिन्न संवैधानिक तथा राजनीतिक नियुक्तिलाई पनि छिट्टै पूर्णता दिइने दुई दलबीच सहमति भएको छ । एमाले संविधानसभा दलको कार्यालयमा बिहीबार बसेको दुई दलको बैठकले माओवादी–एमालेबीचको सम्बन्धलाई सुधार्न माओवादीका तर्फबाट कानुनमन्त्री देव गुरुङ र एमालेका तर्फबाट भीम रावललाई जिम्मेवारी दिएको थियो । गुरुङ र रावलले दुई दलबीच यसअघि भएका सम्झौतालाई पुनरावलोकन गरी शनिबार बस्ने बैठकमा पेश गर्ने भनिएको थियो। गुरुङ र रावलले तयार पारेको एजेन्डामा रहेर शनिबारको छलफल अघि बढेको माओवादी प्रवक्ता दिनानाथ शर्माले बताए। उनले आफ्नो दलको प्रत्यक्ष निर्देशनमा कब्जामा नभएको, तर त्यस्तो भए छोड्ने बताए। उनले एमाले स्थायी समितिका सदस्य अमृतकुमार बोहराका दाजुको सम्पत्ति पनि कब्जा रहेको र त्यसको राजनीतिक समाधान खोज्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले महासचिव झलनाथ खनाललाई जिम्मा दिइएको प्रवक्ता शर्माले बताए । प्रवक्ता शर्माले स्थानीय निकायमा नियुक्ति तथा संवैधानिक र राजनीतिक नियुक्तिका बारेमा पनि छलफल चले पनि नटुंगिएकाले आइतबार पुनः दुई दलबीच बैठक हुने बताए । उनले आइतबार बस्ने बैठकमा नै सेना समायोजन विशेष समितिलाई पूर्णता दिइने र कांग्रेससित सहमति गरी सदन सुचारु पनि गरिने बताए। दुई दलबीचको छलफल अझै नटुंगिएकाले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बिहान आठ बजे पुनः बैठक बस्ने शर्माले बताए। दुई दलको बैठकपछि १० बजे कांग्रेससहित तीन दलको बैठक बस्ने भएको छ। गोदावरी रिसोर्टमा सम्पन्न दुई दलको बैठकमा दुवै दलका शीर्ष नेता सहभागी थिए। बैठकमा माओवादीका तर्फबाट माओवादी अध्यक्ष एवं प्रधानमन्त्री दाहालसहित बाबुराम भट्टराई, मोहन वैद्य, रामबहादुर थापा, देव गुरुङ र दिनानाथ शर्मा तथा एमालेका तर्फबाट महासचिव झलानाथ खनालसहित पूर्व महासचिव माधवकुमार नेपाल, वामदेव गौतम, विष्णु पौडेल, अमृतकुमार बोहरा, सुरेन्द्र पाण्डे, भीम रावल र विद्या भण्डारी सहभागी थिए ।

Dec 27, 2008

आदिवासी गीति एलबमको विमोचन

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
Dec 20,2008 साँझ, याक एण्ड यती रेष्टुरेन्टको पहिलो तलामा आदिवासी गीतकार समाज हङकङले आफ्नो पहिलो साँगीतिक कोशेलीस्वरुपको आदिवासी गीति एलबमको एउटा औपचारिक कार्यक्रमको आयोजना गरेर विमोचन गरेको छ । आदिवासी गीतकार समाजका सचिव अशोक राईद्वारा सञ्चालित उक्त कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष प्रदीप कन्दङवाले गरेका थिए, जसको प्रमुख अतिथि हङकङ नेपाली महासँघका अध्यक्ष हेम लिम्बू र विशेष अतिथि यनआरयनको एसिया प्यासिफिक कोअर्डिनेटर गणेश इजम रहेका थिए ।
यहाँस्थित विभिन्न संघसंस्थाका अध्यक्षहरु अन्य अतिथि रहेका उक्त कार्यक्रमलाई समाजका सल्लाहकार हाङयुग अज्ञातले स्वागत मन्तव्य दिएका थिए । मान्छे भएर जन्मेपछि मान्छे भएर बाँच्न पाउनु पर्ने अधिकारको सम्बर्द्धन गर्न यस समाजको साँगीतिक आन्दोलन रहेको बताउने स्वागत मन्तव्यपछि कार्यक्रमका प्रमुख र विशेष अतिथिबाट आदिवासी शीर्षकको उक्त गीति सङ्गालोको विमोचन गरिएको थियो । विमोचनको कार्यक्रमपछि राखिएको मन्तव्यको क्रममा विभिन्न वक्ताहरुले आदिवासी गीतहरु, आदिवासी समस्याहरु तथा वर्तमान नव निर्माणको क्रममा रहेको नेपालको बारेमा आआफ्ना विचारहरु राखेका थिए । यसरी मन्तव्य राख्नेहरुमा थिएः-संगीतकार तथा हिमालयन टोन्सका सञ्चालक दिनेश सुब्बा, गीतकार तथा खोटाङ समाजका अध्यक्ष भोगेन एक्ले, नेपाली कलाकार संघका अध्यक्ष सुरेन लिम्बू, कवि कमल पौड्याल, अनेसासका अक्ष्यक्ष मोती चाम्लिङ, गीतकार तथा जनजाति महासंघका अध्यक्ष भूपेन्द्र चेम्जोङ, कवि शरण सुब्बा, विशेष अतिथि गणेश इजम र प्रमुख अतिथि हेम लिम्बू । अन्त्यमा, उक्त कार्यक्रमका सभापति तथा आदिवासी गीतकार समाजका अध्यक्ष प्रदीप कन्दङ्वाले सबैलाई धन्यवाद दिई आदिवासी एलबमको बारेमा आफ्नो मन्तव्य राखी कार्यक्रमको औपचारिकतालाई विसर्जन गरेका थिए ।
स्थानीय संगीतकारहरु दिनेश सुब्बा, नागेन्द्र श्रेष्ठ, स्थानीय गीतकारहरु तथा स्थानीय गायक, गायिकाहरुबाट निःशुल्क रुपमा तयार पारिएको उक्त सीडीमा काठमाण्डौबाट बुलुँ मुकारुङ तथा आभा मुकारुङ, जगदिश समाल, अन्जना गुरुङ, भीषण मुकारुङ पनि यस आदिवासी एलबममा सहभागी रहेका छन् । सीडी स्थानीय म्युजिक पसलहरुमा सर्वत्र उपलब्ध हुने बताइएको छ ।

मुलुक हाँक्ने अन्तिम व्यक्ति अब आफूमात्र रहेको दाबी - माधवकुमार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एमालेका पूर्वमहासचिव माधवकुमार नेपालले मुलुक हाँक्ने अन्तिम व्यक्ति अब आफूमात्र रहेको दाबी गर्नुभएको छ । नेपाल जेसिसको आजदेखि यहाँ सुरु भएको ३५ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले सो दाबी गर्नुभएको हो ।उहाँले नेपाली जनताले माओवादीले केही गर्न सक्छ कि भन्ने आशा राखेकामा अब माओवादीले पनि केही गर्न नसक्ने प्रमाणित भइसकेकाले अब अन्तिम विकल्पका रूपमा आफूमात्र रहेको उल्लेख गर्नुभयो ।पूर्व महासचिव नेपालले जेसिसको औपचारिक पोसाक दौरासुरुवाल र टोपीले आफ्नो मन छोएको प्रसङ्ग कोटयाउँदै प्रधानमन्त्रीले राष्ट्रिय पोसाकको महत्व बिर्से पनि राष्ट्रपतिले त्यसको सम्मान गरेको बताउनुभयो ।उहाँले आफ्नै दल एमालेसमेत सम्मिलित रहेको सरकारको गतिविधि सन्तोषजनक नरहेको टिप्पणी गर्दै सरकारको चार महिनाको अनुभव मीठो नरहेको चर्चा गर्नुभयो । उहाँले प्रधानमन्त्री दाहाल तथा सरकारलाई बोलेअनुसार गरेर देखाउन, रिसाएकालाई फकाउन र मिलाएर लग्न तथा नमिल्नेलाई तह लगाएर लग्न पनि सुझाव दिनुभयो ।

सत्ताधारी दलबाटै संसद् अवरुद्ध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
व्यवस्थापिका-संसद्को बैठक प्रारम्भ हुनासाथ शुक्रबार सत्ताधारी दल मधेसी जनअधिकार फोरम र सद्भावना पार्टी रोस्ट्रम घेराउ गरेका छन्। मधेसी समुदायलाई पनि छात्रवृत्ति कोटा छुटयाउने विधेयक कार्यसूचीमा रहेको तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् बहिष्कार गरेका कारण सो विधेयक अगाडि बढ्न नसकेको भन्दै सत्ताधारी दल फोरम र सद्भावना पार्टी रोस्ट्रम घेराउ गरेका हुन्।रोस्ट्रम घेराउ गरिरहँदा अध्यक्ष सुवास नेम्वाङले सभासद्हरू विधेयकलाई अगाडि बढाइयोस् भन्नुहुन्छ आफै रोस्ट्रम घेराउ गर्नुहुन्छ यो कसरी हुन्छ’ भनी आग्रह गर्नुभएको करिब २० मिनेटपछि ती दलका सभासद्हरू सिटमा बस्न गएका थिए।सत्ताधारी दलका सभासद् सिटमा बसेपछि कांग्रेसले संसद् बहिष्कार गरेको थियो।

सैनिक भर्ती स्थगित गर्न प्रमको निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ ले प्रधानसेनापति रुक्मा•द कटवालसँग नेपाली सेनाले हाल भर्ना लिन लागेका नयाँ सैनिकहरूको बारेमा जानकारी लिनुभएको छ।प्रधानसेनापति कटवालले रिक्त रहेका दरबन्दी पूर्ति गर्नका लागि नयाँ भर्ना खोलिएको जानकारी दिनुभएको प्रधानमन्त्री कार्यालय निकट स्रोतले जानकारी दियो।नेपाली सेनाले रिक्त दरबन्दी पूर्तिका लागि भर्ना छनोट शुरू गरेकोमा अन्मिन र माओवादी पार्टी केही नेताहरूले असन्तुष्टि व्यक्त गरेपछि प्रधानमन्त्री प्रचण्डले प्रधानसेनापति कटवालसँग सो विषयमा जानकारी लिनुभएको बताइएको छ। तर एक उच्च स्रोतका अनुसार प्रधानमन्त्रीले भर्ना छनोट स्थगित गर्न प्रधानसेनापतिलाई निर्देशन दिनुभएको हो। यता सैनिक उच्च स्रोतले भने भर्ना छनोट प्रक्रिया अन्तिमतिर पुग्न लागेकाले कानुनी हिसाबले पनि भर्ना स्थगित गर्न नमिल्ने जानकारी प्रधानमन्त्रीलाई प्रधानसेनापतिले गराउनुभएको थियो। नेपाली सेनाले रिक्त रहेका विभिन्न २ हजार ४ सय पदमा भर्नाका लागि दरखास्त आहवान गरेकोमा ५० हजारको निवेदन परेको थियो।सेनाले दरखास्त आहवान गर्दा प्रतिव्यक्ति १ सय रुपियाँ राजस्वबापत दस्तुर लिएको र राजस्वबापत उठेको ५० लाख रुपियाँ सरकारको राजस्व कोषमा बुझाइसकेको छ। विस्तृत शान्ति सम्झौताअनुसार नेपाली सेनाले नयाँ दरबन्दीमा भर्ना लिन नपाउने भए पनि रिक्त दरबन्दी पूरा गर्न कुनै छेकबार नगरेको नेपाली सेनाका प्राक विभाग प्रमुख सहायकरथी बीएकुमार शर्माले जानकारी दिनुभयो। हामीले यो भर्ना सरकारको अनुमतिमा नै शुरू गरेका हौं, सरकारले रिक्त दरबन्दी पदपूर्तिका लागि बजेट नै छुटयाएको छ, किन अहिले यस्ता विवादास्पद भनाइहरू बाहिर आइरहेका छन् - मैले बुझेको छैन’ -सहायकरथी शर्माले नेपाल समाचारपत्रसँग भन्नुभयो।

त्रिभुवन विमानस्थलको मूल गेट नजिकै विष्फोट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
त्रिभुवन विमानस्थलको मूल गेट नजिकै २७ डिसेम्बर, ०८ विहान १०: १५ बजे विष्फोट भएको छ । विष्फोटबाट बालाजु घर भएका सुश्मी श्रेष्ठ सामान्य घाइते भएकी छिन् । काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारपछि उनी घर फर्किसकेकी छन । निलो भ्यानमा आएका दुई जनाले बम छोडेर गएलगत्तै वम विष्फोट भएको प्रत्यक्षदर्शीले बताएका छन् । विष्फोटको जिम्मेवारी रणवीर सेना नामको भूमिगत संगठनले लिएको छ। विष्फोटबाट स्वर्णद्वार अगाडिको बुद्ध एयरको सेल्स कार्यालयको झ्यालका सिसा फुटेका छन्। वम विष्फोटपछि उछिट्टिएका ढुंगाले श्रेष्ठ र कार्यालयको झ्यालमा लागेको प्रहरीले जनाएको छ। स्वर्णद्वार अगाडिको बुद्ध एयरको सेल्स विष्फोट भएको हो। घटनामा संलग्न भएका आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। विष्फोटपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। यात्रुबाहेक अन्यलाई विमानस्थल प्रवेशमा रोक लगाइएको छ। घटनास्थलको वातावरण भने सामान्य भएको थाहा भएको छ ।

