News

Jun 16, 2009

सामान्य कुकुरको पिछा गरेर अपराधी पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तालिमप्राप्त कुकुरको सहयोगमा अपराधी पक्राउ पर्नु सामान्य मानिन्छ, तर सुर्खेत प्रहरीले एउटा सामान्य कुकुरको पिछा गरेर हत्यामा संलग्न अभियुक्तलाई पक्राउ गरेको छ । जेठ १७ गते वीरेन्द्रनगर बसपार्कमा दैलेखवासीका डिलबहादुर नेपालीलाई आक्रमण गरी हत्या गर्ने गिरोहका तीन व्यक्तिलाई डुलुवा कुकुरको माध्यमबाट पक्राउ गरेको सुर्खेत प्रहरीले जनाएको छ । अभियुक्तहरू लाटीकोइली गाविस- ८ का जीवन भन्ने नीराजन बुढा, दिलीपसिंह ठकुरी र चक्रबहादुर रावललाई सोमबार जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरियो ।कार्यालयप्रमुख एसपी छविलाल जोशीका अनुसार भारतबाट काम गरेर सपरिवार घर फर्किने क्रममा १७ जेठ राति ११ बजे वीरेन्द्रनगर बसपार्कमा तीनजनाको समूहले नेपालीमाथि आक्रमण गरेको थियो । सो क्रममा आक्रमणकारीले एउटा कुकुर पनि सँगै ल्याएका थिए, जुन कुकुरलाई मृतक नेपालीकी श्रीमती सीताले याद गरेकी थिइन् । र, उनले आक्रमणकारीमध्येका एक रावलको अनुहार र हुलिया पनि राम्रोसँग सम्झेकी थिइन् । सीताको बयानको आधारमा प्रहरीले सम्भावित कुकुर र अभियुक्तको खोजी गरेको थियो । 'त्यही क्रममा हामीले एउटा आपराधिक समूहका व्यक्तिलाई समात्यौँ र उसले नै घटनाका सम्भावित अभियुक्तबारे सूचना दियो,' अनुसन्धान टोलीका प्रमुख प्रहरी निरीक्षक विष्णु सोतीले भने, 'लाटीकोइलीमा पैदल गस्ती गएका वेला सीताले भनेजस्तै कुकुर देख्यौँ र उसको पछिपछि लाग्दा अपराधमा संलग्न व्यक्तिलाई पक्राउ गर्न सफल भयौँ ।' २८ जेठ साँझ कुकुर गएको घर पत्ता लगाएको र सोही घरका व्यक्तिको सहयोगमा राति १० बजे अभियुक्तहरूलाई पक्राउ गरेको उनले बताए । कुकुर पसेको घरका व्यक्तिले सो कुकुर चक्रबहादुर रावल (घटनाका अभियुक्त) सँगै हिँड्ने गरेको जानकारी दिएका थिए । त्यही आधारमा रावल पक्राउ परेको सोतीको भनाइ छ । उनी पक्राउ परेको चार घन्टापछि राति दुई बजे अभियुक्तद्वय सिंह र बुढा पक्राउ परेका थिए । अहिले प्रहरीले तीनजनाविरुद्ध कर्तव्य ज्यानमुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको छ ।

फेटा बाँधेर हल्लाखल्ला गर्ने सांसद निलम्बित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
क्वालालम्पुर/ मलेसियाली संसद्ले पाँच विपक्षी सांसदलाई निलम्बन गरेको छ । सत्तारुढ गठबन्धनले उत्तरी राज्य पारेकलाई आफ्नो अधिनमा लिएको विरोधमा संसद्भित्र टाउकोमा फेटा बाँधेर हल्लाखल्ला गरेपछि उनीहरूलाई निलम्बन गरिएको हो । उत्तरी पारेक राज्यको नियन्त्रणको विषयलाई लिएर विपक्षी दल र प्रधानमन्त्री नजिव रजाकको गठबन्धन नेसनल पन्टबीच वैमनस्यता बढ्दै गएको छ । सत्तारुढ गठबन्धनले पारेक राज्यका थुप्रै विपक्षी प्रान्तीय विधायकलाई आफ्नो पक्षमा ल्याएका थिए । त्यसपछि सत्तारुढ गठबन्धनले फेब्रुअरीमा यो राज्यलाई आफ्नो नियन्त्रणमा लिएको थियो । विपक्षीद्वारा हटाइएका पारेकका पूर्वमुख्यमन्त्री मोहम्मद निजार जमालुद्दिनले सोमबार तल्लो सदनमा होहल्ला गर्न लगाएका थिए । उनले पारेकमा ताजा चुनाव हुनुपर्छ भन्ने माग लेखिएको फेटा लगाएर विरोधी विपक्षी सांसदहरूको नेतृत्व गरेका थिए । संसद् सभामुख अमिन मुलियाले आधा घन्टासम्मको होहल्लापछि निजार र अन्य चार विपक्षी सदस्यलाई सदन छाडी जान निर्देशन दिएका हुन् । त्यसपछि उनले ती पाँच सांसदलाई दुई दिनका लागि निलम्बन गरिएको घोषणा गरे ।