पेट्रोलियम पदार्थमा फेरि मूल्य घट्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल आयल निगम लिमिटेडले अन्तरराष्ट्रिय बजार मूल्यलाई आधार मानी पेट्रोलियम पदार्थको मूल्य पुनः समायोजन गरेको छ ।शुक्रबार बसेको निगम सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।निगमद्वारा समायोजित पेट्रोलमा कायम गरिएको मूल्यमा प्रतिलिटर रू. ५।- घटाई काठमाडौँमा रू.८०.५० कायम गरिएको छ भने डिजेल र मट्टतितेलमा रू.१।- कम गरी ५९.५० प्रतिलिटर कायम गरिएको निगमद्वारा आज प्रकाशित प्रेस विज्ञप्तिमा जनाइएको छ । यसैगरी निगमद्वारा एलपी ग्यासको हकमा प्रति सिलिन्डर रू. ५०।- घटाई एक हजार १५०।- नयाँ मूल्य कायम गरिएको छ भने तराईका जिल्लामा एलपी ग्यासको उपभोक्ता मूल्य एक हजार १३०।- कायम गरिएको छ । त्यस्तै, हवाइ इन्धन (ए.टि.एफ.बन्डेड) को मूल्यमा अन्तरराष्ट्रिय प्रति किलोलिटर अमेरिकी डलर रू.२०० कम गरी साविक अमेरिकी डलर एक हजार २०० बाट घटाई एक हजार डलर कायम गरिएको छ भने आन्तरिक उडानतर्फ प्रतिलिटर रू. ९०।-बाट रू. ५।- घटाई रू. ८५।- प्रतिलिटर निर्धारण गरिएको छ ।

कतारमा कार्यरत नौ जना नेपालीको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कतारमा कार्यरत नौ जना नेपालीको डिसेम्बर महिनामा मृत्यु भएको छ भने एक नेपाली युवाले कतार आएकै भोलिपल्ट आत्महत्या गरेका छन् । रोल्पा जिल्लाको मिझिङ गाविस, वडा नं. ७ का ३७ वर्षीय शेरबहादुर बुढाले गत २१ डिसेम्बरमा आफ़्नै कोठामा झुण्डिएर आत्महत्या गरेको थाहाभएको छ । उनले आत्महत्या गर्नुको कारण भने स्पष्ट हुन सकेको छैन । कतारमा उनका कोही आफन्त नभएकाले शव फिर्ता गर्न कठिनाइ हुनसक्ने देखिएपछि नेपाली दूतावासले त्यसका लागि पहल गरिरहेको बताइएको छ । वैदेशिक रोजगारीकै सिलसिलामा उनका एक आफन्त साउदी अरबमा रहेको थाहा भएपछि उनलाई फोन सम्पर्क गरी शव पठाउनका लागि रोल्पाबाट काठमाडौंमा आफन्त झिकाइदिन अनुरोध गरिएको नेपाली दूतावासका अधिकारी अलिमुद्दिनले बताउनुभयो । नेपाली दूतावासको अभिलेखअनुसार चालू डिसेम्बर महिनामा मर्नेहरूमध्ये छ जनाको हृदयाघातबाट र एक जनाको सडक दुर्घटनाबाट मृत्यु भएको थियो । यस्तै एक जना उचाइँबाट खसेर र एक जनाको कार्यस्थलमै मृत्यु भएको पनि अभिलेखमा उल्लेख छ ।

दक्षिण एसियाली वृत्तिचित्र महोत्सव सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दक्षिण एसियाली स्वतन्त्र पत्रकार सङ्गठन साफ्मा नेपाल च्याप्टरको संयोजकत्वमा दक्षिण एसियाली वृत्तिचित्र महोत्सव शनिबारदेखि काठमाडौमा सुरु भयो । चारदिने महोत्सवमा दक्षिण एसियाका करिब २५ वटा वृत्तचित्र प्रदर्शन गरिने जनाइएको छ ।'द्वन्द्व, शान्ति, जनता र संस्कृति' नाम दिइएको महोत्सवमा प्रदर्शन गरिने २५ वृत्तचित्रमध्ये २२ वृत्तिचित्र पुरस्कारका लागि प्रतिस्पर्धामा उत्रनेछन् । नेपाल, भारत, पाकिस्तान, माल्दिभ्स, अफगानिस्तान, बङ्गलादेश र भुटान सहभागी सो वृत्तचित्र महोत्सव ती देशका द्वन्द्व, शान्ति अभियान, जनजीवन र सांस्कृतिक जीवन्त पक्ष वृत्तचित्रमार्फत उजागर गरिनेछन् ।सार्कस्तरमा पहिलोपटक आयोजित वृत्तचित्र महोत्सवका अवसरमा द्वन्द्व समाधान, शान्ति स्थापना र संस्कृति आदानप्रदान गर्न सञ्चारकर्मीले खेल्न सक्ने अहम् भूमिकाबारे, चलचित्रकर्मी, पत्रकार र समीक्षक एकैस्थलमा भेला भई संवाद पनि गर्नेछन् ।महोत्सवमा नेपालबाट केशाङ छेतेनको 'युद्धचित्र', ध्रुव बस्नेतको 'बेटर टु हृयाभ विन किल्ड', मोहन मैनालीको 'द वेट कन्टिन्युज', सुविना श्रेष्ठको 'चुलो,चोली र बन्दुक' र रेणु क्षेत्रीको र्'गर्ल पावर' देखाइने बताइएको छ ।

प्रेसमा आक्रमण विरोधमा मन्त्री बहिस्कृत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हिमाल मिडियामाथि भएको आक्रमणको विरोधमा उत्रिएका कञ्चनपुरका सञ्चारकर्मीले शनिवार स्थानीय विकासमन्त्री रामचन्द्र झाले आयोजना गर्नुभएको पत्रकार सम्मेलन बहिष्कार गरेका छन् । सुदूरपश्चिमका जिल्लाहरूमा स्थानीय निकायलाई जनताका पक्षमा काम गर्न निर्देशन दिनेक्रममा कञ्चनपुर पुगेका मन्त्रीले शनिबार बिहान ८ बजे पत्रकार भेटघाट आयोजना गर्नुभएको थियो ।हिमाल मिडियामाथि आक्रमण गर्नेहरूलाई कारबाही गर्न सरकारले ढिलो गरेको, लगातार पत्रकार तथा सञ्चारगृहमाथि आक्रमण भइरहँदा पनि सरकारले बेवास्ता गरी प्रेस स्वतन्त्रताको खिल्ली उडाएको भन्दै नेपाल पत्रकार महासङ्घ, कञ्चनपुरले मन्त्रीको कार्यक्रम बहिष्कार गरेको जनाएको छ ।

Dec 26, 2008

चितुवाको आक्रमणमा पत्रकारसहित दुई जना घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रुपन्देहीको पटोर्वा गाविस ७ स्थित रानीबगिया चौकमा आज बिहान चितुवाको आक्रमणमा परी एक पत्रकारसहित दुई जना घाइते भएका छन् । घाइते हुनेमा एभिन्यूज टेलिभिजनका फोटो पत्रकार विश्वास ढकाल र स्थानीय दलबहादुर छन्त्याल छन् । घाइतेमध्ये छन्त्येलको अवस्था गम्भीर भएकाले उपचारका लागि काठमाडौं पठाइएको छ । बिहान ७ बजे छन्त्यालको घर कम्पाउन्डमा देखिएको सो चितुवाले निजलाई आक्रमण गरेपछि गाउँलेहरुले लखेट्दा भाग्नेक्रममा घरभित्र पसेको थियो । घरभित्र पसेको चितुवाको फोटो लिनपुगेका पत्रकारलाई पनि चितुवाले आक्रमण गरी घाइते तुल्याएको हो । सो चितुवाले छन्त्यालको मुखमा र पत्रकार ढकालको देब्रे खुट्टामा टोकेर र कोपरेर घाउ बनाएको छ । सो चितुवालाई गाउँलेको सहयोगमा वन कार्यालय र प्रहरीको टोलीले गोली हानी मारेको छ । चितुवालाई मार्न प्रहरीले दुई राउन्ड गोली खर्चनुपरेको थियो ।

कम खर्चमा भारतीय रेल नेपाली सदरमुकाम आउँछन्

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भारतसँग सीमा जोडिएका जिल्लाको २२ गाविसका वासिन्दा दस वर्षर्देखि रेल चढेर सदरमुकाम तौलिहवा आउने गरेका छन् । नेपाली बाटोबाट आउँदा खर्च बढी पर्ने भएकाले उनीहरू भारतीय रेल चढेर सदरमुकाम आउने गरेका हुन् ।स्थानीयवासीलाई नेपालको बाटो भएर सदरमुकाम आउन चार घन्टा र एक सय रुपैयाँभन्दा बढी खर्च लाग्छ । तर, भारतको बाटो रेल चढेर सदरमुकाम आउँदा आठ रुपैयाँ नेपालीले पुग्छ । उनीहरूले त्यसबाहेक भारतीय बाटो सिद्धार्थनगरबाट तौलिहवा आउन ३२ रुपैयँ थप तिरेपछि पनि सजिलै र कम समय यात्रा गर्ने गरेको कृष्णनगरका स्थानीय वासिन्दा प्रदीप तिवारी बताउँछन् ।सदरमुकाम तौलिहवाबाट ७० किमि पश्चिम दक्षिणमा रहेका २२ गाविसका गाउँलेले नेपालको बाटोभन्दा भारतीय रेलमार्गबाट आउँदा छिटो र सहज माध्यम भएकाले रेल प्रयोग थालेका हुन् । विशेषगरी कृष्णनगर, सिर्सिहवा, शिवानगर, विद्यानगर, बिसनपुर, खुरहुरिया, जवाभारी, गणेशपुर, गुगौलीलगायत गाविसका स्थानीय भारतीय बाटो हुँदै रेलमा तौलिहवा आवत-जावत गर्ने गर्छन् ।नेपाल-भारत सिमाना कृष्णनगरबाट मर्यादपुर सिमानासम्म रेलमार्गबाट यात्रा गरी सदरमुकाम तौलिहवा आउँदा सुरक्षा हुने उनले बताए । नागरिकता बनाउन आएका सिर्सिहवाका नन्दराम चौधरीले सशस्त्र समूहले नेपालको बाटो भएर आउँदा लुटपाट, अपहरणलगायत अपराध गर्ने भएकाले भारतीय क्षेत्र सुरक्षित रहेको जानकारी दिए ।त्यस्तै, गुगौगीकी रन्जु यादव नेपालको बाटो भएर सदरमुकाम जान बढी समय लाग्ने भएकाले भारतीय रेल प्रयोग गर्दै आएको बताउँछिन् । नागरिकता, राहदानी, जन्मदर्ता तथा अन्य सेवा लिन सो भेगका गाउँले सदरमुकाम आउने गरेका छन् ।सशस्त्र समूहको ज्यान लिने धम्की तथा चन्दा आतंकले गाविस सचिव विस्थापित भई सदरमुकाममै खुम्चिएपछि सर्वसाधारण सेवाग्राही सानो कामका लागि पनि सदरमुकाम जानुपर्ने बाध्यतामा छन् । उनीहरूलाई सहज मानिएको तौलिहवा-बहादुरगन्ज जोड्ने हुलाकी सडकमा रहेको वाणगंगा नदीमा पुल नभएकाले सदरमुकाम आउन असहज भएको गाउँलेको गुनासो छ ।

सरकारले राष्ट्रिय विद्युत् संकट घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले बढ्दो विद्युत् माग धान्न नसकेपछि राष्ट्रिय विद्युत् संकट घोषणा गरेको छ । ऊर्जा संकट चुलिँदै गएपछि सरकारले बिहीबार विद्युत् संकट घोषणा गरेको हो । सरकारले विद्युत् संकट घोषणासँगै दैनिक १४ घन्टा लोडसेडिङ गरेको छ । केही दिनअघि सरकारले बढ्दो विद्युत् माग धान्न नसकेको जनाउँदै १० घन्टा लोडसेडिङ गरेको थियो । जलस्रोतमन्त्री विष्णु पौडेलले बिहीबार पत्रकार सम्मेलनमार्फत विद्युत् संकट घोषणा गरेका हुन् । संकट समाधानका लागि राष्ट्रिय विद्युत् संकट निरुपण कार्ययोजनासमेत सार्वजनिक गरिएको छ । सो कार्ययोजना बुधबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो । सरकारले जलविद्युत् आयोजना निर्माणमा विद्यमान असजिला नीति नियम सरलीकरण गरेको छ । जलविद्युत् निर्माणमा नीतिगत समस्या रहेको गुनासो लगानीकर्ताले गर्दै आएका थिए । सो कार्ययोजना तत्काल, अल्पकाल र दीर्घकालका रहेका छन् । सरकारका अनुसार, २५ तत्काल, तीन अल्पकाल र सातवटा दीर्घकालीन योजना रहेका छन् । सरकारले ऊर्जा संकटबाट पार पाउन दुई सय मेगावाटको थर्मल प्लान्टसमेत राख्ने योजना सार्वजनिक गरेको छ । थर्मल प्लान्टलाई प्राधिकरण अधिकारी र विज्ञहरूले अस्वीकार्य पनि स्थापना गर्ने निर्णय भएको छ । थर्मल प्लान्टबाट उत्पादित विद्युत् मूल्य प्रतियुनिट ३० रुपैयाँ पर्नेछ । तर, थर्मल प्लान्ट उत्पादन गर्दा लाग्ने घाटा सरकारले व्यहोर्ने घोषणा गरेको छ । दुई सय मेगावाट थर्मल प्लान्ट सञ्चालनका लागि आवश्यक डिजेल पुर्‍याउन असम्भव हुनेछ । तत्कालीन योजनामा २५ मेगावाटसम्मका जलविद्युत् आयोजनाका लागि एकमुष्ट विद्युत् खरिद दर निर्धारण गर्ने सरकारले निर्णय गरेको छ । त्यस्तै, २०६८ भित्र निर्माण हुने ५० मेगावाटसम्मका जलविद्युत् आयोजनाका लागि राष्ट्रिय निकुन्ज र आरक्ष क्षेत्रबाहेक वन तथा भू-सरक्षण मन्त्रालयबाट अनुमति लिनु नपर्ने प्रावधान ल्याएको छ । त्यस्तै, प्रारम्भिक वातावरणीय परीक्षण मूल्यांकन गर्नुपर्ने आयोजनालाई प्रारम्भिक परीक्षण मात्र गरे पुग्ने प्रावधान ल्याएको छ । यस्तै, कोसीले क्षतिग्रस्त टावर प्रसारण लाइन निर्माण तीव्र रुपमा गरिने घोषणा सार्वजनिक भएको छ । कोसीले दुवही-कटैया प्रसारण लाइन क्षतिग्रस्त बनाउँदा भारतबाट आइरहेको ९० मेगावाट विद्युत् अवरुद्ध भएको छ । दुवही- कटैया प्रसारण लाइनमा संकटकालीन व्यवस्था अपनाएर फागुनभित्रै पुनर्निर्माण गरिसक्ने सरकारले योजना बनाएको छ । सो प्रसारण लाइन निर्माणमा आवश्यक रकम सरकार स्वयम्ले व्यहोर्नेसमेत उल्लेख गरेको छ । सो प्रसारण लाइन पुनर्निर्माण हुनेबित्तिकै थप ४० मेगावाट विद्युत् भारतबाट आयात गर्ने योजना सरकारले सार्वजनिक गरेको छ ।यस्तै, प्रसारण लाइन व्यवस्था गरेर टनकपुरबाट थप २० मेगावाट विद्युत् आयात गर्ने भएको छ । १७ पुसदेखि २० मेगावाट विद्युत् भारतबाट आयात गरिने भएको छ । सरकारले विद्युत् आयात र बिक्री मूल्यबीचको फरकमा प्राधिकरणलाई पर्ने आर्थिक व्ययभारसमेत व्यहोर्ने भएको छ । त्यस्तै, सरकारले विद्युत् बचतका लागि जनचेतना जगाउने कार्यलाई प्राथमिकतामा राखेको छ ।विद्युत् बचाउने सिएफएल चिम प्रयोग बढाउन १ माघदेखि जनचेतना कार्यक्रम गर्ने योजना सार्वजनिक भएको छ । अनावश्यक रुपमा होर्डिङ बोर्डमा प्रयोग गरिएका विद्युत् प्रयोगमाथि रोक लगाएको छ । जलस्रोतमन्त्री पौडेलले सरकारले विद्युत् संकट समाधानका लागि कुनै कसर बाँकी नराख्ने बताए । उनले सो कार्ययोजनाले पाँच वर्षभित्र लोडसेडिङमुक्त गर्ने दाबी गरे । सरकारले २०६८ चैतभित्र सम्पन्न हुने आयोजनालाई सात वर्षसम्म आयकर छुट घोषणा गरेको छ । 'बढीभन्दा बढी जलविद्युत् आयोजना निर्माणमा प्रोत्साहित गर्न योजना सार्वजनिक गरेका हौं', उनले भने । सरकारले सौर्य एवं वायु ऊर्जालाई समेत प्राथमिकता दिएको छ । सरकारले चालू आर्थिक वर्षको बजेटमा २० मेगावाट वायु ऊर्जा निकाल्ने घोषणा गरिसकेको छ । यस्तै, विद्युत् प्राधिकरणको पुनर्संरचना गर्ने योजनासमेत सार्वजनिक गरेको छ ।

हिमालका आक्रमणकारीहरुद्वारा आत्मासमर्पण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हिमाल मिडियामा आक्रमण गर्ने माओवादी कार्यकर्ताहरु रमेश पन्त र रमेश केसीले ललितपुर जिल्ला प्रशासन कार्यालयमा पुष ११ गते आत्मासमर्पण गरेका छन् । हिमाल मिडिया कार्यालयमा पुष ६ गते आक्रमण गर्ने माओवादी कार्यकर्ताहरुको समूहका नेता रमेश पन्त र रमेश केसीले ललितपुर जिल्ला प्रशासन कार्यालयमा आत्मासमर्पण गरेका छन् । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार, पुष ११ गते दिउँसो उनीहरुले कार्यालयमै आएर आत्मासमर्पण गरेका हुन् । पन्त र केसीलाई पक्राउ गरी कारवाही गर्नुपर्ने माग राख्दै पुष ७ गतेदेखि नेपाल पत्रकार महासंघले आन्दोलन अघि बढाएको थियो भने पुष १० गते हिमाल मिडियाले घटनामा उनीहरुको प्रत्यक्ष संलग्नता रहेको भन्दै ललितपुर प्रहरीमा किटानी जाहेरी दिएको थियो ।

फोरमका मन्त्रीले राजीनामा दिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मधेसी जनअधिकार फोरमका तर्फबाट मन्त्री भएका विजय गच्छदार, जेपी गुप्ता र रेणु यादवले पार्टीअध्यक्ष उपेन्द्र यादवसमक्ष राजीनामा दिएको कुरा पार्टी एक पक्षले बताएको भए पनि मन्त्री गुप्ता र संसदीय दलका प्रमुख सचेतक रामजनम चौधरीले राजीनामाको हल्ला पूर्णातः गलत भएको स्पष्ट पार्नुभएको छ। फोरमभित्र मन्त्रीहरू प्रभावकारी नभएको, मन्त्रीहरूलाई फिर्ता बोलाउनुपर्नेजस्ता कुराहरूसँगै अन्य विवाद पनि चर्किएका बेला मन्त्रीहरूको राजीनामा प्रकरण बाहिर आएको हो। पार्टी केन्द्रीय सदस्य बीपी यादवले आफू पार्टी प्रवक्ता भएको हैसियतले तीन मन्त्रीले राजीनामा दिएको कुरालाई सत्य र आधिकारिक मान्नुभए हुन्छ भन्नुभएको छ। उहाँका अनुसार पार्टी राजीनामा प्रधानमन्त्रीसमक्ष पठाउने कि नपठाउने भन्नेबारेमा जे पनि निर्णयगर्न सक्छ तर अहिले अध्यक्षसमक्ष राजीनामा पुगेको छ।तर स्वयम् मन्त्री गुप्ता र प्रमुख सचेतक चौधरीले बीपी यादव पार्टी प्रवक्ता वा कुनै विभागको प्रमुख होइनन्, उनले भनेको कुरा पूर्णरूपमा झूटो हो’ भन्नुभएको छ। मन्त्री गुप्ताले यादवलाई कारबाही हुने पनि बताउनुभएको छ।फोरमको बिहीबार बस्ने भनिएको बैठक भने अनिश्चितकालका लागि स्थगित गरिएको छ। प्रमुख सचेतक चौधरीले बैठकको मिति तय नभए पनि छिट्टै बस्ने जानकारी गराउनुभयो।बैठक लामो समयदेखि बस्न सकेको छैन।

तराई मुक्ति मोर्चा दोश्रो वार्ता काठमाण्डूमा गर्न सहमत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
शुक्रवार जनकपूरमा भएको पहिलो वार्तापछि सरकार र संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा दोश्रो वार्ता काठमाण्डूमा गर्न सहमत भएका छन्। उक्त वार्तालाई सकारात्मक बताउंदै दुवै पक्षले अपसी सहमतिमा दोश्रो वार्ताको मिति छिट्टै तोकिने जनाएका छन्। तराईको अर्को विद्रोही संगठन मधेशी भाइरस किलर्ससित काठमाण्डूमा औपचारिक वार्तापछि सरकारले मोर्चासित वार्ता गरेको हो। वार्तापछि सञ्चारकर्मीहरुसित कुरा गर्दै सरकारी वार्ता टोलीका संयोजक एवं शान्तिमन्त्री जनार्दन शर्माले कुराकानी सकारात्मक भएको दावी गरे। उनले अन्य समुहहरुसित पनि अनौपचारिक वार्ता भएको खुलासा गरे।
शर्माले सरकार सबै समुहलाई संविधान निर्माणमा सहभागि गराउन प्रतिबद्ध रहेको उल्लेख गर्दै मधेशी जनतालाई अधिकार सम्पन्न गराउन कृयाशील रहेको बताए । शुक्रवारको वार्तामा तीन सदस्यीय सरकारी वार्ता टोली मध्ये संयोजक शर्मा मात्र सहभागि थिए। संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाका प्रवक्ता एवं वार्ता टोलीका संयोजक कौटिल्य शर्माले सरकारी वार्ता टोलीमार्फत आफ्नो माग सरकारसमक्ष पु-याइएको बताए। उनले देशवासी र मधेशवासीको शान्तिको चाहनाप्रति मोर्चा सकारात्मक रहेको तर मधेशीको अधिकार सुनिश्चित गरिनु पर्ने बताए। दुई पक्षबीच भएको पाँच बुँदे सहमतिमा मोर्चाको वार्ता टोलीको सुरक्षा सरकारले गर्ने, मोर्चाका बन्दी कार्यकर्ताहरुलाई क्रमिक रुपमा रिहा गरिने र अन्य द्वन्द्वरत संगठनहरुसित पनि वार्ता गर्ने रहेका छन्। वार्ताको क्रममा मोर्चाले कुनै प्रकारको उत्तेजक कार्यक्रमहरु नगर्नेमा दुवै पक्ष सहमत भएका छन्। तर सरकारी वार्ता टोलीले अन्य थुप्रै समुहहरुसित वार्ता गर्न बाँकी नै रहेको बेला पछिल्ला दिनहरुमा तराईका केही क्षेत्रमा हिंसात्मक घटनाहरुमा वृद्धि भएको छ।

सेना समितिको नेतृत्व गर्ने प्रधानमन्त्रीको प्रस्ताव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधानमन्त्री संयोजक रहेको सेना समायोजन विशेष समितिको नेतृत्व आफूले गर्ने प्रस्ताव राखेका छन्।प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार भएको तीन दलबीचको बैठकमा उनले त्यस्तो प्रस्ताव राखेका हुन्। बैठकमा उनले समितिमा सबै प्रमुख दलका सदस्य बराबर हुनुपर्ने नेपाली कांग्रेसको मागमा सहमति जनाए थिए। छलफलमा सरिक नेकपा एमालेका महासचिव झलनाथ खनालले भने, "प्रधानमन्त्रीले समितिमा नेपाली कांग्रेसको माग अनुसार सबै दलका दुई दुई जना राख्छु भन्नु भयो।" नेकपा माओवादीसंग तिक्ततापूर्ण सम्बन्ध रहेको प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको तर्फबाट छलफलमा सहभागि डा.रामशरण महतले त्यसलाई सकारात्मक कदमको संज्ञा दिएका छन्। उनले भने, "त्यो सकारात्मक दिशातर्फको एक कदम हो।"समितिको नेतृत्व गर्ने प्रधानमन्त्रीको नयाँ प्रस्तावपछि समिति तत्काल सक्रिय हुने सम्भावना टरेको छ। यस अघि माओवादी वाहेकका दलले समितिको नेतृत्व गर्नु पर्ने कांग्रेस र एमालेको अडानका कारण सरकारमा एमालेको नेतृत्व गरेका उपप्रधानमन्त्री बामदेव गौतम समितिको संयोजक बनाइएका थिए। अहिले भने दुवै दल त्यसलाई त्यति ठूलो विवादको विषय नबनाउने मनस्थितिमा रहेको बुझिन्छ। त्यस्तै संकेत दिँदै एमाले महासचिव खनालले भने, "प्रधानमन्त्रीले समितिमा बस्ने भए बेग्लै ढंगले सोच्नु पर्ने स्थिति आउनसक्छ। तर अन्तिम बोली, अन्तिम वाक्य बोल्नु पर्ने सरकार प्रमुख त्यस्तो समितिमा बस्न उपयुक्त हो कि होइन भन्ने प्रश्न छ।"

Dec 25, 2008

माओवादी र एमालेबीच उन्नतस्तरको राजनीतिक सहमति बनाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा माओवादी र एमालेबीच शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन, नयाँ संविधान निर्माण गर्न, सामाजिक आर्थिक संरचना विकसित गर्नका लागि उन्नतस्तरको राजनीतिक सहमति बनाउने निर्णय भएको छ । सत्तारुढ दलहरुबीचमै विवादहरु तीब्र हुन थालेपछि त्यसको समाधान खोज्न नेकपा एमालेको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान बसेको दुबै दलका शीर्ष नेताहरुको बैठकमा यस्तो सहमति भएको हो । बैठकमा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, मन्त्रीहरु डा. बाबुराम भट्टराई र देब गुरुङ, पार्टी नेता मोहन बैद्य तथा एमालेका महासचिव झलनाथ खनाल, नेता माधवकुमार नेपाल, केपी ओली लगायतको उपस्थिति थियो । बैठकले नेकपा माओवादी र एमालेबीचको सम्बन्धलाई मजबुत बनाउन नयाँ ढङ्गले पहल गर्ने तथा एमाले र माओवादीबीच विगतमा भएका सहमतिको समीक्षा गरी प्रतिवेदन पेश गर्न माओवादी नेता देव गुरुङ र एमाले नेता भीम रावल रहेको समिति गठन गर्ने निर्णय गरेको छ । बैठकमा नेकपा माओवादी र एमालेबीचका तिक्तता समाप्त भएको घोषणा गर्न दुबै दलका शीर्ष नेताहरुले आ-आफ्ना पार्टीको केन्द्रीय र क्षेत्रीय स्तरका नेता तथा कार्यकर्तालाई जानकारी गराउँदै निर्देशन दिने सहमति भएको छ । यसैगरी, राजनीतिक र संवैधानिक नियुक्तीका बारेमा दुबै दलबीच आइतबार निष्कर्षमा पुग्न प्रयास गरिने तथा लगानी बोर्ड गठनका विषयमा अर्थमन्त्री डा. बाबुराम भट्टराई र जलस्रोत मन्त्री विष्णु पौडेलको संयोजकत्वमा समिति गठन गर्ने र यसले बोर्ड गठनको प्रक्रियालाई टुङ्गो लगाउने जिम्मेवारी दिने बैठकमा सहमति भएको छ ।