जनताले नचुनेका झन्डै ४० प्रतिशत मन्त्रीहरु सरकारमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असार २- गठबन्धन दलले संवैधानिक व्यवस्थाको 'गलत प्रयोग' गरेकाले सरकारमा गैरसांसद् मन्त्रीको ताँती नै लाग्ने भएको छ। जनप्रतिनिधिलाई मन्त्री नियुक्त गर्नुपर्ने संसदीय प्रणालीको उपहास गर्दै दलहरुले झन्डै ४० प्रतिशत मन्त्री व्यवस्थापिका संसद् सदस्य नरहेका व्यक्ति नियुक्त गर्ने निश्चित भएको छ। एमाले कांग्रेस र नेकपा माले ले प्रधानमन्त्री माधवकुमार नेपाललाई दिएको प्रस्तावित सूची तथा दस दिनअघि नियुक्त भइसकेकाको संख्या जोड्ने हो भने गैरसांसद मन्त्री नौ पुग्ने पक्कापक्की छ।मधेसी जनअधिकार फोरम तराई मधेस लोकतान्त्रिक पार्टी र सद्भावनाको सरकारमा पूर्ण सहभागितापछि गैरसांसद् मन्त्री संख्या दर्जन कट्ने ठोकुवा बालुवाटार स्रोतले गरेको छ।'पार्टीमा वर्चस्व कायम राख्न सांसद् नरहेका तर केन्द्रीय समितिमा रहेकालाई पनि मन्त्री दिनुपर्ने बाध्यता छ। त्यसैले एउटा बिनाविभागीय पनि चाहियो र हाम्रो भागमा परेको कृषि तथा सहकारी मन्त्रालय फुटाएर दुई मन्त्री नियुक्त गर्न पनि पाउनुपर् यो' सरकार विस्तार सम्बन्धी छलफलमा सहभागी एमालेका एक पदाधिकारीले फोरम नेता तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई उद्धृत गर्दै नागरिकसँग भने।नियुक्त भइसकेका दस मन्त्रीमा गैरसांसद्को संख्या तीन छ। प्रस्तावित मन्त्री र राज्यमन्त्रीमा गैरसांसद् छ छन्। एमालेबाट वरिष्ठ मन्त्री विद्या भण्डारी र सरकारमा कांग्रेसको नेतृत्व गर्ने सुजाता कोइराला दुवै निर्वाचनमा पराजित उम्मेदवार हुन्। प्रधानमन्त्री नेपालसमक्ष आइसकेको सूचीअनुसार एमालेका दुई मन्त्री तीन राज्यमन्त्री गरी पाँच र कांग्रेसका एक राज्यमन्त्री गैरसांसद् छन्। नेपाललाई प्रधानमन्त्री बनाउन सहयोग गरेका दलको सांसद् संख्या ३ सय ६० छ। प्रशस्त रोजाइको सम्भावना हुँदाहँ'दै दलको दबाबमा प्रधानमन्त्री बाहिरबाट मन्त्री नियुक्त गरिरहेका छन्।बाधा अड्काउ फुकाउन र विशेषज्ञ सेवा आवश्यक पर्दा गैरसांसद् पनि मन्त्री हुन पाउने संवैधानिक व्यवस्था राखिएको हो। त्यसको दुरुपयोग गरी मन्त्री नियुक्त गर्न थालिएको र त्यो प्रवृत्ति झन् मौलाएको भन्दै संविधानका ज्ञाताले आपत्ति जनाएका छन्। उनीहरुले यो सिलसिला तत्काल रोक्न मागसमेत गरेका छन्। अन्तरिम संविधान मस्यौदा समिति संयोजक लक्ष्मणप्रसाद अर्यालका अनुसार 'अपवादस्वरुप औषधीको रुपमा प्रयोग गर्न राखिएको प्रावधान दलहरुले दाल भातु ठानेका छन्। 'हामीले अहिले पनि संसदीय व्यवस्था अपनाएका छौं त्यसैले बाहिरबाट मनपरी मन्त्री नियुक्त गर्न पाइन्नु उनी भन्छन् 'यो संसद् र जनताको घोर अपमान हो।'संविधानको धारा ३८ ५ प्रधानमन्त्रीले सम्बन्धित दलको सिफारिसमा व्यवस्थापिका संसद्को सदस्यमध्येबाट मन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ। धारा ४० ले 'प्रधानमन्त्रीले राजनीतिक सहमतिको आधारमा व्यवस्थापिका संसद्को सदस्य नभएको कुनै व्यक्तिलाई उपप्रधानमन्त्री मन्त्री राज्यमन्त्री वा सहायकमन्त्री पदमा नियुक्त गर्न सक्ने' बाटो खोलिदिएको छ।'राजनीतिक सहमति' भनेको के हो भन्ने व्याख्या नै नगरी दलका नेताले दिएको सूचीका आधारमा गैरसांसद् मन्त्री नियुक्त भइरहेका छन्। पूर्वसांसद् तथा मस्यौदा समिति सदस्य हरिहर दाहालका अनुसार विभिन्न द्वन्द्वरत समूहलाई संविधान निर्माणका क्रममा सरकारमा सामेल गर्न आवश्यक परे बाटो नछेकियोस् भनी गैरसांसद् मन्त्री वन्न पाउने प्रावधान राखिएको हो। 'ज्यादै जरुरी पर् यो भने प्रयोग गर्ने भनेर इमर्जेन्सी ढोका राखेको हॊ' संवैधानिक कानुनका जानकार दाहालले भने 'संसद सदस्य नभएकालाई ह्वारह्वार्ती सरकारमा प्रवेश गराउने मनशाय हुँदै होइन।' अझ उक्त धाराको आडमा निर्वाचनमा पराजितलाई मन्त्री नियुक्त गर्नु संविधानमाथि बलात्कार भएको आरोप उनले लगाएका छन्।
अन्तरिम संविधान जारी भएपछि तीनवटै सरकारमा गैरसांसद् मन्त्री भएको नजिर पेस गर्दै अवैधानिक नभएको स्पष्टीकरण नेताले दिएका छन्। 'मन्त्री हुन सामान्यतयाः निर्वाचित हुनुपर्छ तर बाहिरियालाई पनि संविधानले अनुमति दिएको छु एमाले महासचिव ईश्वर पोखरेलले भने। यस्तो नियुक्ति अवैधानिक नभए पनि राजनीतिक र नैतिक रुपमा भने होसियार हुनुपर्ने विषय भएको धारणा उनले व्यक्त गरेका छन्। 'मन्त्री नियुक्ति र सिफारिशको स्थिति हेर्दा त्यसरी नरोजिनुपथ्र्यो भन्ने कुरा जायजै हो' उनले भने 'यस विषयमा छलफल गर्नुपर्ने बेला आएको छ।'अहिलेको मन्त्रीको सूची हेर्ने हो भने एमाले अत्यधिक संख्यामा गैरसांसद् नियुक्त गर्ने तरखरमा छ। एमालेको रोजाइमा किन गैरसांसद् पर्ने गरेका हुन पोखरेल भन्छन् 'एमालेमा मन्त्री हुन लायक धेरै बाहिरै छुटेकाले त्यसो गर्नुपरेको हो भनेर बुझ्नुपर्ला।'अहिले र पहिला पनि साना वामले मन्त्रीको कोटामा सतप्रतिशत गैरसांसद्लाई मौका दिने गरेका छन्। नेकपा मालेको उदाहरण लिने हो भने गिरिजाप्रसाद कोइरालाको सरकारमा पनि उसले गैरसांसद् जगतप्रसाद बोगटीलाई पठाएको थियो। अहिलेपनि मालेका सात सांसद्लाई छाडेर मन्त्रीमा पार्टीले डम्मरबहादुर श्रेष्ठलाई सरकारमा पठाएको छ।अन्तरिम संविधान जारी भएपछि २०६३ चैत १८ मा बनेको कोइराला सरकारले तत्कालीन जनमोर्चालाई मन्त्रीको दुई कोटा दिएको थियो। कोटा अनुसार नियुक्त स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल र राज्यमन्त्री शशि श्रेष्ठ दुवै गैरसांसद् थिए।

अर्को एउटा मन्त्रालय पनि टुक्राउन सहमत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असार २ मन्त्रालय बाँडफाँडमा सहमति हुन नसकिरहेको अवस्थामा सत्ता साझेदार पाँच दल अर्को एउटा मन्त्रालय पनि टुक्राउन सहमत भएका छन्। सोमबार निश्कर्षविहीन टुंगिएको पाँच दलको बैठकमा कृषि तथा सहकारी मन्त्रालयलाई टुक्र्याउने विषयमा छलफल भएको सहभागी एक नेताले बताए। यस विषयमा मंगलबार टुंगो लगाइनेछ। यसअघि जलस्रोत मन्त्रालयलाई ऊर्जा तथा सिंचाइ गरी दुई मन्त्रालयमा टुक्र्याइसकिएको छ। कृषि तथा सहकारी मन्त्रालयलाई कृषि मन्त्रालय र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा टुक्राइने भएको छ। बैठकमा सहभागी एक एमाले नेताका अनुसार मधेसी जनअधिकार फोरमलाई चार मन्त्री र चार राज्यमन्त्री दिने विषयमा छलफल भएको छ। तराई मधेस लोकतान्त्रिक पार्टीले पनि तीन वटा मन्त्रालय मागेको छ भने सदभावना पार्टीले दुई मन्त्रालयमा दावी गरेको छ। फोरमको गच्छदार पक्षले मन्त्रीको नाम पनि टुंगो लागेको छ। फोरम स्रोतका अनुसार सरत् सिंह भण्डारी, जितेन्द्र देव, उपेन्द्र झा र रामेश्वर राय मन्त्री बन्नेछन्।