साढे सात बजेपछि सडकमा पिसाब गर्न कानुनी छुट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लन्डन/ 'साढे सात बजेपछि सडकमा पिसाब गर्न कानुनी छुट छ' लेखिएका साइनबोर्ड मेट्न बेलायतको नोटिङह्याम सिटी काउन्सिल लागेको छ । यी साइनबोर्ड ठट्टामजाक गर्ने व्यक्तिले टाँसेको बताइएको छ । यी संकेत पूर्णतः आधिकारिकजस्ता देखिन्छन् । र, सहरका सबै क्षेत्रमा यस्ता संकेत भएका साइनबोर्डहरू टाँसिएका छन् । पुरुष शौचालयको चित्रसहित ती साइनबोर्डमा लेखिएको छ- 'यहाँ ७ः३० पछि सडकमा पिसाब फेर्न छुट छ ।' अक्षरसँगै नोटिङह्याम सिटी काउन्सिलको लोगोसमेत राखिएको छ । घरबाहिर निस्केका स्थानीय जनतालाई सुविधा होस् भन्नाका लागि यस्तो संकेत राखिएको संकेतमुनि लेखिएको छ । अहिले सिटी काउन्सिलले यस्ता संकेतको बेवास्ता गर्न आग्रह गरेको छ । र, छिट्टै यस्ता संकेत फाल्ने बताएको छ । 'सार्वजनिक स्थलमा पिसाब फेर्नु अपराध हो । सार्वजनिक स्थलमा पिसाब फेर्न हुने बताउँदै लेखिएका साइनबोर्ड गैरकानुनी रूपमा राखिएको हो'- सिटी काउन्सिलकी प्रवक्ताले बताइन् । उनले भनिन्- 'यस्ता साइनबोर्डहरू बेवास्ता गर्न हामी जनतालाई आग्रह गर्दछौँ । यसो नगरी सडकमा पिसाब फेर्नेलाई कानुनी कारबाही हुन्छ । यस्ता साइनबोर्ड निकाल्न हामी छिटोभन्दा छिटो कोसिस गर्दैछौँ ।'

नेपालमा डकुमेन्ट्री चलचित्र महोत्सव हुदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भर्खरै माउन्टेन फिल्म फेस्टिबलको मजा लिएका चलचित्रप्रेमीले फेरि सार्कस्तरीय डकुमेन्ट्री हेर्न पाउने भएका छन् । सापमा नेपालको आयोजनामा २७ देखि ३० डिसेम्बरसम्म काठमाडौंमा दक्षिण एसियाली डकुमेन्ट्री चलचित्र महोत्सव हुदै छ । फेस्टिबलमा सार्क मुलुकका द्वन्द्व, शान्तिप्रक्रिया, संस्कृतिसम्बद्ध २४ वटा डकुमेन्ट्री प्रदर्शन हुने आयोजकले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दियो । यसअघि दिल्लीमा हुने भनिए पनि मुम्बई आतंकवादी हमलाका कारण फेस्टिबल काठमाडौंमा सारिएको हो । सार्क मुलुकका विषयमा जानकारी दिने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको सापमाका महासचिव इम्तियाज आलमले बताए । फेस्टिबल नेपाली सिनेकर्मीका लागि उपयोगी हुनेमा आयोजक संस्था आशावादी छ । फेस्टिबलमा डकुमेन्ट्री निर्माणमा सक्रिय निर्देशकले सार्क मुलुकका विषयमा कार्यपत्रसमेत प्रस्तुत गर्नेछन् । 'महोत्सव नेपाली सिनेकर्मीका लागि उपयोगी रहने छ' पत्रकार सम्मेलनमा निर्देशक नवीन सुब्बाले भने, '५० भन्दा बढी विदेशी चलचित्रकर्मीसँग भेटघाटको अवसर फेस्टिबलले जुराउनेछ ।'

नेकपा एकीकृतले भूमिगत लडाकू दस्ता बनाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा एकीकृतले जनसुरक्षा बल नामको भूमिगत लडाकू दस्ता बनाउने निर्णय गरेको छ ।जनकपुरमा सम्पन्न पार्टीको सातौं राष्ट्रिय महाधिवेशनका निर्णय सार्वजनिक गर्न राजधानीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका नवनिर्वाचित अध्यक्ष ऋषि कट्टेलले सो जानकारी दिएका हुन् ।महाधिवेशनले नयाँ जनवादी राज्यसत्ता प्राप्त गर्न सबै प्रकारका संघर्षका रूप उपयोग गर्ने र त्यसका लागि बल प्रयोगको उच्चतम रूप सशस्त्र संघर्ष अपरिहार्य रहेको निर्णय गरेको पनि पत्रकार सम्मेलनमा बताइएको थियो । महाधिवेशनले १२ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै ४३ सदस्यीय केन्द्रीय समिति बनाएको छ । पार्टीले उपाध्यक्षमा चित्रबहादुर आले र सीताराम तामाङ, महासचिवमा रामसिंह श्रीषलाई चयन गरेको छ ।महाधिवेशनले सर्वहारा वर्गको नेतृत्वदायी भूमिका स्वीकार गर्नुका साथै सर्वहारा वर्गको नेतृत्वमा सम्भावना र आवश्यकतानुसार संघर्षका सबै रूपहरूलाई उपयोग गर्ने नीति स्वीकार गरेको छ ।

कांग्रेसले बहिस्कार गरेपछि सदन तेस्रो दिन पनि स्थगित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रमुख प्रतिपक्षी दल कांग्रेसले बहिस्कार गरेपछि व्यवस्थापिका संसद्को बैठक बुधबार तेस्रो दिन पनि नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । दलित जनजाति पार्टी र स्वतन्त्र सभासद्द्वय बबन सिंह र सदरुल मिया हकले पनि बुधबार कांग्रेसलाई साथ दिँदै बैठक बहिस्कार गरेका छन् । प्रमुख प्रतिपक्षी दल नै बैठक छाडेर हिँडेपछि सभामुख सुवास नेम्वाङले कार्यसूचीमा रहेका सबै कार्यक्रम हटाएर शुक्रबारसम्मका लागि संसद् स्थगित भएको घोषणा गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा गरेको प्रतिबद्धताअनुसार आफ्ना माग कार्यान्वयन नभएको भन्दै कांग्रेसले यसअघिका दुई बैठक बहिस्कार गरिसकेको छ । आफ्ना माग कार्यान्वयन सम्बन्धमा प्रधानमन्त्रीले सदनसमक्ष जानकारी गराउनुपर्ने माग कांग्रेसले गर्दै आएको छ ।बुधबारको बैठक सुरु हुनासाथ दलित जनजाति पार्टीका सभासद् विश्वेन्द्र पासवानले सरकारले ल्याएको छात्रवृत्ति विधेयकमा घटाइएको दलित कोटा बढाइनुपर्ने र संविधानसभाका सबै समितिमा मुस्लिम सभासद्को सहभागिता गराइनुपर्ने माग गर्दै आफू र दुई स्वतन्त्र सभासद्ले बैठक बहिस्कार गर्ने घोषणा गरे । उनीसँगै स्वतन्त्र सभासद्द्वय सिंह सदरुल मिया बैठकबाट बाहिरिए ।बैठकमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक लक्ष्मण घिमिरेले गणतन्त्र ल्याउन सामन्तवादको प्रतीकका रूपमा रहेको राजसंस्था फालिए पनि माओवादी 'नवसामन्तवाद' का रूपमा देखा परेको आरोप लगाए । उनले शान्तिसुरक्षाको अवस्था तहसनहस बनाउन ९९ सय प्रतिशत माओवादी भ्रातृ संगठनहरूको भूमिका रहेको जिकिरसमेत गरे ।प्रधानमन्त्री प्रचण्डले गत २६ कात्तिकमा सदनमा गरेको प्रतिबद्धताअनुसार आफ्नो पार्टीले अघि सारेका माग कार्यान्वयन नभएको भन्दै उनले बुधबारको बैठक पनि बहिस्कार गर्ने घोषणा गरे । त्यसपछि कांग्रेस सभासद्हरू बैठकबाट बाहिरिएका थिए । त्यसअघि एमाले सभासद् शंकर पोखरेलले दलहरूबीच सहकार्य र सहमति बढ्नुपर्ने वेला दूरी बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । उनले युथफोर्सका नाममा वीरगन्जको अंकुश साप्ताहिकका सञ्चारकर्मीमाथि भएको आक्रमणबारे आफ्नो पार्टी गम्भीर भएको बताए । उनले सो घटनामा संलग्नलाई कारबाही गर्न सरकारलाई सुझाव दिए ।

मोबाइलका कारण दाम्पत्य जीवन खतरामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तपाईंसँग मोबाइल छ ? छ भने विचार पुर्‍याउनुहोस् । नत्र, सञ्चारको यही लोकप्रिय साधनले तपाईंको दाम्पत्य जीवनमा खतरा ल्याइदेला, पर्वत कुश्माकी सिर्जना गिरीको जस्तै ।सिर्जनालाई के थाहा, उनको मोबाइलले नै उनीमाथि अत्याचार निम्त्याउला भन्ने । मोबाइलमा विपरीत लिंगीले पठाएका गोप्य एमएमएस र एसएमएस फेला पारेपछि उनका श्रीमान् जीवन गिरीले उनीमाथि कुटपिट सुरु गरे रे । सिर्जनाकै शब्दमा 'कुटपिट एकपटक होइन, दुईपटक होइन, पटक-पटक जारी रह्यो ।' भनिन्, 'अन्ततः म यातना खप्न नसकेर बिहे भएको सात महिनापछि दाइजो फिर्ता मागेर माइत हिँडेँ ।' बिहेमा ल्याएका दाइजो सिर्जनाले बुधबार गाडी चढाएर माइतीतिर लैजाँदै गरेको दृश्य हेर्न कुश्मा बजारमा सानोतिनो भीड नै जम्मा भएको थियो ।पर्वतको सदरमुकाम शिवालय- ३ का जीवन गिरीसँग गत २८ असारमा सँगै जिउने सँगै मर्ने वाचासहित वैवाहिक बन्धनमा बाँधिएकी कास्की बैदामकी सिर्जनाले आफूले प्राप्त गरेका एमएमएस र एसएमएस आफन्तहरूबाट आएको बताइन् । उनले भनिन्, 'त्यो त उसको फोकटको निहुँ खोज्ने बाटो मात्रै हो । मलाई त अन्याय गरे-गरे, मेरो मोबाइललाई समेत दोष लगाए उनीहरूले ।' तर उनका श्रीमान् जीवनले भने सिर्जनाको चरित्रमाथि प्रश्न उठाएका छन् । उनले भने, 'उसको मोबाइलमा रहेका कुराहरू उसका आफन्तले पठाएका मात्र छैनन् । अरू पनि छन् । त्यो मलाई थाहा छ ।'सिर्जनाले आफूमाथि यातना दिइएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्वत, सामुदायिक सेवा समाज र महिला सुरक्षा दबाब समूहमा दिएको उजुरीका आधारमा परिवारबाट छुटकारा पाउने अवसर पाएकी हुन् । श्रीमान् मात्रै नभएर सासूले समेत दाइजो कमी ल्याएको भन्दै विभिन्न अपशब्द प्रयोग गरी गालीगलौज गर्ने गरेको सिर्जनाले बताइन् । 'विवाहमा मोटरसाइकल र कार नल्याएको भन्दै विवाहको दुई साता नबित्दै खान-बस्नसमेत भेदभाव गर्ने गर्थे,' उनले गुनासो गरिन् । खान नदिएपछि माइतीबाट ल्याएर जीवन गुजारेको उनले बताइन् । सिर्जनालाई घरपक्षबाट केही समयका लागि खान-बस्नको व्यवस्था गरिदिने र क्षतिपूर्तिबापत श्रीमान्को हकमा रहेको अंशबाट श्रीमतीले पाउने हकहिस्सा प्रदान गर्ने सहमति भएको महिला सुरक्षा दबाब समूहकी अध्यक्ष मिना लम्सालले बताइन् ।

मानवअधिकार उल्लंघनका घटनामा वृद्धि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विगतका वर्षहरूको तुलनामा हाल नेपालमा मानअधिकार उल्लङ्घनका घटनामा केही कमी आएको भए पनि मानवअधिकारको उल्लङ्घन गर्न सशस्त्र समूहमा भने वृद्धि भएको छ । अनौपचारिक सेवा केन्द्र इन्सेकको तथ्याङ्कलाई हेर्ने हो भने गत वर्षअर्थात् सन् २००७ मा नेपालमा राज्य तथा गैरराज्यपक्षबाट करिव ५५१ जनाले ज्यान गुमाएका थिए भने सन् २००८ को १५ डिसेम्बरसम्म २६५ जनाले ज्यान गुमाएका छन् ।तराइमा देखापरेका सशस्त्र समूह जनतान्त्रिक तराइ मुक्तिमोर्चा, जनतान्त्रिक तराइ मुक्तिमोर्चा गोइत, जनतान्त्रिक तराइ मुक्तिमोर्चा ज्बालासिंह, मधेसी मुक्ति टाइगर्स, नेपाल डिफेन्स आर्मी, तर्राई कोब्रा, भाइरस किलरलगायतका समूहबाट यो वर्ष थुप्रै मानिस मारिएका छन् । अझ अज्ञात समूहबाट मर्नेको सङ्ख्या त बढ्दो छ । इन्सेकको यो वर्षको तथ्याङ्कले अज्ञात समूहबाट १३८ जना मारिएको देखाएको छ । यो वर्ष सबैभन्दा बढी सिराहा जिल्लामा २९ जनाले विभिन्न सशस्त्र समूहबाट ज्यान गुमाएका छन् । अज्ञात समूहबाट २० जनाले, राज्यपक्षबाट चार जनाले, जनतान्त्रिक तराइ मोर्चाबाट दुइजनाले, लिबरेसन टाइगर्स अफ तराइबाट एक जनाले, अन्यबाट दुइजनाले गरी २९ जनाले ज्यान गुमाएका छन् ।यसैगरी, कपिलवस्तुमा मारिएका २५ जनामा जनतान्त्रिक तराइ मुक्तिमोर्चा ज्बालासिंहबाट तीनजना, जनतान्त्रिक तराइ मोर्चाबाट एकजना, अज्ञात समूहबाट १९ जना र अन्यबाट एकजना मारिएका हुन् । यसैगरी, विभिन्न समूहबाट बारामा २२ जना, सप्तरीमा २० जना, धनुषामा १९ जना, रूपन्देहीमा १७ जना र मोरङमा १५ जना यसै वर्ष मारिएका इन्सेकको तथ्याङ्कले देखाएको छ ।

अवरोधका कारण कान्तिपुर प्रकाशन हुन पाएन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादीनिकट मजदुर संगठन अखिल नेपाल सञ्चार छापाखाना र प्रकाशन मजदुर संघ इकाइले बिहीबार पनि दिनभर कान्तिपुर पब्लिकेसन्सको विराटनगरस्थित क्षेत्रीय कार्यालयमा धर्ना दिएर कर्मचारी र पत्रकारलाई प्रवेश गर्न दिएनन् । क्षेत्रीय कार्यालयमा रहेको प्रेस, सम्पादकीय विभाग तथा प्रशासनिक विभाग रहेको कार्यालय परिसरभित्र र मूलगेटमा धर्ना बसेका उनीहरुले दिनभर कसैलाई प्रवेश गर्न दिएनन् ।बुधबार पनि उनीहरुले लगातार धर्ना दिएकाले बिहीबार प्रकासन हुनुपर्ने कान्तिपुर र काठमाडौं पोस्टको पूर्वाञ्चल संस्करण निस्कन पाएनन् । इकाइसम्बद्ध कर्मचारीले हिजो राति नै प्रेसमा काम गर्नबाट कर्मचारीलाई रोकेका थिए । माग पूरा नभएसम्म धर्ना र प्रकाशन एवं प्रशासकीय काम गर्न नदिने घोषणा इकाइले गरेको छ ।यसअघि पनि दुइ दिन उनीहरुले धर्ना दिएका थिए । कार्यालय परिसरभित्रै खाना पकाएर खाने गरेका इकाइसम्बद्ध कर्मचारीमात्रै कार्यालयमा रहेका छन् । निषेध गरेकाले अन्य कर्मचारी र पत्रकार कार्यालय प्रवेशबाट वञ्चित भएको क्षेत्रीय प्रमुख अनन्त गुरागाइले बताउनुभयो ।

Dec 24, 2008

उद्‌घाटन भएकै दिनदेखि मध्यमर्स्याङदी बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मध्यमर्स्याङदी परियोजनाको निर्माण तथा परीक्षणको कामै नसकिएको रहस्य खुलेको छ ।गएको ८ बर्षअघि बनाउन थालिएको मध्यमर्स्याङदी जलविद्युत परियोजनाबाट तत्काल देखाउनको लागि मात्रै चार मेघावाट विद्युत उत्पादन गरेर मंसिर २९ गते प्रधानमन्त्री प्रचण्डबाट उद्‌घाटन गराइएको थियो । नेपाल विद्युत प्राधिकरणले समेत १ सय ३२ केभीको राष्ट्रिय प्रशारण लाइनमा ३५ मेघावाट विद्युत जोडिएको जानकारी दिएको थियो ।तर परियोजनाको दातृ संस्था केएफडब्ल्यू र जर्मन सरकारले सन् २००८ भित्रै उदघाटन गर्न दबाब दिएकोले तत्काल झारा टार्नेगरी विद्युत उत्पादन गरेर उद्‌घाटन गराइएको स्रोतले जनाएको छ । उदघाटनको दिन ४ मेघावाट विद्युत उत्पादन गरेको परियोजनाले त्यसपछि विस्तारै उत्पादन बढाउँदै जाने जानकारी दिएको थियो । तर उद्‌घाटन भएकै दिनदेखि परियोजनाबाट विद्युत उत्पादन भएको छैन ।

डोल्मा शेर्पाले मृत्युदण्डको सजायबाट मुक्ति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फिलिपिनो महिलाको हत्या अभियोगमा कुबेतको जेलमा सजाय भोगिरहेकी नेपाली महिला डोल्मा शेर्पाले मृत्युदण्डको सजायबाट मुक्ति पाएकी छिन् । कुबेतको तल्लो तथा पुनरावेदन अदालतद्वारा मृत्युदण्डको सजाय सुनाइएकी डोल्मालाई मृतकको परिवारले 'ब्लड मनी' स्वीकार गरेकाले उनलाई सुनाइएको मृत्युदण्डको सजाय फिर्ता भएको हो ।'ब्लड मनी' स्वीकार गरिएको पत्र मृतक फिलिपिनोको परिवारले अदालतसमक्ष बुझाइसकेको छ । 'सोही प्रमाणका आधारमा डोल्माले मृत्युदण्ड नपाउने निश्चित भएको छ,' कुबेतबाट प्राप्त समाचारमा भनिएको छ, 'डोल्मालाई मृत्युदण्डको छुटले कुबेतमा रहेका नेपालीहरू खुसी देखिएका छन् ।'कुबेतको पुनरावेदन अदालतले मंगलबार अपराह्न मात्रै डोल्मालाई मृत्युदण्डमुक्त गरिएको फैसला सार्वजनिक गरेको हो ।

सार्वजनिक यातायातमा सादा पोसाकका प्रहरी खटाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उपत्यकामा सार्वजनिक यातायातका यात्रु लुटिने क्रम बढेपछि प्रहरीले सादा पोसाकका प्रहरी खटाएको छ । बिहान/बेलुका सार्वजनिक यातायातमा समूह नै चढेर यात्रु लुट्नेको सक्रियता बढेपछि महानगरीय प्रहरी परिसर काठमाडौंले सार्वजनिक सवारीसाधनमा सादा पोसाकका प्रहरी परिचालन गरेको हो । परिसर प्रमुख नवराज सिलवालका अनुसार एक सातादेखि सार्वजनिक सवारीमा मुख्य अपराध हुने समयमा यात्रुसँगै सादा पोसाकका प्रहरी खटाउने गरिएको छ । उनले भने, 'उनीहरूलाई लुटेरा समूहको पहिचान, खबर संकलन र अपराध नियन्त्रणको काम सुम्पिएको छ ।'काठमाडौं परिसरमा मंगलबार आयोजित कार्यक्रममा सिलवालले अपराध नियन्त्रणका लागि सूचनामा आधारित प्रहरीको मान्यता अघि बढाएको बताए ।

गायिका म्याडोनाको गाय रिचीसँग सम्बन्ध-विच्छेद

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वासिङ्टन/ आउँदो जनवरीमा अमेरिकी गायिका म्याडोनाको आठ वर्षदेखिको दाम्पत्य सम्बन्ध टुंगिँदै छ । उनले आफ्ना पूर्वपति गाय रिचीसँग सम्बन्ध-विच्छेद गर्न कम्तीमा ७६ मिलियन अमेरिकी डलर दिने घोषणा गरिसकेकी छिन् । म्याडोनासँग चार सय ५० मिलियन डलर र उनका पूर्वपति फिल्म निर्देशक रिचीसँग ४५ मिलियन डलरबराबरको सम्पत्ति रहेको मूल्यांकन गरिएको छ । यसै ग्रीष्मयाममा म्याडोनाले अनौपचारिक रूपमा न्युयोर्क यांकी बेसबल खेलाडी एलेक्स ए- रड’ रोदि्रगेजसँग सम्बन्ध बढाएको जानकारी दिएकी थिइन् । यस जोडीले मालावीबाट धर्मपुत्रका रूपमा ग्रहण गरेका आठ वर्षे रोक्का र तीनवर्षे डेविडको पालनपोषणका लागि एक-एकजना बाँड्ने निधोसमेत गरेको छ । आफ्नो पहिलो पतिबाट जन्मेकी म्याडोनाकी छोरी लुर्दे भने आमासँगै न्युयोर्कमा रहनेछिन् । रोदि्रगेजतिर म्याडोनाले एलेक्स रोदि्रगेजसँग सम्बन्ध बढेको कुरा आफ्नो गायन प्रस्तुतिका वेला जनाइन् । ५० वर्षे रोदि्रगेजले जब मियामीको डल्पिन रंगशालामा आफ्नो सिटबाट म्याडोनातिर पानीको बोतल दिएका थिए, तब म्याडोनाले मुस्कान दिएकी थिइन् । स्रोतले जनाएअनुसार, रोदि्रगेज अघिल्लो पंक्तिको कुर्सीमा थिए त्यसैले पानी दिन उनलाई सजिलो थियो । उनी बडो उत्तेजक पारामा म्याडोनाको प्रस्तुतिलाई हेरिरहेका थिए । त्यसपछि मंगलबार बिहान म्याडोना फ्लोरिडाको मियामीमा एक निजी विमानबाट ओर्लिइन् । उनी एलेक्स रोदि्रगेजभन्दा केही सेकेन्ड मात्र पछि ओर्लेकी थिइन् । यस हप्ताको सुरुमा रोदि्रगेजले सार्वजनिक बिदाको दिन पारेर म्याडोना र उनका तीन बच्चासँगै बिताउने दाबी गरिएको छ । रोदि्रगेजका दुई सन्तानकी आमा पूर्वपत्नी सिन्थियाले इ-मेलमा लेखेकी छिन्- मेरो चाँडै पूर्वपति हुन लागेको ६ फिट तीन इन्च उचाइं भएको आत्मा नभएको रोदि्रगेजले म्याडोनासँग छुट्टी मनाउन आफ्ना नाबालक बच्चालाई अलपत्र पार्दै छ । म्याडोनाले बोलाई, ऊ न्युयोर्क सहरतिर लाग्यो ।’ तर, रोदि्रगेजका वारिसले भने सो दाबीको खण्डन गर्दै रोदि्रगेजले आफ्नै परिवारसँग छुट्टी मनाउने जानकारी दिएका छन् ।

श्रीमान् बाँधेर श्रीमतीलाई बलात्कार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सप्तरी/ बजारमा दाउरा बेचेर घर र्फकंदै गरेकी एक दलित महिला सोमबार बेलुका बलात्कृत भएकी छिन् । बलात्कारीलाई समातेर गाउँलेले प्रहरीलाई बुझाएका छन् । राजविराजबाट श्रीमान्सँगै राति आठ बजे घर फर्किंदै गरेकी दिघवा गाविस-६ की सदा थरकी दलित महिलालाई सप्तरीको डिमन गाविस-२ का दुई युवकले बलात्कार गरेका हुन् । उनको श्रीमान्लाई रूखमा बाँधेर उनीहरूले बलात्कार गरेको प्रहरीले जनाएको छ । पीडित महिलाको राजविराजमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत ज्ञानेन्द्र फुयाँलले दलित महिलालाई बलात्कार गर्ने डिमन गाविसका सुलेमान मिया र जवाहिर मियाँलाई समातेर गाउँलेले बुझाएको जानकारी दिए । उनका अनुसार पीडित महिलाले गुहार मागेपछि स्थानीय बासिन्दाले बलात्कारीलाई समातेका हुन् । हिरासतमा रहेका बलात्कारीलाई जबर्जस्ती करणी मुद्दा चलाइएको पनि फुयाँलले जानकारी दिए ।

ज्वालासिंहका कार्यकर्ताद्वारा हतियारसहित आत्मसमर्पण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रौतहट, ९ पुस तराईमा आन्दोलनरत जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वाला समूहका जिल्ला अध्यक्षसहित पाँचजनाले बुधबार हतियारसहित आत्मसमर्पण गरेका छन् । सो समूहमा लागेर आफूहरूले गल्ती गरेको भन्दै उनीहरूले जिल्ला प्रहरी कार्यालय रौतहटमा आत्मसमर्पण गरेका हुन् । आफूलाई ज्वाला समूहको रौतहट अध्यक्ष बताउने शेरसिंह उर्फ शेख कुरानसहित कौशल किशोर ठाकुर, जवाहर पटेल, मकर गिरी, नरेश पटेलले आत्मसमर्पण गरेका हुन् । आत्मसमर्पण गर्नेहरूले सात थान नलकटुवा पेस्तोल र १० थान गोली प्रहरीलाई बुझाएका छन् । तर, प्रहरीले उनीहरूसँग अत्याधुनिक हतियार भएको आशंका गरेको थियो । विभिन्न आपराधिक गतिविधिमा संलग्न शेरसिंह प्रहरीको खोजी सूचीमा थिए । उनको नेतृत्वको समूहले रौतहटका आधादर्जनको ज्यान लिएको प्रहरीले जनाएको छ । यसैबीच, भूमिगत समूहको गतिविधि बढेको भन्दै रौतहटलगायत तराईका केही जिल्लामा मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडाबाट थप प्रहरी बल परिचालन गरिएको छ । तराईका बारा, पर्सा, रौतहट, महोत्तरी र धनुषामा थप प्रहरी परिचालन गरिएको हो । एक जिल्लामा ६० जनाका दरले थप प्रहरी बल परिचालन गरिएको मध्यक्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ । थप प्रहरी बल इलाका प्रहरी कार्यालय र चौकीमा राखिने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । रौतहटमा जनपद र सशस्त्र प्रहरीले दैनिक गस्ती गरे पनि आपराधिक गतिविधि र चन्दा आतंक रोकिएको छैन । सर्वसाधारण तथा व्यवसायीले आफूहरू असुरक्षित भएको गुनासो गर्दै आएका छन् ।