राजेन्द्र फुयालको मृत्यु विषसेवनबाट मुत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असार २- माओवादी काठमाडौं जिल्ला सदस्य राजेन्द्र फुयालको मृत्यु विषसेवनबाट भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ। शिक्षण अस्पतालमा भएको पोस्टमार्टमबाट उनको पेटमा अत्यधिक मात्रामा 'ओर्गानो फस्फेट' वर्गको कीटनाशक औषधी फेला परेको चिकित्सकहरुले बताएका छन्।पोस्टमार्टममा संलग्न चिकित्सकहरुले प्रारम्भिक रिपोर्टबाट फुयालको मुत्यु विषादी खाएर भएको देखिएको बताएका छन्। यसलाई विधिविधान प्रयोगशाला वा प्रहरी ल्याबमा पुनः परीक्षण गरेपछि अन्तिम निष्कर्ष मानिने उनीहरुले बताए।माओवादीको युवा दस्ता योङ कम्युनिस्ट लिग वाइसिएल ले उनको हत्या भएको जनाउँदै विरोधमा सोमबार उपत्यका बन्द गरेको थियो। माओवादीले अस्पतालको पोस्टमार्टम रिपोर्ट गलत भएको उल्लेख गर्दै फुयाल आफैंले विष खाएको नभएर उनलाई अरु कसैले खुवाएको दाबी गरेको छ। तर विधिविज्ञान प्रयोगशालाका चिकित्सकहरुले भने 'यति ठूलो मात्रामा विषादी अरुले खुवाउन सम्भव नै छैन आफैंले खानुपर्छ।'माओवादीले फुयालको फेरि पोस्टमार्टम गर्न अस्पताललाई दबाब दिएको छ। यसबारे अस्पतालले भनेको छ 'चित्त नबुझेको भए फेरि दोहोर् याएर गरिदिउँला।'
यद्यपि सोमबार रातिसम्म दोहोर् याएर उनको पोस्टमार्टम गरिएको छैन।काठमाडौं धर्मस्थली गाविसको भंगेरीटारमा गत जेठ २८ गते फुयाल अचेत अवस्थामा फेला परेपछि प्रहरीले उद्धार गरेको थियो। स्थानीयबासीले सनाखत गर्न नसकेका फुयालको उपचारका लागि वीर अस्पताल ल्याउने क्रममा निधन भएको थियो। पोस्टमार्टमका लागि शिक्षण अस्पताल लैजाँदा मात्र माओवादी जिल्ला सदस्य फुयालको परिचय खुलेको थियो।काठमाडौं काभ्रेस्थलीका ३७ वर्षीय फुयालको हत्या भएको दाबी गर्दै वाइसिएलले सोमबार गरेको उपत्यका बन्दले सर्वसाधारणको बिजोग भएको थियो। फुयालको मृत्यु विषसेवनबाट भएको पोस्टमार्टम रिपोर्टमा देखिए पनि शिक्षण अस्पतालले यसबारे सार्वजनिक गरेको छैन। अस्पतालका निर्देशक डा। केशव िसंहसँग सोमबार रिपोर्टबारे जानकारी माग्दा उनी पन्छिए। 'मैले यो बारेमा तपाईलाई किन भन्ने ' उनले भने 'यो कुरा बाहिर पठाउन मिल्दैन।'सार्वजनिक महत्वका घटनामा उच्चस्तरीय समिति बनेको भए समितिलाई प्रतिवेदन बुझाउनु पर्ने नत्र अस्पतालले नै यसबारे रिपोर्ट सार्वजनिक गर्दै आएका छन्।

कांग्रेसले फोरमलाई गृहमन्त्रालय दिन सुझाव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असार २ सत्ता साझेदार दललाई मन्त्रालय भागबण्डा लगाउने प्रक्रियामा प्रधानमन्त्री माधवकुमार नेपाल अप्ठ्यारोमा परेका छन्। कांग्रेसले फोरमलाई गृहमन्त्रालय दिन सुझाव दिएको छ भने एमालेभित्रबाट गृहमन्त्रालय आफैँ राख्नुपर्ने दबाव प्रधानमन्त्रीमाथि परेको छ।एमालेभित्र पनि अध्यक्ष झलनाथ खनाल र केपी ओलीको समूहलाई रिझाउनुपर्ने बाध्यता प्रधानमन्त्रीलाई छ। पार्टीभित्रबाट गृहमन्त्रालय नछाड्न दबाव परिरहँदा सरकार टिकाउन मधेसवादी दललाई जसरी पनि खुशी पार्नुपर्ने बाध्यता छ। २२ दलको सहमतिमा बनेको सरकारका लागि मधेसवादी दलहरु निर्णायक शक्ति हुन्।तर मधेसवादी दलहरुले गृहमन्त्रालय आफूले पाउनुपर्ने माग नछाडेपछि आजसम्मका बैठकहरु निष्कर्षमा पुग्न सकेका छैनन्। मन्त्रालयको भागबण्डा मिलाउन सत्ता साझेदार दलहरुको बैठक मंगलबार पनि हुँदैछ। दिउँसो एक बजेदेखि सुरु हुने बैठकमा नेपाली कांग्रेस एमाले फोरमको गच्छदार समूह तराई मधेस लोकतान्त्रिक पार्टी र सद्भावना सहभागी हुनेछन्।यो बैठकमा पुरानै गुनासा र मागहरु उठ्ने अनुमान गरेका प्रधानमन्त्रीले आफ्नो पार्टीका नेताहरुसँग मंगलबार बिहान छलफल गरेका छन्। पाँच दलको बैठक सकिएपछि प्रधानमन्त्रीले नेपाली कांग्रेसका नेताहरुसँग छलफल गर्नेछन्।कांग्रेसले यसअघि नै गृहमन्त्रालयको जिम्मेवारी फोरमलाई दिनुपर्ने धारणा अघि सारिसकेको छ। अब यो विषयलाई टुंगो लगाउन एमालेभित्रको सहमतिले निर्णायक भूमिका निर्वाह गर्नेछ।दलीय सहमति नजुट्दा सरकार गठन भएको झन्डै एक महिना बितिसक्दा पनि पूर्णता पाउन सकेको छैन।

गच्छदार पक्षका तीन सभासदमाथि सार्वजनिक मुद्दा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पर्सा, असार २ - मधेसी जनअधिकार फोरम संस्थापन पक्षले जिल्ला प्रहरी कार्यालय पर्सामा तीन सभासद
बिरुद्ध सार्वजनिक मुद्दा दायर गरेको छ । संस्थापन पक्षले जेठ २७ गते वीरगन्जको सम्झना होटेलमा फोरम संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठक जारी रहेको अवस्थामा बैठक स्थलमा केन्द्रीय नेताहरुलाई आक्रमण गर्न खोजेको भन्दै सभासद करिमा बेगम, दुर्गादेबी महतो र कलावती पासवान लगायतका अन्य कार्यकर्तामाथि सार्वजनिक अपराधको जाहेरी दर्ता गराएको हो । मुद्दामा फोरम पर्साका जिल्ला उपाध्यक्ष बीरेन्द्र यादव र सहसचिव रबिन्द्र श्रीवास्तवलाई पनि बिपक्षी बनाईएको छ । बैठकस्थलमा दुबै पक्षबीच भएको झडपको विषलाई लिएर गच्छेदार समूहले संस्थापन पक्षका पर्सा जिल्ला अध्यक्ष शशिकपुर मिया समेत १८ नेता तथा कार्यकर्तामाथि जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक अपराधको जाहेरी दर्ता गराएको छ । यादव पक्षीय फोरमका जिल्ला अध्यक्ष शशिकपुर मियाँ, साबिरनाथ पाण्डे, नुर आलम, नासिर अन्सारी, साहिद अलि, तुफान अन्सारी, नेहाल खान, मोहन तुराह, र फिरोज मन्सुरमाथि सभासद करिमा बेगमले मुद्दा दर्ता गराएकी थिईन । यसैगरी अजय चौरसिया, प्रदीप यादव, संदीप यादव, मनोज कलवार, मिनु सिंह, सुनिता साह, उमेश सहनी र योगेन्द्र यादव बिरुद्ध पनि मुद्दा दर्ता परेकोे जिल्ला प्रहरी कार्यालय स्रोतले बताएको छ । दुबै समूहले आफूहरुले सार्वजनिक अपराधको किटानी जाहेरी सहितको मुद्दा हाली सकेका व्यक्तिहरुलाई पर्सा प्रहरीले पक्राउ नगरी आरोपिहरु खुलेआम घुमीरहेकाले प्रहरीको उक्त कदमको भत्र्सना गरेका छन् । संस्थापन पक्षका अध्यक्ष शशिकपुर मिया र गच्छेदार पक्षका वीरेन्द्र यादबले यसरी प्रहरीको आलोचना गरेका हुन् ।
यादब यसअघि संस्थापन पक्षमा जिल्ला कार्य समिति उपाध्यक्ष थिए । दुबै समूहका कुनै पनि कार्यकर्तालाई पक्राउ गरे तत्कालै कडा बिरोध र बन्द, हडताल लगायतका प्रदर्शन सुरु हुने भएकाले पर्सा प्रहरीले उनीहरुलाई पक्राउ गर्ने हिम्मत नगरको स्रोतको भनाई छ । आरोपित सभासदहरुले घटनाकै दिन पत्रकार सम्मेलन गरी आफूहरु उपर हातपात गर्ने व्यक्तिलाई कानुनी कारवाहीको दायरामा नल्याए सडकदेखि सदनसम्म ठूलो संघर्ष गर्ने घोषणा गरेका थिए ।