हिमाल मिडियामा आक्रमण नाइके वाईसीयल क्याम्पमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हिमाल मिडियामा आक्रमण गर्ने जत्थाका नाइके माओवादीसम्बद्ध मजदुर युनियनका अध्यक्ष रमेशबाबु पन्त काठमाडौंको वाईसीयल क्याम्पमा बसेका छन् । पुस ६ गते हिमालमिडियामा आक्रमण गर्ने जत्थाका नाइके माओवादीसम्बद्ध अखिल नेपाल होटल तथा रेस्टुराँ मजदुर संघका अध्यक्ष रमेशबाबु पन्त माओवादीकै अर्को भातृ सङ्गठन योङ्ग कम्युनिष्ट लिग (वाईसीयल)को क्याम्पमा आश्रय लिएर बसेका छन् । अनलाइन समाचार माइरिपब्लिकाडटकम ले पुस ९ गते उच्च गुप्तचर स्रोतलाई उधृत गर्दै यो जानकारी दिएको हो । माइरिपब्लीका का अनुसार हिमालमा आक्रमण भएको दिनदेखि नै उनी काठमाडौंको एउटा वाईसीयल क्याम्पमा बसिरहेका छन् । स्रोतले उनी कुन क्याम्पमा छन् भन्ने चाहिँ नखुलाएको अनलाइनले उल्लेख गरेको छ । स्रोतले नाम उल्लेख गर्न अनिच्छा व्यक्त गर्दै माइरिपब्लिका लाई भनेको छ, "पन्त काठमाडौंको एउटा वाइसीयल क्याम्पमा लुकिरहेकाले हामीलाई उनलाई गिरफ्तार गर्न अप्ठ्यारो परेको छ । यस्तो अवस्थामा हामीले उनलाई समात्न कोशिस गर्‍यौं भने त्यहाँ भिडन्त हुनेछ ।" तर समाचारमा वाइसीयल प्रमुख गणेशमान पुनले भने पन्त आफ्नो सङ्गठनको कुनै क्याम्पमा लुकिरहेका छन् भन्ने जानकारी आफूलाई नभएको बताएका छन् । "मलाई उनी कहाँ छन् भन्ने कुरा थाहा छैन", पुन भन्छन् ।माइरिपब्लिका डटकमले मन्त्रिपरिषदको ९ गते नै बसेको वैठकले गृहमन्त्रालयलाई पन्तसहित हिमालमिडियामा आक्रमण गर्ने सबैमाथि कानूनी कारवाही शुरु गर्न आदेश दिएलगत्तै उनी वाईसीयलको क्याम्पमा लुकिरहेका छन् भन्ने जानकारी पाएको पनि समाचारमा उल्लेख गरेको छ । यसैबीच पुस ९ गते बसेको मन्त्रिपरिषदको वैठकले हिमालमिडियामा भएको आक्रमणका दोषीलाई कडा कारवाही गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले जानकारी दिएका छन् । वैठकले हिमाल मिडियामाथिको आक्रमणबारे छलफल गरेर समस्याको समाधान गर्ने जिम्मेवारी मन्त्री महरालाई दिएको छ । सञ्चारकर्मीलाई माओवादी नेता समेत रहेका महराले दोषी ठहरिएमा पन्तलाई पार्टीबाट निश्काशन गरिने प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाई पनि सुनाए । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले हिमालमिडियामा भएको आक्रमणको विरोधमा भएको प्रदर्शनमा पत्रकारमाथि लाठी प्रहार गर्ने प्रहरीलाई विभागीय कारवाही शुरु गरेको बताए । पुस ७ गतेको प्रदर्शनमा प्रहरीको लाठी प्रहारबाट नेपाल पत्रकार महासंघका सचिव रामजी दाहाल गम्भिर घाइते भएका थिए ।

अन्तरराष्ट्रिय विमानस्थलमा विमान दुर्घटना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल वायुसेवा निगमको जहाज पुस ९ गते अन्तरराष्ट्रिय विमानस्थल, काठमाडौंमा दुर्घटना भएको छ । 
नेपाल वायुसेवा निगमको टि्वनअटर जहाज काठमाडोंस्थित अन्तरराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ । सो जहाज पुस ९ गते दिउसो साढे तीन बजे विमानस्थलको रनवेयको पूर्वपट्टि खसेको हो । परिक्षण उडान गरिएकाले एक जना चालक र सहचालक वाहेक विमानमा अन्य यात्रुहरु नरहेको बताइएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

नयाँ सेनाभर्ती सम्झौताविपरीतः मार्टिन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालस्थित राष्ट्रसंघीय मिसन (अन्मिन) का प्रमुख इयान मार्टिनले नेपाली सेना तथा माओवादी सेनामा कुनै नयाँ भर्ती गरे युद्धविराम आचारसंहिता, विस्तृत शान्ति सम्झौता तथा सेना तथा हतियार व्यवस्थापनको अनुगमनसम्बन्धी सम्झौताको उल्लंघन हुने बताउनुभएको छ। अन्मिन प्रमुख मार्टिनले रक्षा मन्त्रालयलाई पत्र लेखी सो कुरा उल्लेख गर्नुभएको अन्मिनद्वारा मंगलबार जारी पे्रस विज्ञप्तिमा जनाइएको छ। नेपाली सेनामा नयाँ भर्ती लिएको भन्दै माओवादी नेताहरूले चर्को विरोध गरिरहेका बेला नयाँ भर्ती सम्बन्धमा अन्मिनप्रमुख मार्टिनको यस्तो धारणा आएको हो। नेपाली सेनाले विस्तृत शान्ति सम्झौता हुँदाको समयको संख्यासम्मको रिक्त पदपूर्ति मात्र गर्न सक्ने अन्मिनले स्पष्ट पारेको छ।

Dec 23, 2008

प्रेसमाथि आक्रमणको अन्तर्राष्ट्रिय संस्थाद्वारा भर्त्सना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी निकट मजदुरहरुले हिमाल मिडियामा गरेको आक्रमणको भत्सना गर्दै विश्व समुदायले देशीमाथी कारवाहि गर्न माग गरेका छन् । संयुक्त राष्ट्रसघ तथा पत्रकारहरुको संस्था इन्टरनेशनल फेडेरेसन अफ जर्नालिस्ट आइएफजे कमिटी अफ प्रोटेष्ट जर्नालिस्ट सीपीजेले छुट्टाछुट्टै विज्ञप्ती निकालेर भनेका छन् - हिमालमा भएको आक्रमणलाई प्रेश स्वतन्त्रतामाथिकै आक्रमण हो ।इन्टरनेशनल फेडेरेसन अफ जर्नालिस्ट आइएफजेका एसियन प्यासिफिक निर्देशन ज्याकलाइन पार्कले संञ्चार माध्यमहरुमाथी आक्रणम गर्नेलाई तत्काल कारवाहि गर्न माग गर्नु भएको छ । उहांले पे्रस स्वतन्त्रताको ग्यारिन्ट गरि संञ्चार क्षेत्रमा भइरहेको अराजकता अन्त्य गर्न प्रधानमन्त्री, संञ्चारमन्त्री र राजनीतिक दलहरुलाई आग्रह पनि गर्नु भएको छ ।यसैगरी सीपीजेले हिमालमा भएको आक्रमणको छानविन गरि दोशीमाथी तत्काल कारवाहि गर्न सरकारसग आग्रह गरेको छ । संञ्चार माध्यममाथी श्रृखलावद्ध आक्रमण गर्नु माओवादीको लामो समयदेखिको परम्परा भएको टिप्पणी गर्दै सीपीजेले भनेको छ - हिमाल आक्रमणको निश्पक्ष छानविन भएन भने माओवादी नेतृत्वको सरकार प्रेस स्वतन्त्रता प्रति प्रतिवद्ध छ भनेर नेपाली जनता र वाकिँ विश्वले पत्याउने छैन ।माओवादी निकट मजदुरहरुले अस्ती हिमालको हात्तिवनमा रहेको कार्यलयमा आक्रमण गर्नुका साथै संञ्चारकर्मीहरुलाई कुटपिट समेत गरेका थिए ।

सेनाले नयाँ भर्ती नरोके भर्ती खोल्ने चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादीका केन्द्रीय सदस्य तथा माओवादी सेनाका डेपुटी कमान्डर चन्द्रप्रकाश खनाल 'बलदेव' ले नेपाली सेनाले नयाँ भर्ती नरोके आफूहरूले पनि भर्ती खोल्ने चेतावनी दिएका छन् । नेपाली सेनाले गरेको नयाँ भर्तीबारे प्रधानमन्त्री र अनमिनको ध्यानाकर्षण गराउँदै बलदेवले यस्तो चेतावनी दिएका हुन् । क्रान्तिकारी पत्रकार संघले सोमबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा उनले नयाँ भर्ती खुलाएर क्यान्टोनमेन्टमा ३०-३५ हजार सेना पुर्‍याउने चेतावनी दिए । नेपाली सेनाले दरबन्दी पूरा गर्ने तर्क दिएको उल्लेख गर्दै डेपुटी कमान्डर बलदेवले आफ्ना सेना पनि कोही रूखले किचेर मरेको र कुनै भागेकाले खाली भएको बताए । उनले भने, 'कयौँ घाइते छन्, कयौँ बिरामी छन् तिनका ठाउँमा पनि हामीले भर्ती गर्न पाउनुपर्छ ।' प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट नेपाली सेनाले गरेको भर्नाबारे बुझेर जानकारी दिने आश्वासन पाएको पनि उनले बताए ।

एसिसी यु- १९ वुमन्स क्रिकेट च्याम्पियनसिप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
किशोरीहरूको नेपाली टोलीले एसिसी यु- १९ वुमन्स क्रिकेट च्याम्पियनसिप जितेको छ । थाइल्यान्डको चियाङ मेई क्रिकेट मैदानमा मंगलबार भएको फाइनल अनुमान गरेभन्दा सहज रूपमा जित्दै टोलीले लामो समयपछि नेपाललाई अन्तर्राष्ट्रिय उपाधि दिलाए । लगभग ढेड वर्षपछि नेपालले कुनै पनि समूहगत खेलको अन्तर्राष्ट्रिय उपाधि जितेको हो । यसअघि, अन्तिमपटक नेपालको मेन्स टोलीले अगस्ट २००७ मा एसिसी यु- १९ एलिट कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको थियो । सो अन्तरालमा अन्य समूहगत खेलमा पनि नेपालले प्रतिष्ठित अन्तर्राष्ट्रिय उपाधि जित्न सकको थिएन । लामो समयपछिको अविस्मरणीय र सानदार उपाधि नेपाललाई दिलाउने क्रममा किशोरीहरूले मलेसियाली टोलीलाई सात विकेटले हराए । टोलीले प्रतियोगिताको पहिलो खेलमा पनि मलेसियालाई पराजित गरेको थियो । 'जितका लागि हामीसँग विजेता टोली रहेको जानकारी थियो, लामो समयदेखि खेलिरहेका थियौँ, त्यसैले प्रतिस्पर्धामा आत्मविश्वाससाथ उत्रिएका थियौँ,' क्रिकेटमा नेपाललाई पहिलो महिला अन्तर्राष्ट्रिय उपाधि दिलाएपछि कप्तान नेरी थापाले भनिन् । थापा गत वर्ष सम्पन्न सिनियर एसिसी वुमन्स क्रिकेट टोलीकी समेत कप्तान हुन् । उनको कप्तानीमा रहेको नेपाली महिला टोली पहिलो सहभागितामै उपविजेता भएको थियो । 'नेपाली महिला टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा यस स्तरको सफलता पाउनु खुसीको क्षण हो,' नेपाल क्रिकेट संघका अध्यक्ष विनयराज पाण्डेले भने, 'यसले महिला क्रिकेटमा अझ ठूलो उपलब्धिको आशा देखाएको छ ।' प्रभावकारी क्षेत्ररक्षण र घातक बलिङकै बलमा नेपालले मलेसियालाई सहजै पराजित गरेको हो । २४ डिग्री सेल्सियस तामक्रम रहेको चियाङमईको घमाइलो वातावरणमा टस जितेको नेपाली टोलीले पहिले फिल्डिङको निर्णय गर्‍यो । सोही कारण पहिले ब्याटिङ थालेको मलेसिया १६ ओभर दुई बलमा ४५ रनको योगफल मात्र तयार गरी धराशयी भयो । नेपालका किशोरी खतरनाक बलिङमा उत्रिएपछि यसअघि उपाधिको दाबेदार मानिँदै आएको मलेसियाका कुनै पनि ब्याट्सवुमन तीन रनभन्दा बढी जोड्न सक्षम भएनन् । अझ चार मलेसियाली खेलाडी त डक आउट भए । मलेसियाका दुई ब्याट्सवुमनले तीन-तीन रन मात्र जोडे । चारजना दुई-दुई रन जोड्न सफल भए । मलेसियालाई थोरै योगफलमा समेट्न सोनु खड्काको बलिङले निकै मद्दत गर्‍यो । पाँच ओभर बलिङ गरेकी खड्काले तीन मेडन राखी नौ रन मात्र खर्चेर तीन विकेट लिएकी थिइन् । प्रभावशाली बलिङका कारण उनी प्लेयर अफ द म्याच घोषित भइन् । यसैगरी, सीता मगर र रेखा रावलले दुई/दुई विकेट लिए । केशरी चौधरी र तृष्णा सिंहले एक/एक विकेट लिए । यद्यपि, मलेसियाले जोडेको योगफलमा नेपालले दिएको ३० अतिरिक्त रन पनि सामेल छ । जितका लागि तातेका नेपाली खेलाडी ब्याट् र प्याडका साथ मैदानमा उत्रँदा चियाङमईको तामक्रम पनि एक डिग्री सेल्सियस बढेर २५ पुगेको थियो । मलेसियाली बलर कम घातक देखिएपछि ११ ओभर पाँच बलमै नेपाली टोलीले ४७ रनको योगफल तयार गर्‍यो । विजयी योगफल तयार गर्ने क्रममा नेपालले तीन ब्याट्सवुमन भने गुमायो । जितका लागि ओपनर माया रावतले सर्वाधिक १५ रनको योगदान दिइन् । अविजित रहेका तृष्णा सिंह -९) र सीता मगर -८) को योगदान पनि कम थिएन । नेपालकी रोशनी बोहरा र बिनु मगरले भने कुनै रन जोड्न सकेनन् । मलेसियाकी नुर एसासले दुई र विनपिmड डुरेसिंगमले एक विकेट लिएका थिए । 'नेपालले राम्रो खेलेकामा शंकै छैन,' खेल सकिएपछि मलेसियाली प्रशिक्षक भी कालिदासले प्रतिक्रिया दिए । 'हामीले राम्रो खेल्यौँ,' नेपाली टोलीका प्रशिक्षक जमिल अन्सारीले भने । 'प्रतियोगितामा नेपाली टोलीको प्रदर्शन बलिङ, ब्याटिङ र फिल्डिङ गरी तीनवटै क्षेत्रमा राम्रो भयो,' क्यान अध्यक्ष पाण्डेले भने, 'यस जितले आगामी एसियन गेम्समा पनि नेपाली टोलीको सम्भावना बढाएको छ ।' सन् २०१० मा चीनमा हुने एसियाली खेलकुदमा ट्वान्टी-२० क्रिकेटलाई समावेश गरिएको छ । त्यसैलाई लक्षित गर्दै एसिसीले पनि २००९ मा ट्वान्टी-२० क्रिकेट प्रतियोगिता आयोजना गर्दै छ । एसिसीले गर्ने त्यस प्रतियोगिताका शीर्ष तीन टोली एसियाली खेलकुदका लागि छनोट हुनेछन् ।