माओवादीले साशकीय स्वरुप र निर्वाचन प्रणालीबारे छलफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असार २ - एकीकृत माओवादीले नयाँ संविधानमा समेट्नुपर्ने साशकीय स्वरुप र निर्वाचन प्रणालीबारे छलफल सुरु गरेको छ ।मंगलबार निर्वाचनबिज्ञ र बुद्धिजीवीसँगको छलफलमा माओवादीले निर्वाचन प्रणाली पूर्ण समानुपातिक र कार्यकारी अधिकार सहितको राष्ट्रपतीय पद्धतिमा जोड दिएको छ । अन्य दल साशकीय स्वरुप र निर्वाचन प्रणालीबारे मौन रहेका बेला माओवादीले छलफल सुरु गरेको हो । माओवादी नेताको जिज्ञासामा आफूहरुले मुलुक संघीयतामा गएपछि एउटै निर्वाचन प्रणाली अंगाल्दा मतदातामा भ्रम श्रृजना हुने भएकाले प्रादेशिक सूची समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने सुझाव दिइएको छलफलमा सहभागी बुद्धिजीवी श्याम श्रेष्ठले जानकारी दिए ।उनले बहुक्षेत्र घोषणा गरेर केन्द्र, प्रदेश र स्थानीय तहमा छुट्टा-छुट्टै निर्वाचन प्रणाली अपनाउनुपर्ने राय दिएको बताए ।साशकीय स्वरुप अन्तर्गत कार्यकारी राष्ट्रपतिको व्यवस्था भए राष्ट्रपतिको निर्वाचन प्रत्यक्ष रुपमा गर्नुपर्ने र प्रादेशिक सभाले राष्ट्रपतिलाई मत दिन पाउनुपर्ने व्यवस्था हुनुपर्नेमा बिज्ञको जोड थियो ।छलफलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता डा.बावुराम भट्टराई, कृष्णबहादुर महरा, पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, निर्वाचन बिज्ञ डा.विरेन्द्रप्रसाद मिश्र लगायतका बिज्ञहरुको सहभागीता थियो ।संविधानभा अन्तर्गत राज्यको साशकीय स्वरुप निर्धारण समितिमा पनि यो बिषयमा दलहरुको मतऐक्यता हुन नसकेपछि समितिले मस्यौदा प्रतिवेदन बुझाउन सकेको छैन् ।

प्रधानमन्त्रीले केही मन्त्रीको जिम्मेवारी हेरफेर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असार २ प्रधानमन्त्री माधवकुमार नेपालले यसअघि निश्चित भइसकेका केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । जसअनुसार एमालेका रकम चेम्जोङलाई दिने सहमति भएको सामान्य प्रशासन मन्त्रालय एमालेकै प्रभाकर प्रधानाङ्ग (रवीन्द्र श्रेष्ठ) ले पाउने भएका छन् भने उनलाई दिइएको शान्ति तथा पुनर्निर्माण मन्त्रालय चेम्जोङले पाउने भएका छन्। यसैगरी मालेबाट मन्त्री बनेका डम्बर श्रेष्ठले भूमिसुधार तथा व्यवस्था मन्त्रालय पाउने भएका छन्। उनी विना विभागीय मन्त्री थिए। यही पार्टीका मानबहादुर शाहीलाई भूमिसुधार राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। यसैबीच तय भइसकेका मन्त्रीहरुलाई आजै शपथ खुवाइने भएको छ । सरकारमा सहभागिताबारे मधेशी दलहरुको बैठक बसिरहेको छ। उनीहरुले सहमति जनाए पनि वा जनाए पनि आज शपथ गराउने कार्यक्रम तय भइसकेको स्रोतले जानकारी दियो।

Jun 15, 2009

मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद्को विस्तारित बैठक सम्पन्न