विश्वका ५० शक्तिशाली व्यक्तिको सूचीमा एक नम्बरमा ओबामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
न्युयोर्क/ संयुक्तराज्य अमेरिकाको पत्रिका न्युजविकले पछिल्लो अंकमा विश्वका ५० शक्तिशाली व्यक्तिको सूची प्रकाशित गरेको छ । संयुक्तराज्य अमेरिकाका नवनिर्वाचित राष्ट्रपति बाराक ओबामा शक्तिशाली व्यक्तिको सूचीमा एक नम्बरमा रहेका छन् । यस सूचीमा चिनियाँ राष्ट्रपति हु जिन्ताओ, फ्रान्सेली राष्ट्रपति निकोलस सार्काजी, रुसी प्रधानमन्त्री भ्लादिमिर पुटिन, बेलायतका प्रधानमन्त्री गोर्डन ब्राउन र जर्मनकी चान्सलर एन्जेला मार्केल पनि समावेश छन् । न्युजिविकको ५० शक्तिशाली व्यक्तिको सूचीमा ओसामा बिन लादेन पनि समावेश छन् । शक्तिशालीको सूचीमा भारतको कंग्रेस पार्टीकी अध्यक्ष सोनिया गान्धी पनि १७औं स्थानमा परेकी छिन् । यस्तै, भारतीय सिनेमा उद्योगका नायक शाहरुख खान पनि शक्तिशाली व्यक्तिको ४१औं स्थानमा परेका छन् ।

मधेस प्रदेशको मुद्दालाई एकबद्धरूपमा उठाउने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मधेशी जनअधिकार फोरमको संसदीय दलको मंगलबारको बैठकले समग्र स्वायत्त मधेस प्रदेशको मुद्दालाई संसदीय र पार्टी मोर्चाले एकबद्धरूपमा उठाउने निर्णय गरेको छ । बैठकमा भौतिक योजना तथा निर्माणमन्त्रीले एक मधेश एक प्रदेशको मुद्दालाई फोरमले त्यागेको भन्ने विषयमा लामो छलफल भएको पार्टीका संविधानसभा सदस्य बीपी यादवले जानकारी दिनुभयो ।सदस्य यादवका अनुसार बैठकमा मन्त्री गच्छदारले एक मधेस प्रदेशका विरुद्धमा आफूले नबोलेको तर सञ्चारमाध्यमले त्यसलाई बङ्ग्याएको भनेर स्पष्टिकरण दिनुभएको थियो । बैठकले हिमाल मिडियामाथि भएको आक्रमणप्रति घोर निन्दा र भर्त्सना गर्दै अपराधीमाथि कडा कारबाही गर्न तथा बाँकेको नेपालगन्जमा तर्राई-मधेस लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीको कार्यालयमा भएको बम विस्फोटनमा संलग्नको खोजी गरी कारबाही गर्न माग गरेको छ ।

हिमाल मिडियामा भएको आक्रमणमा संलग्नमाथि कारबाही गर्न निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहालले हिमाल मिडियामा भएको आक्रमणमा संलग्नमाथि कारबाही गर्न निर्देशन दिइसकेको बताउनुभएको छ । नेकपा एमाले मा विद्रोह गरी नेकपा माओवादी मा प्रवेश गरेका नेताहरुको स्वागतमा पार्टीद्वारा मंगलबार राजधानीमा आयोजित कार्यक्रम सकिएपछि बाहिर पत्रकारहरूले राखेको जिज्ञासामा उहाँले आक्रमणपछि उत्पन्न समस्या समाधानका लागि सरोकारवाला पक्षसँग कुराकानी गरिरहेको बताउनुभयो । पत्रकारहरुसित उहाँले भन्नुभयो- "यो समस्या छिट्टै समाधान हुन्छ, यसमा तपाईंहरूले पनि सहयोग गर्नुपर्छ ।" हिमाल लगायत सञ्चार संस्थाहरुमा लगातार आक्रमण भइरहेकोप्रति सर्वत्र आलोचना र निन्दा भइरहेका बेला उहाँले यस्तो बताउनुभएको हो ।

तराईमा छ महिनामा १०० जनाको हत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले तराईका सशस्त्र समूहहरुसंग लामो प्रतीक्षापछि वार्ता शुरु गरे पनि तराईमा हत्याको क्रम रोकिएको छैन। पूर्वी तराईमा गएको एक साता यता १० जना मारिइसकेका छन्। सरकारले एउटा समूहसंग वार्ता गरेपनि दर्जनौ अरु समूहहरुसंग वार्ता हुने अझै कुनै संकेत छैन। वार्ताको अन्यौलले यस्तो स्थिति देखा परेको मानवअधिकारकर्मीहरुको भनाई छ।मध्य र पूर्वी तराईका सप्तरीदेखि पर्सासम्मका आठ जिल्लाहरुमा गएको सात दिनभित्र हत्या गरिएका १० जना मध्ये राज्य पक्षबाट तीन र गैरराज्य पक्षबाट सात जना छन्। धनुषामा एकजना कर्मचारी र एकजना सशस्त्र प्रहरी सहित पाँच जनाको हत्या भएको छ। पर्सामा दुई जना, सर्लाही, सिराहा र सप्तरी जिल्लामा एक, एक जना मारिएका छन्।यी क्षेत्रमा गएको छ महिनामा १०० जना मारिएको मानवअधिकारसित सम्बद्ध संगठनहरुले जनाएका छन्। मानवअधिकारको क्षेत्रमा कार्यरत बुद्धिनारायण सहनी भन्छन, “वार्ताको अन्यौलले पनि हत्या र हिंसाको श्रृङ्खला लम्बिएको हो।"सरकारी वार्ता टोलीले गत महिना मधेशी भाइरस किलर्ससित औपचारिक वार्ता गरेपनि अन्य संगठनहरु सित वार्ता भएको छैन।

Dec 22, 2008

चिकित्सकको लापरबाहीले किशोरीको आँखाको ज्योति गुम्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
झापा, ७ पुस चिकित्सकको लापरबाहीले झापाकी एक किशोरीको आँखाको ज्योति गुमेको छ । चारपानेस्थित मेची आँखा उपचार केन्द्रका चिकित्सकको लापरबाहीले अनारमनी- ३ की अन्जु थापाको ज्योति गुमेको हो । चिकित्सकको लापरबाहीले छोरीको आँखाको ज्योति गुमेको आमा खिनमायाले बताइन् । 'डाक्टरकै लापरबाहीले मेरी छोरीको देब्रे आँखा बिगि्रयो,' उनले नयाँ पत्रिकासँग भनिन्, 'उसले दाहिने आँखा पनि राम्रोसँग देख्दिन ।' अन्जुको देब्रे आँखा सदाका लागि बन्द भएको छ । जलविन्दुका कारण उनले आँखाको ज्योति गुमाएको चिकित्सकले बताएका छन् । दुवै आँखा चिलाएर रातो हुन थालेपछि २२ मार्च २००५ मा पहिलो पटक अन्जु सो उपचार केन्द्रमा भर्ना भएको अभिलेख छ । तर, उपचारमा संलग्न चिकित्सकले सामान्य एलर्जी भएको भन्दै आँखामा हाल्ने र खाने औषधि उनलाई दिएका थिए । चिकित्सककै सल्लाहमा उनलाई एउटा चस्मासमेत दिइएको थियो । हालसम्म पनि उनले सो चस्मा प्रयोग गरिरहेकी छिन् । 'कतै जानुपर्दैन । यहीँ निको हुन्छ भनेपछि कतै पनि गएनौँ,' स्थानीय देवी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत १५ वषर्ीया अन्जुले भनिन्, '२२ वर्ष पुगेपछि आफैं ठीक हुन्छ भनेका थिए, ज्योति नै गुम्यो ।' प्रारम्भिक चरणमा अन्जुको उपचारमा संलग्न कुनै पनि चिकित्सक हाल सो उपचार केन्द्रमा छैनन् । डा. सञ्जय सिंह, डा. चन्द्र राई र सान्तनु गांगुली अन्यत्रै कार्यरत रहेको उपचार केन्द्रले जनाएको छ । पछिल्लोपटक अन्जुको उपचारमा संलग्न चिकित्सक डा. पुरुषोत्तम जोशीले आफूले कुनै लापरबाही नगरेको दाबी गरे । 'मैले कुनै लापरबाही गरेको छैन,' उनले नयाँ पत्रिकासँग भने, 'बरु दाहिने आँखाको ज्योति गुम्न नदिन मैले नै काठमाडौं जान सल्लाह दिएको थिएँ ।' निरन्तर सम्पर्कमा रहन भनिए पनि सोअनुरूप नआएकाले यस घटनाको जिम्मेवारी लिन नसकिने आँखा उपचार केन्द्रले जनाएको छ । 'प्रत्येक तीन/तीन हप्तामा आउनू भनेका थियौँ,' केन्द्रका प्रशासकीय अधिकृत सुरज रौनियारले भने, 'तर, उहाँहरू २१ महिनासम्म पनि सम्पर्कमा आउनुभएन ।' सो अवधिभित्र अन्जु उपचारका लागि आएको रेकर्ड अस्पतालमा नरहेको उनले दाबी गरे । डा. जोशीका अनुसार अन्जुका आँखामा चिलाउने र आँखाको प्रेसर गरी दुईवटा रोग देखिएका थिए । उनका आँखामा 'एमएलियो' नामक औषधि लामो समयसम्म प्रयोग गरिएकाले थप समस्या निम्तिएको केन्द्रको दाबी छ । पीडित पक्षले भने आफूहरू निरन्तर अस्पतालको सम्पर्कमा रहेको जिकिर गरेको छ । 'हामीले निरन्तर अस्पताल गएर उपचार गराएका हौँ,' अन्जुकी आमा खिनमायाले भनिन् । लगातार तीन वर्षसम्म उपचार गराउँदा पनि देब्रे आँखा झन् दुखेपछि केन्द्रका चिकित्सकले काठमाडौं लान भनेको उनले बताइन् । केन्द्रले काठमाडौं लान सल्लाह दिएलगत्तै काँकडभिट्टास्थित मेची नेत्रालयमा अन्जुको आँखा परीक्षण गरिएको थियो । नेत्रालयले देब्रे आँखा बिगि्रसकेको र दाहिने आँखा पनि जोखिममा रहेकाले तत्काल काठमाडौं लैजान सल्लाह दिएको खिनमायाले बताइन् । काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा गरिएको दुई महिना लामो उपचारपछि अन्जुको दाहिने आँखामा आंशिक सुधार आएको छ । तिलगंगा अस्पतालका चिकित्सकले गलत औषधिको प्रयोगबाट अन्जुले आँखाको ज्योति गुमाएको बताएको पीडित पक्षको दाबी छ । यसैबीच अन्जुले आँखाको ज्योति गुमाएपछि परिवार र उनका सहपाठी विद्यार्थीले दोषीमाथि कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै आन्दोलन थालेका छन् । विद्यार्थीले दैनिकजसो नारा-जुलुससहित केन्द्रमा घेराउ र धर्ना दिँदै आएका छन् । उनीहरूले आइतबार केन्द्रमा घेराउ गरी चिकित्सक र कर्मचारीलाई एक घन्टासम्म अस्पतालभित्रै थुनेका थिए । पीडित पक्षलाईर् अस्पताल प्रशासनले क्षतिपूर्ति नदिए चरणबद्ध आन्दोलन गर्ने विद्यार्थीले चेतावनी दिएका छन् । सोमबार पनि विद्यार्थीले केन्द्रको मूलद्वारमा दुई घन्टा तालाबन्दीसहित धर्ना दिए ।

सार्क मुलुकहरूमध्ये महँगो मट्टीतेल नेपालमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सर्वसाधारणका लागि महत्त्वपूर्ण उपभोग्य पदार्थ ठहरिएको मट्टीतेलको मूल्य सार्क मुलुकहरूमध्ये नेपालमा सबैभन्दा महँगो रहेको छ ।डिजेलमा भएको मिसावट नियन्त्रण गर्न नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य समान गरेपछि मट्टीतेल महँगो भएको हो ।डिजेल र मट्टीतेलको मूल्य समान भएपछि मट्टीतेलको खपतमा ६५ प्रतिशत कमी आएको छ । निगम स्रोतका अनुसार मूल्य समान भएपछि डिजेलको माग भने ३५ प्रतिशत बढेको छ । पेट्रोलपम्पले डिजेलमा मट्टीतेल मिसावट नगरेका कारण र उद्योगले मट्टीतेलको साटो डिजेल प्रयोग गर्न थालेपछि मट्टीतेलको माग घटेको बताइएको छ ।नेपालमा अहिले मट्टीतेलको उपभोक्ता मूल्य ६० रुपैयाँ ५० पैसा रहेको छ । जब कि छिमेकी मुलुक भारतमा ५५ रुपैयाँ २७ पैसा रहेको छ । नेपालले लामो समयदेखि भारतबाट पेट्रोलियम पदार्थ आयात गर्दै आएको छ । भारतमा नेपालमा भन्दा पेट्रोलियम पदार्थको खुद्रा मूल्यसमेत सस्तो रहेको छ । द्वन्द्वबाट गुजि्ररहेको श्रीलंकाभन्दा पनि नेपालमा मट्टीतेलको मूल्य ४ रुपैयाँले महँगो रहेको छ । भारतमा भन्दा नेपालमा पेट्रोल प्रतिलिटर पाँच र डिजेल तथा मट्टीतेल पाँच रुपैयाँ महँगो छ । भारतमा पेट्रोल प्रतिलिटर ८० रुपैयाँ ९६ पैसा, डिजेल ५५ रुपैयाँ ७७ पैसा छ भने नेपालमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८५ र ६५ रुपैयाँ छ । १५ डिसेम्बरको भारतीय मूल्यअनुसार पेट्रोलमा निगमलाई २९ रुपैयाँभन्दा बढी नाफा रहेको स्रोतले बतायो । त्यस्तै, डिजेलमा नौ रुपैयाँभन्दा बढी नाफा रहेको छ । निगमको नाफा व्यावसायिक क्षेत्रले लिएकोभन्दा पनि बढी छ । निगमले प्रत्येक ३ तारेखमा पेट्रोलियम पदार्थको मूल्य समायोजन नीति लिएको छ । पेट्रोलियम व्यवसायीले समेत मूल्य कटौती कम भएको जनाएका छन् । नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष सरोज पाण्डे निगमले अन्तर्राष्ट्रिय बजारअनुसार न्यून मूल्य समायोजन मात्र गरेको बताउँछन् । 'पेट्रोलियम पदार्थको मूल्य अझै घटाइनुपर्छ,' उनले भने । तर, पाण्डे पेट्रोलियम पदार्थको मूल्य भारतमा भन्दा कम कायम गर्न नहुने बताउँछन् । 'पेट्रोलियम पदार्थको मूल्य भारतमा भन्दा कम गर्नुहुँदैन,' उनले भने, 'भारतमा भन्दा कम भए पेट्रोलियम पदार्थ अपचलन भएर मुलुकले घाटा व्यहोर्नुपर्ने अवस्था आउँछ ।' लोडसेडिङ बढ्दै गएपछि नेपाल आयल निगमलाई डिजेल आपूर्तिमा हम्मेहम्मे परेको छ । अहिले दैनिक १८ लाख लिटर डिजेलको माग रहेको छ । मागअनुरूप आपूर्ति गर्न निगमले सोमबारदेखि बरौनीबाट डिजेल ल्याउन थालेको छ । निगम स्रोतका अनुसार, भारतीय नम्बर प्लेटका ट्यांकरले सिधै डिजेल आपूर्ति गर्न थालेका छन् । मट्टीतेल र डिजेल मूल्य समान भएकाले समेत डिजेल माग बढेको हो । अहिले डिजेलको मासिक माग ४२ हजार किलोलिटर रहेको छ । गत महिना डिजेलको माग २७ हजार किलोलिटर मात्र थियो ।निगमका अनुसार, अहिले मट्टीतेलको माग घटेको छ । हाल मट्टीतेलको माग मासिक पाँच हजार किलोलिटर मात्र रहेको छ । डिजेलभन्दा मट्टीतेलको मूल्य कम हुँदा मट्टीतेल खपत १० हजार किलोलिटर हुने गर्दथ्यो ।

प्रशान्त तामाङ अब फिल्म हिरोको रूपमा प्रस्तुत हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इन्डियन आइडल प्रशान्त तामाङ अब हिरोको रूपमा प्रस्तुत हुने भएका छन्, त्यो पनि नेपाली फिल्ममा । फिल्ममा उनको गायकी संघर्षको कथा प्रस्तुत गरिँदै छ । नयाँ निर्देशक दिनेशराज शर्माको निर्देशनमा बन्ने उक्त फिल्मको सुटिङ माघको पहिलो साताबाट सुरु हुने भएको छ । तर, फिल्मको नाम जुरिसकेको छैन । गायक प्रशान्तले नै लेखेको कथामा निर्माण हुन लागेको उक्त फिल्मको निर्माता सिक्किमका नागरिक रहेका छन् । असी प्रतिशत छायांकन भारतको सिक्किम तथा दार्जिलिङका विभिन्न स्थानमा गरिने जानकारी निर्देशक शर्माले दिए । बाँकी छायांकन नेपालमा गरिने भएको छ । सामान्य भारतीय सिपाहीको जागिर खाइरहेका नेपाली मूलका प्रशान्त कसरी इन्डियन आइडल बन्न सफल भए, उनले उक्त स्थान हासिल गर्न कस्ता किसिमका संघर्ष गर्नुपर्‍यो, सिनेमामा प्रस्तुत गरिने भएको छ । प्रशान्तबाहेक राजेश हमाल, रमित ढुंगाना, झरना थापालगायतका कलाकारले पनि अभिनय गर्नेर्छन् यस फिल्ममा । प्रशान्तले अभिनय गर्ने यस फिल्ममा गायक रहेका छन्- प्रशान्त र उदीतनारायण झा । विकास चौधरीले संगीत दिएको यस फिल्मको सुटिङ पहिल्यै गर्ने योजना भए पनि प्रशान्त र सोनी टेलिभिजनसँगको सम्झौता अवधि पूरा भइनसकेकाले माघबाट सुटिङ सुरु गर्न लागिएको हो । अत्याधुनिक प्रविधिको एचडिएक्स-वान क्यामेराले छायांकन गर्ने तयारी गरिएको यस फिल्ममा बाक्लो हिऊँ पर्दै गरेको सिन कैद गर्नुपर्ने भएकाले माघ महिनामै काम थाल्ने छायांकार विमल भट्टराई बताउँछन् । आफ्नो गायकीय शिल्पी प्रस्तुत गर्न थुप्रैपटक नेपाल आइसकेका प्रशान्तले आफ्नो संघर्षको कथामा आफै हिरो भई फिल्म खेल्न पाएकोमा प्रशन्न भएको बताएका छन् ।

एसिसी यु-१९ वमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली महिला क्रिकेट टोली एसिसी यु-१९ वमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत सोमबार चियाङ मई जिमखाना क्रिकेट मैदानमा भएको सेमिफाइनलमा आयोजक थाइल्यान्डलाई ८३ रनले पराजित गर्दै नेपाल फाइनल पुगेको हो । नेपाली किशोरीको टोलीले मलेसियाविरुद्ध मंगलबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । सोमबार नै भएको अर्को सेमिफाइनलमा मलेसियाले हङकङलाई दुई रनले पराजित गरेको थियो । टस जितेको थाइल्यान्डले निम्तो दिएपछि नेपालले पहिले ब्याटिङ गर्‍यो । टोलीकी तृष्णा सिंहले ३३ रनको योगदान दिएपछि निर्धारित २५ ओभरमा नेपालले १ सय ३२ रनको योगफल तयार गर्‍यो । सो योगफल तयार गर्दा नेपालले आठ विकेेटको क्षति व्यहोरेको थियो । प्रत्युत्तरमा आएको थाइल्यान्ड १५ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाई ४९ रनमा समेटियो । थाइल्यान्डलाई थोरै रनमा समेट्ने क्रममा नेपाली किशोरीले घातक बलिङको नमुना देखाएका थिए । जसमा रेखा रावल र केशरी चौधरीले तीन-तीन, सीता मगरले दुई र सोनु खड्काले एक विकेट लिए । थाइल्यान्डलाई सानदार रूपमा पराजित गरे पनि नेपालको सुरुवात भने गतिलो थिएन । टोलीले १४ रन बनाउँदा दुई विकेट गुमाइसकेको थियो । ओपनरद्वय माया रावत-२) र सरिता मगर-२) फितलो देखिए । यद्यपि, माया रावत प्रतियोगिताका खेलमा सय रन पूरा गर्ने तीनमध्येकी एक खेलाडी हुन् । तेस्रो क्रममा ब्याटिङमा आएकी तृष्णाले क्रिजमा टिक्दै जितको आधार तयार गरेकी थिइन् । ६२ बल सामना गरेकी तृष्णाले दुई चौका प्रहार गरिन् । उनको अभियानमा विनु मगर-२३)ले गतिलो साथ दिइन् । ३२ बल सामना गरेकी मगरले दुई चौका प्रहार गर्न भ्याइन् । यसबाहेक टोलीका लागि सीता मगर-१४)ले उल्लेखनीय योगदान दिइन् । निर्धारित ओभर सकिँदा रेखा रावल ६ रनमा र रोसनी बोहरा १ रनमा अविजित थिए । कप्तान नेरी थापाले भने दुई रन जोडिन् । थाइल्यान्डकी बलर पिराओर्न कमला बलिङमा खतरनाक देखिइन् । नेपालकी प्लेयर अफ द म्याच तृष्णालगायत उनले चार विकेट लिइन् । थाइल्यान्डको ब्याटिङमा दोहोरो अंकको रन जोड्ने कुनै खेलाडी भएन । सर्वाधिक रन जोड्नेमा पुण्डारिका प्राथान्नमिर-८) र नारिवेल चाइवाई-७)मात्र थिए ।

जनतान्त्रिकको वार्ताटोली सार्वजनिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तराईमा सशस्त्र संघर्षरत संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाका तीनजना प्रमुख नेता सोमबार जनकपुरमा सार्वजनिक भएका छन् ।सरकारसित वार्ता गर्न मोर्चाद्वारा गठित टोलीका संयोजकसहित तीनजना सदस्य सार्वजनिक भएका हुन् ।नेपाल-भारत सीमा क्षेत्र महोत्तरीको भिठामोडबाट स्थानीय प्रशासनको गाडी चढेर जनकपुर आएका मोर्चाका केन्द्रीय प्रवक्ता एवं वार्ताटोलीका संयोजक सञ्जय गुप्ता उर्फ कौटिल्य शर्मा, केन्द्रीय सदस्य रविदत्त मिश्रा र मोर्चाका वैकल्पिक केन्द्रीय सदस्य गुलाम सरवर शेख पत्रकार सम्मेलन गरी सार्वजनिक भएका हुन् ।धनुषाका प्रमुख जिल्ला अधिकारी शम्भु कोइराला र प्रहरी नायव उपरीक्षक यादवराज खनालको रोहवरमा जनकपुरस्थित अधिकृत संगममा उनीहरूले पत्रकार सम्मेलन गरेका थिए । वार्ताटोली संयोजक गुप्ताले सरकारका प्रतिनिधि र सरकारद्वारा नियुक्त सहजकर्ताबीच आन्तरिक छलफलपछि निकट भविष्यमा औपचारिक वार्ता थालिने बताए । वार्ता साकारात्मक हुने र सरकारले चाहेमा चाँडै देशमा शान्ति स्थापना हुने उनको दाबी छ ।आफ्ना न्यूनतम तीनवटा सर्त पूरा भएपछि वार्ता हुने उनले बताए । सरकार र मोर्चाबीच अन्तरक्रिया गर्ने, आफना कार्यकर्तालाई रिहाइ गर्ने र वार्ता जनकपुरमा गर्नुपर्ने मोर्चाका सर्त छन् । वार्तामा समावेश गरिने मुद्दाबारे बताउन नमानेका गुप्ताले वार्ताको तिथि निश्चित भइसकेपछि सोबारे जानकारी गराउने बताए ।

कांगेसद्वारा फेरि संसद् बहिष्कार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आफनो पार्टी राखेको नौबुँदे मागप्रति प्रधानमन्त्रीले प्रतिबद्धता व्यक्त गरे पनि पूरा नगरेको भन्दै नेपाली
काँग्रेसले आइतबारको व्यवस्थापिका-संसद्को बैठक बहिष्कार गरेको छ। प्रमुख प्रतिपक्षी दल कांगे्रसले प्रधानमन्त्रीद्वारा प्रतिबद्धता व्यक्त गरिएका आफना माग सुनुवाइ नभए संसद् बहिष्कार गरिरहने चेतावनी दिएको छ। काँग्रेसले यसअघि पनि सदन बहिष्कार गरेको थियो। काँग्रेसले आइतबारको बैठक बहिष्कार गरेपछि सभामुख सुवास नेम्वाङले बैठक स्थगित गर्नुभएको थियो। त्यसै गरी हालै गठित संवैधानिक समितिमा मुस्लिम समुदायको सहभागिता हुनुपर्ने माग गर्दै दलित जनजाति पार्टी कांगेसले सदन बहिष्कार गर्नुअघि केही बेर सदनको काममा अवरोध पुर्याएको थियो।