जेठ २७, २०६६(विजयपुर, धरान) लिम्बुवान/डी. बी. आङबुङ
लिम्बुवान नेपालमा संघीयता र जातीय स्वायत्तताका लागि विगतदेखि आन्दोलनरत् राजनीतिक संगठन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद्को दोस्रो ऐतिहासिक राष्ट्रिय सम्मेलनपछिको प्रथम विस्तारित बैठक लिम्बुवानको विजयपुर धरान-हरियाली सामुदायिक भवन)मा विभिन्न समसामयिक एवम् महत्वपूर्ण निर्णयहरू गर्दै सम्पन्न भएको छ ।विस्तारित बैठक उद्घाटन-सत्रको प्रमुख अतिथिमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कार्यकारी अध्यक्ष लक्ष्मण थारु, र अथितिहरुमा मञ्चका अध्यक्ष मण्डल सदस्य, भूतपूर्व कार्यकारी अध्यक्ष तथा तामाङसालीङ स्वायत्त राज्य परिषदका अध्यक्ष डी. के. बुद्धिष्ट तामाङ, मञ्चका अध्यक्ष मण्डल सदस्य तथा खम्बुवान स्वायत्त राज्य परिषद्का अध्यक्ष इन्द्रहाङ खम्बू, अध्यक्ष मण्डल सदस्य विष्णु तुम्बाहाम्फे र मञ्चका कार्यबाहक महासचिव खगेन्द्र माखिम रहेका थिए ।विस्तारित बैठकको उद्घाटन सत्रको उद्घाटन प्रमुख अतिथि लक्ष्मण थारुले पानसमा द्वीप प्रज्वलन गरेर गर्नुभएको थियो । यही उद्घाटन सत्रमा नै मञ्चका भूतपूर्व अध्यक्ष डी. के. बुद्धिष्ट तामाङलाई लिम्बुवानको तर्फाट विदाई तथा धन्यवाद र नव स्थापित अध्यक्ष लक्ष्मण थारुलाई स्वागत तथा बधाई ज्ञापन गर्ने कार्यक्रम समेत सम्पन्न भयो ।बैठकमा लिम्बुवानका ९ वटै जिल्लाका जिल्ला अध्यक्षहरुले जिल्लाको प्रगति प्रतिवेदनका साथ प्रस्ताव र सुझावहरु पेश गरेका थिए । त्यसैगरी, जनसंगठनहरु संघीय विद्यार्थी, युनियन लिम्बुवान रज्य समिति; संघीय लिम्बुवान पत्रकार परिषद, संघीय लिम्बुवान महिला परिषद्, लिम्बुवान भोल्युण्टियर्सलगायतको तर्फाट सांगठानिक प्रतिवेदन तथा अवधारणा पत्र पेश गरिएको थियो । साथमा, अध्यक्ष कुमार लिङदेन 'मिराक' बाट संघीय लिम्बुवान राज्य परिषद्को समग्रमा सांगठानिक प्रतिवेदन तथा बैठकका लागि प्रस्तावहरु प्रस्तुत गरिएको थियो ।संघीय लिम्बुवान महिला परिषद लागि निर्मला लिम्बू र महिला विभागको तर्फाट शान्ता योङहाङद्वारा प्रस्तुत गरिएको प्रतिवेदन तथा अवधारण पत्रलाई विस्तारित बैठकले अत्यन्तै सकारात्मक रुपमा लिँदै सो प्रतिवेदनमा आएका नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने गरी निम्नानुसारको संघीय लिम्बुवान महिला परिषद् केन्द्रीय संयोजन समितिको गठन गरिएको छ ।
१. संयोजकः निर्मला लिम्बू, ताप्लिजोङ
२. सह संयोजकः सुनिता केरुङ, पान्थर
३. सदस्यः सेमिमा लिम्बू, उपत्यका केन्द्रीय
४. सदस्यः सविता पङ्धाक, उपत्यका, केन्द्रीय पार्षद
५. चन्द्रा नेम्बाङ, झापा, के. स.
६. उमा कुरुम्बाङ, मोरङ, जिल्ला सदस्य
७. निर्मला लिम्बू, इलाम, जिल्ला सदस्य
८. सर कुमारी र्राई, धनकुटा, जिल्ला सदस्य
९. उमाकला लिम्बू, संखुवासभा, जिल्ला सदस्य
१०. इन्दिरा मेन्याङ्बो, ताप्लिजोङ, जिल्ला सदस्य
११. गीता र्राई, इलाम, जिल्ला सदस्य
१२. श्रीमती सावित्रा लिम्बू, सुनसरी
१३. सुस्मा लिम्बू, पान्थर, के. पार्षद
त्यसैगरी, पत्रकार परिषदबारे दिल कुमार लावतीद्वारा पेश गरिएको प्रतिवेदन तथा अवधारणा पत्र अनुसार निम्नानुसारको संघीय लिम्बुवान पत्रकार परिषद केन्द्रीय संयोजन समिति समेतलाई पूर्णता दिइएको छ ।
१. अध्यक्षः दिलकुमार लावती
२. उपाध्यक्षः गणेश खम्बू
३. सदस्य सचिवः निङ्लाहाङ याक्खा
४. सदस्यः अजित धिमाल
५. सदस्यः देबु गड्सन
६. सदस्यः याम माबुहाङ
७. सदस्यः सुशिल र्राई
८. सदस्यः इन्दिरा मेन्याङ्बो
९. सदस्यः चन्द्रसिङ् नेम्बाङ्
१०. सदस्यः निरज लिबाङ
११. सदस्यः राम लावती
१२. सदस्यः निश्चल चेम्जोङ
१३. सदस्यः मैतु आठपहरिया
१४. सदस्यः मनु याक्थुम्बा
१५. सदस्यः विचारसिङ् लावती
त्यसरी नै, संघीय लिम्बुवान शिक्षक परिषद गठन सम्बन्धमा छलफल गर्दा मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषदको विधान अनुसार निम्नानुसारको संघीय लिम्बुवान शिक्षक परिषद केन्द्रीय संयोजन समितिको गठन गरिएको छ ।
१. संयोजकः भक्तिप्रसाद नेम्बाङ, पान्थर
२. सह संयोजकः रामप्रसाद सुहाङ, झापा
३. सचिवः नरेन्द्र केरुङ, पान्थर
४. सह सचिवः जय लिङदेन, पान्थर
५. कोषाध्यक्षः सुन्दर लावती, इलाम
६. सदस्यः सुवर्ण घिसिङ, सुनसरी
७. सदस्यः हिमाल श्रेष्ठ, ताप्लिजोङ
८. सदस्यः चन्द्र सङमी, मोरङ
९.सदस्यः देवेन्द्र लिम्बू, संखुवासभा
१०. सदस्यः हेमकुमार आङ्ला, धनुकुटा
११. सदस्यः एम. बी. माखिम,
पान्थरसंघीय लिम्बुवान तुम्याहाङ परिषदको गठन सम्बन्धमा छलफल गर्दा परिषदको विधान अनुसार निम्नानुसारको संघीय लिम्बुवान शिक्षक परिषद केन्द्रीय संयोजन समितिको गठन गरिएको छ ।
१. संयोजकः डी.बी. खुदाङ, ताप्लिजोङ
२. विष्णु यक्सो, ललितपुर
३. लोकेन्द्र तिगेला, धनकुटा
४. पूर्णबहादुर इङनाम, झापा
५. इन्द्रबहादुर थेबे, ताप्लिजोङ
६. लक्ष्मीप्रसाद यक्पाङदेन, पान्थर
७. प्रेम लावती, इलाम पशुपतिनगर
८. रामहर्क र्राई, मोरङ
त्यसैगरी, संघीय लिम्बुवान खेलकुद परिषद केन्द्रीय संयोजन समितिमा संयोजकः यलम्बर खम्बू र सह संयोजकमा सुन्दर लिम्बू; संघीय लिम्बुवान स्वास्थ्यकर्मी परिषद केन्द्रीय संयोजन समितिमा संयोजकः दिलकुमार फोम्बो, सुनसरी; संघीय लिम्बुवान जातीय समन्वय परिषद्को केन्द्रीय संयोजन समितिमा संयोजकः डम्बर राइ केन्द्रीय सदस्य; परिषदका केन्द्रीय सदस्य तेन्धङहाङ मिभकको संयोजकतत्वमा संघीय लिम्बुवान मजदुर परिषद केन्द्रीय संयोजन समितिको गठन गरिएको छ भने संघीय लिम्बुवान उद्योग वाणिज्य परिषदका लागि परिषदका केन्द्रीय सदस्य हरि श्रेष्ठको संयोजकत्वमा संयोजन समिमिको गठन गरिएको छ ।एल. भी. केन्द्रीय कमाण्डर फक्ताङलुङ योङहाङद्वारा प्रस्तुत गरिएको प्रस्ताव र परिषदको विधान अनुसार निम्न बमोजिमका कमाण्ड र कमाण्डरहरुको गठन गरिएको छ ।
एल. भी. केन्द्रीय कमाण्ड
१. केन्द्रीय कमाण्डर फक्ताङलुङ योङहाङ
२. केन्द्रीय सहकमाण्डरः मुक्कुम नेम्बाङ
३. केन्द्रीय सहकमाण्डरः प्रेमदीप थाम्सुहाङ
केन्द्रीय उपकमाण्डरहरु
१. मिलन नाल्बो
२. गणेश आङदेम्बे
३. तुम्याहाङ नेम्बाङ
४. मुक्साम लाबुङ
५. जितेन्द धिमाल
६. जर्मन थेबे
७. मणि लिम्बू
८. प्रेम तुम्बापो
साथै, यसै प्रस्तावअर्न्तर्गत् एलभी प्रवत्ता, एलभी कमिसार र स्वायत्त परिषदअर्न्तर्गत् गठन गरिने एल भीहरु बारे र सुरक्षा परिषद बारे स्पष्ट उल्लेख रहने गरी यथासीघ्र यस सम्बन्धी विनियम जारि गर्ने निर्णय गरिएको छ । संघीय लिम्बुवान राज्य परिषद केन्द्रीय समितिको तर्फाट लिम्बुवानका सबै जिल्लाहरुमा संगठन विस्तार, प्रशिक्षण, अनुशासन, आचारसंहिता र राजनीतिक अनुगमन गर्नका लागि टोलीहरु निर्माण गरी खटाइएको छ ।यही विस्तारित बैठकबाट संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका लिम्बुवानको तर्फाट प्रतिधित्व गरिरहेका तर लिम्बुवानको केन्द्रीय समितिमा नरहेका अध्यक्ष मण्डल सदस्य विष्णु तुम्बाहाङफे, कार्यवाहक महाससचिव खगेन्द्र माखिम र संघीय सदस्य विवश हेल्लोकलाई संघीय लिम्बुवान राज्य परिषदको केन्द्रीय सदस्यसमेत रहने गरी मञ्चको मञ्चमा प्रतिनिधित्व गराइएको छ । संघीय लिम्बुवान राज्य परिषदमा पुर्‍याउँदै आएको योगदानलाई मध्यनजर गरी परिषदको विधान अनुसार क्याप्टेन शिवकुमार पङगेनहाङ, सविता पङ्धाक, शान्ता राई, दलप्रसाद थाम्सुहाङ, सुकबहादुर थेगिम, ताराहाङ पङधाक, लिचन थेबे र चन्द्रगोपाल चेम्जोङलाई परिषदको राष्ट्रिय पार्ष सदस्यमा मनोनय गरिएको छ ।मञ्चका सचिवालय सदस्य बुद्धछिरिङ मोक्तानले बैठकमा एक राजनीतिक तथा दार्शनिक अवधारणा पत्र पेश गर्नुभएको थिये । यसलाई थप बहस र छलफलका लागि लिम्बुवाका ९ वटै जिल्लामा लैजाने निर्णय गरिएको छ । आर्थिक पारदर्शिताका लागि विभिन्न निर्णय र आचारसंहिता तय गर्दै यो बैठकभन्दा अगाडि वितरण गरिएका सबै आर्थिक सहयोग रसिदलाई बदर र प्रयोगका लागि निषेध गरी नयाँ वैज्ञानिक व्यवहारिक किसिम्को रसिद वितरण गरिएको छ । साथै, आर्थिक अनुशासनको लागि केन्द्रमा एउटा कालो खाता राखिने र आर्थिक हिनामिना भएको पुष्टि भएमा जुनसुकै स्तरको नेता कार्यकर्ताको नाम चढाइने, उक्त कालो खातामा सूचीकृत व्यक्तिहरुलाई मञ्चसम्वद्ध परिषदको सम्मेलन र अधिवेशनमा उम्मेदवारको लागि अयोग्य ठहरिने निर्णय गरिएको छ ।परिषदको उपत्यका समिति गठन गर्ने बारे छलफल गर्दा उपत्यकामा ३ वटा जिल्लामा लिम्बुवानवासीहरुको बसोबासलाई मध्यनजर गर्दै उपत्यकास्तरीय संगठन निर्माण गर्ने निर्णय गरिएको छ । र, यसको सांगठाकि हैसियत बारे सचिवालयले निर्णय गर्ने निर्णय गरिएको छ ।आगामी आन्दोलनको रणनीति बारे छलफल गर्दा 'भदौदेअि सुरु हुने निर्णायक लिम्बुवानी आन्दोलनको तयारीमा जुटौं' भन्ने नाराका साथ तयारीमा जुट्ने निर्णय गरिएको छ । उक्त निर्णायक संघर्षका लागि परिषद आन्तरिक सशक्त तयारीमा रहने सोही अनुसार जिल्ला संगठन र भातृ संगठनलाई पनि सशक्त तयारीमा राख्ने, निर्णायक आन्दोलनका लागि लिम्बुवान स्तरीय लिम्बुवानी मोर्चावन्दीलाई थप व्यापक गर्दै लैजाने, राष्ट्रिय मुक्ति आन्दोलनका लागि नेपालका सबै जातीय, भाषिक संघीयतावादीहरुबीच वृहत् मोर्चावन्दीको तयारीमा जुट्ने निर्णय गरिएको छ ।मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषदले सेनापति सम्बन्धी राष्ट्रपतिले लिएको कदम असंवैधानिक कदम हो भन्ने ठहर गरेको छ । यो परिषदले सरकार ढाल्ने र बनाउने अंकगणितीय खेलमा सामेल नहुने प्रष्ट गरेको छ । वर्तमान सरकार नेपालको र्सार्वभौमसत्ता र राष्ट्रिय अस्मितालाई दिउँसै कुल्चँदै विदेशीहरुको इसारामा बनेकोले त्यस्तो सरकारप्रति मञ्चसम्वद्ध परिषदको कुनै र्समर्थन नहुने निर्णय गरेको छ ।संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद एवम् लिम्बुवानवासीलाई धोका दिने सभासद राजकुमार लिम्बू(नाल्बो) सभासद पद रिक्त गराउने कानुनी प्रक्रिया सभामुखसमक्ष पेश गरि सकिएकोले तुरुन्त सो सभासद रिक्त गर भन्ने मागलाई पारित गरिएको छ ।हाल नेपालको सिमानामा भइरहेको भारतीय अतिक्रमणको मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषदको कडा विरोध गरेको छ । त्यसको विरुद्ध राज्यलाई तत्कालै साविक सीमा निर्धारण गर्ने पहल कदमी लिन आग्रह गरिएको छ ।विस्तारित बैठकको अन्तमा, परिषदका सक्रिय सदस्यहरुलाई क्रियाशील सदस्यता वितरण गर्दै परिषदको दोस्रो राष्ट्रिय सम्मेलन प्रस्तुत र पारित राजनीतिक प्रतिवेदको मुद्रित दस्तावेजहरु सबै जिल्ला र गाउँका लागि वितरण गरिएको थियो । साथै, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तर्फाट निर्माण गरिएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान र मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषदको तर्फाट निर्माण गरी संविधान सभा संवैधानिक समितिमा पेश गरिएको लिम्बुवान स्वायत्त राज्यको संविधानका मुद्रित दस्तावेजहरुसमेत सबै जिल्ला र गाउँकाल नेता कार्यकर्ता तथा र्सवसाधारण सबैका लागि वितरण गरिएको थियो । उक्त निर्णय र दस्तावेजहरु यही जेठ २९ गते दमक झापा लिम्बुवानमा परिषदको तर्फाट एक पत्रकार सम्मेलनको आयोजना गरी र्सार्वजनिक गरिएको छ ।

माओवादीको बन्दका कारण राजधानीको जनजीवन प्रभावित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असार १ - आफ्ना कार्यकर्ताको हत्या भएको भन्दै एकीकृत माओवादीले गरेको बन्दका कारण राजधानीको जनजीवन प्रभावित भएको छ । घटनाको विरोधमा माओवादी कार्यकर्ताले बिहानैदेखि राजधानीको कालीमाटी, कलंकी, कोटेश्वर, लैनचोर, चाबहील, बानेश्वर लगायतका स्थानमा सवारी आवागमन ठप्प पारेका छन् । बन्दका कारण भत्तपुर र ललितपुरमा पनि सवारी साधन चल्न नसकेको ट्राफिक प्रहरीले जनाएको छ । केही दिन अघि वेपत्ता भएका माओवादी काठमाडौ जिल्ला कमिटी सदस्य राजेन्द्र फुँयालको शव आइतबार शिक्षण अस्पतालमा भेटिएपछि माओवादीले आज बन्द आह्वान गरेको हो । यसैबीच माओवादी कार्यकर्ताको आक्रमणबाट एमाले कार्यकर्ता घाइतेभएपछि आइतबारदेखि तनावग्रस्त कालिकोट सदरमुकाम मान्ममा आज बिहानबाट माओवादी कार्यकर्ताले प्रदर्शन सुरु गरेका छन् । हिजो साँझबाट लगाइएको कर्फ्यू विहान ५ बजेबाट हटे लगत्तै माओवादी कार्यकर्ताहरु पुनः प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुले हिजो तोडफोड गरेको एमाले कार्यालयमा आज फेरि प्रवेश गरी बाँकी रहेका कागजात सडकमा फ्यालेका छन् । घटनाको विरोधमा आज बन्द आह्वान गरेका माओवादी कार्यकर्ताले मान्म बजारमा रड र लाठी सहित प्रदर्शन गरिरहेका छन् । बन्दले मान्मको जनजीवन प्रभावित भएको छ ।राष्ट्रपति विरुद्धको संकल्प प्रस्तावले सदनमा प्रवेश नपाएपछि आन्दोलनमा उत्रिएको माओवादीले आज सेती र महाकाली अंचलका ७ वटा पहाडी जिल्ला बन्द गराएको छ । केन्द्रको आह्वानमा माओवादी निकट सेती-महाकाली राष्ट्रिय मुक्ति मोर्चाले आज अछाम, डोटी, डडेलधुरा, बैतडी, बझाङ, बाजुरा र दार्चुला जिल्ला बन्द गरेको हो ।

सहमति जुटाउन पाँच दलबीच बैठक जारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असार १ - मन्त्रिपरिषद्लाई पूर्णता दिन सहमति जुटाउनका पाँच दलबीच बसेको बैठक ६ घण्टा देखि जारी रहेको छ । काँग्रेस र एमालेले महत्वपूर्ण मन्त्रालय आपसमा बाँडफाँड गरेको प्रति मधेशवादी दलहरुले आपत्ति जनाएपछि आइतबार हुने भनिएको मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । सहमतिको खोजीका लािग सोमबार बिहानदेखि प्रधामन्त्री निवास बालुवाटारमा जारी बैठक साँझ ६ बजेसम्म टुङ्गिएको छैन । वार्तामा एमाले, काँग्रेस, मधेशी जनअधिकार फोरम (गच्छदार समूह ),तराई मधेश लोकतान्त्रिक पार्टी तथा सदभावना पार्टीका नेताहरुको सहभागिता रहेको छ । मधेशवादी दलहरुले पहिले मन्त्रिपरिषद्को आकार टुङ्गो लगाएपछि मात्र मन्त्रालय बाँडफाँड गर्नुपर्नेमा जोड दिएका छन् । एमाले र काँग्रेसले महत्वूर्ण मन्त्रालय लिएर आफ्नो अनुकुल मन्त्री र राज्यमन्त्री थप्न लागेको भन्दै मधेशवादी दलहरुले बिरोध गरेका छन् ।

कोरियाली प्रायद्वीपमा आणविक युद्ध हुनसक्ने चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सोल/ उत्तर कोरियाले कोरियाली प्रायद्वीपमा आणविक युद्ध हुनसक्ने चेतावनी दिएको छ । राष्ट्रसंघले उत्तर कोरियाविरुद्ध कडा नाकाबन्दी लगाउने निर्णयपछि उत्तर कोरियाको यो चेतावनी आएको हो । आणविक बम-निर्माण कार्यलाई थप गति दिने प्रतिज्ञा उत्तर कोरियाले गरेको छ । उत्तर कोरियाको सरकारी साप्ताहिक पत्रिका तोनजिलले संयुक्त राज्य अमेरिकाले दक्षिण कोरिया र जापानमा प्रशस्त आणविक अस्त्र तैनाथ गरेको र ती अस्त्र आफूविरुद्ध कनै पनि बेला प्रयोग हुनसक्ने विश्लेषण छापेको छ । विश्लेषणमा भनिएको छ- उत्तर कोरिया पूर्णतः अमेरिकी आणविक हमलाको परिधिभित्र परेको छ र कोरियाली प्रायद्वीपमा आणविक युद्धको खतरा सबैभन्दा उच्च अवस्थामा पुगेको छ । शनिबार मात्रै नयाँ नाकाबन्दीअनुरूप जलक्षेत्रमा आफ्नो मुलुकको पानीजहाजलाई रोक्ने प्रयास गरे कुनै पनि मुलुकविरुद्ध युद्ध छेड्न सकिने धम्की उत्तर कोरियाको विदेश मन्त्रालयले दिएको थियो । शुक्रबार राष्ट्रसंघ सुरक्षापरिषद्ले उत्तर कोरियाविरुद्ध लगाइने नयाँ नाकाबन्दीको अनुमोदन गरेको थियो ।

इरानमा धाँधली भएको आरोप प्रदर्शन, कयौँ गिरफ्तार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तेहरान/ इरानमा सुधारवादी समूहका करिब एक सय व्यक्तिलाई आइतबार गिरफ्तार गरिएको छ । राष्ट्रपति चुनावको नतिजापछि भड्किएको हिंसामा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । पराजित उम्मेदवार मिर हुसेन मुसावीका समर्थकले चुनावमा धाँधली भएको आरोप लगाएका छन् । पक्राउ पर्नेमा मुसावीलाई समर्थक गर्ने सुधारवादी दलका सदस्य छन् । पक्राउ पर्नेमा पूर्वराष्ट्रपति खतामीका भाइ पनि छन् । मुसावी अहिले कहाँ छन् भन्ने केही जानकारी छैन । तर, उनी देशबाहिर भएको अनुमान गरिएको छ । महमुद अहमदिनेजाद पुनः राष्ट्रपति निर्वाचित भएको विरोधमा तेहरानका सडकमा आइतबार प्रदर्शन भएको थियो । मुसावीले चुनाव परिणाम अस्वीकार गरेका छन् । साथै चुनावमा आफ्ना समर्थकलाई मतदान केन्द्रमा जानबाट रोकेको र मतगणनामा धाँधली गरेको आरोप मुसावीले लगाएका छन् । इरानमा भएको चुनावमा अहमदिनेजाद ६०.२ प्रतिशत मत प्राप्त गरेर विजयी भएका छन् । इरानमा कुल ८५ प्रतिशत नागरिकले मतदान गरेका थिए । इरानमा चुनावका बेला त्यहाँका नागरिकविरुद्ध अन्य देशले मनोवैज्ञानिक युद्ध छेडेको आरोप अहमदिनेजादले शनिबार टेलिभिजनमा भाषणमा लगाए ।

फुटबलर क्रिस्टियानो रोनाल्डोको अँगालोमा पेरिस हिल्टन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संसारका सबैभन्दा महँगा फुटबलर क्रिस्टियानो रोनाल्डो त्यो रात निकै खुसी देखिन्थे । म्यानचेस्टर युनाइटेडलाई चट्ट माया मार्दा रियल म्याडि्रडले दिएको १३ करोड १० लाख अमेरिकी डलरले रोनाल्डोको अर्को एउटा सपना पूरा त गरेको थियो नै, त्यसमाथि संसारकी सर्वाधिक कामुक युवती पनि उनको अँगालोमा थिइन् । प्रेमी बदल्ने मामिलामा सर्वाधिक अस्थिर पेरिस हिल्टनलाई उनले नयाँ प्रेमिका -?) का रूपमा पाएका छन् । म्यानचेस्टर छाडेको भोलिपल्टै २४ वषर्ीय रोनाल्डो र २८ वषर्ीया हिल्टन हलिउडको नाइट क्लब 'माइ हाउस' मा देखा परे । लगातार दुई दिन उनीहरूले एकसाथ रात पनि बिताए । हिल्टनको निजी निवास र होटलमा पनि केही हितैषीले रोनाल्डोको खुसीमा साथ दिए । पहिलो रात रोनाल्डो र हिल्टनको भावभंगी हेर्नेसमेत लज्जामा परेका थिए । नाइट क्लबमा उनीहरूले अनगिन्ती चुम्बन गरे । क्लब सर्दा जसरी रोनाल्डोले महँगा खेलाडीको कीर्तिमान बनाए, उनी नाइट क्लबमा पनि चुम्बनको कीर्तिमान बनाउन आतुर देखिएका थिए । क्लबमा काम गर्नेहरू नै भन्छन्, 'उनीहरू एकअर्काको मुहार यसरी चाटिरहेका थिए, लाग्थ्यो कि हवाइजहाज दुर्घटना हुँदै छ ।' महँगा स्याम्पेनका साथ नाइट क्लबमा एकसाथ खुसी मनाएपछि उनीहरू बिहान २ बजे हिल्टनकी बहिनीको घरमा गए तथा रोनाल्डो त्यहाँबाट ५ बजे बिहान मात्र फर्किए । 'त्यो रातपछि हिल्टन थकित देखिन्थिन्, जसले गर्दा भोलिपल्ट सानो भोजमात्र गरिन्,' बि्रटिस पत्रिका सनले हिल्टनका नजिकका परिचितलाई उद्धृत गर्दै लेखेको छ । त्यो सूत्र भन्छ, 'रोनाल्डो मध्यरातपछि मात्र घरमा आए । उनी दुई घन्टा त्यहाँ बसे । तर अघिल्लो रातझैं पागलपन देखिएन ।' हिल्टनको घरबाट फर्किएपछि पनि रोनाल्डोले होटलमा नजिकका मित्रहरूका साथ मस्ती गरे । हिल्टन आपना प्रेमी २४ वषर्ीय बेसबल स्टार डो रेनहर्टलाई छाडेको केही घन्टाभित्रै रोनाल्डोका साथ सार्वजनिक रूपमा 'छाडापन' मा उत्रिएकी थिइन् । तर, हिल्टनकै नजिकका मित्रहरूसमेत रोनाल्डोसँग उनको सम्बन्ध लामो नचल्ने दाबी गर्छन् ।

टुहुरेको स्वागतमा माओवादी अध्यक्ष प्रचण्ड नाचे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
'आमा दिदी बहिनी हो....' कलाकार जेबी टुहुरेको गीत मध्यभाग नपुग्दै माओवादी अध्यक्ष प्रचण्डले आफूलाई थाम्न सकेनन् । माओवादीका कलाकारहरूले उठाए र प्रचण्ड नाँचे छमछमी । भीडबाट प्रतिक्रिय आयो, 'प्रचण्ड गज्जबका नर्तकी रहेछन् ।' जनकलाकार जेबी टुहुरे राजधानीस्थित प्रज्ञा प्रतिष्ठानको बाहिरी चौरमा आयोजित कार्यक्रममा आइतबार माओवादीमा प्रवेश गर्दै थिए । उनलाई माला लगाएर भित्र्याउन तम्तयार थिए माओवादी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता मोहन वैद्य किरण र अन्य नेता, माओवादीसम्बद्ध कलाकारहरू । प्रचण्डले यही कार्यक्रमको अन्त्यमा कम्मर मर्काएर नाँचेका हुन् । ०२४ सालदेखि कम्युनिस्ट आन्दोलनमा लागेका टुहुरे एमालेको अनुशासन आयोगका सदस्यसम्म भएका थिए । चुनावमा वामपन्थीहरू एक हुनुपर्छ भन्ने धारणा एमालेले स्वीकार नगरेको, क्रान्तिकारी लाइन छाडेको आरोप लगाउँदै टुहुरेले 'नागरिक सर्वोच्चता' का लागि प्रचण्डले प्रधानमन्त्री पद त्यागेपछि प्रभावित भएर माओवादी प्रवेश गर्ने सोच बनाएको सुनाए । प्रचण्डले फूलको माला पहिर्‍याए र वरिष्ठ नेता किरणले अबिर लगाइदिए टुहुरेलाई । त्यसपछि टुहुरेले खादा ओडाइदिए प्रचण्डलाई । प्रचण्डले भावुक भएर टुहुरेतिर लक्षित गर्दै भने, 'क्रान्तिकारी सांस्कृतिक आन्दोलनको इतिहास हुनुहुन्छ जेबी टुहुरे । ६५ वर्ष पार गरे पनि उहाँमा क्रान्तिको जोस युवाहरूमा भन्दा कम छैन ।' चार दशक एमालेमा रहेर माओवादीको टीका लगाएका उनी मात्रै होइन, बुद्धिजीवीहरूको ठूलै पंक्ति माओवादीमा प्रवेश गर्ने उद्घोष पनि प्रचण्डले गरे । प्रचण्डले भने, 'प्रतिक्रान्तिकारीहरू विनासको खाल्टो आफैं खन्दैछन् । सेनापतिसँग घुँडा टेकेर आफ्नो सर्वनाश संशोधनवादीहरूले आफैं निम्त्याएका छन् ।' अब माओवादीको नेतृत्वमा एउटै कम्युनिस्ट पार्टी बन्नेसमेत उनले उद्घोष गरे । अन्तमा स्वर्गीय एकदेव आलेले रचेको 'आमा दिदी बहिनी हो, कति बस्छौ दासी भै....' गाएका टुहुरेले प्रचण्डसमेतलाई नचाएका थिए । प्रधानमन्त्री पदबाट हटेपछि सार्वजनिक कार्यक्रममा देखिन छाडेका प्रचण्ड मज्जाले नाँचे ।

चितुवाको छालासहित तीनजनालाई पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कैलाली, ३१ जेठ वन कार्यालय कैलालीको विशेष टोलीले चितुवाको छालासहित तीनजनालाई आइतबार पक्राउ गरेको छ । उनीहरू धनगढीको बसपार्कमा पक्राउ परेका हुन् । ना.२ख९४५ नम्बरको बसमा हसुलियाबाट धनगढी आएका उदासीपुर गाविस-१ का हरि बोहरा, मालाखेती-७ अत्तरियाका अमर कुवँर र मसुरिया-४ बडैपुरका विष्णुराज भट्ट पक्राउ परेका हुन् । उनीहरूले बोकेको दुईवटा झोलाबाट ६ थान चितुवाका छाला बरामद गरेको कैलालीका वन अधिकृत मनबहादुर खड्काले बताए । चितुवाको छाला तस्करी भइरहेको थाहा पाएपछि तस्करको खोजी भइरहेको विशेष टोलीका नेता सहायक वन अधिकृत अम्बिका पौडेलले बताए । उनका अनुसार चितुवाको छालासहित उनीहरूलाई पक्राउ गर्न एक सातादेखि २२ जना कर्मचारी परिचालित थिए । बरामद केही छाला आलै छन् । करिब दुई महिनाअघि चितुवा मारिएको हुन सक्ने कर्मचारीको आशंका छ । एउटा छालामा भने दुईवटा गोली लागेको छ । केही छालामा जुँगा, नंग्रा र दाँतसमेत निकालिएको छैन । वन अधिकृत खड्काका अनुसार एउटा चितुवाको छालाको मूल्य ७५ हजारभन्दा बढी पर्ने सुनेको बताए । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको वन कार्यालयले जनाएको छ । ती छाला भारत लैजान लागेको वन कर्मचारीको आशंका छ । तर, पक्राउ परेका हर्क बोहराले आफूलाई दार्चुला घर बताउने मोहन धामीले झोला समात्न लगाएर भागेको बताए । 'दुई हजार रुपैयाँ दिन्छु झोला बसबाट झारिदेऊ भने, मैले झोला झार्न पनि खोजेँ, तर झार्न नपाउँदै पक्राउ परेँ ।' केही समययता सुदूरपश्चिममा वन्यजन्तु चोरी-सिकारी बढेको छ । चोरी-सिकारी रोक्न सुदूरपश्चिम क्षेत्रका वन अधिकृतसहित शुक्लाफाँटा वन्यजन्तु आरक्षका कर्मचारीले एक संयन्त्र बनाएका छन् ।

Jun 14, 2009

सगरमाथा आरोही जुनिता अभिनन्दित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्ने पहिलो लिम्बु बनेकी जुनिता सम्बाहाङफे आज अभिनन्दित भइन् ।उनलाइ सम्बाहाङफे उत्थान संघ तदर्थ कार्यसमितिले राजधानीमा आयोजित एक कार्यक्रममाझ सम्मानसहित अभिनन्दन गरेको हो । सोही क्रममा कार्यक्रमका प्रमुख अतिथि सभासद डम्बरसिं सम्बाहाङफेले भने, 'सिङ्गो लिम्बु वंशजमा नै जुनिताले इतिहास कायम गर्न सफल भइन् ।'संघका अध्यक्ष शेरबहादुर सम्बाहाङफेको सभापतित्वमा आयोजित सो कार्यक्रममा आफ्नो अनुभव र अनुभूति संक्षिप्तरुपमा सुनाउँदै जुनिताले भनिन्, 'साँच्चै नै सगरमाथा आरोहण गर्नु कठीन छ, तैपनि मैले सफलता हासिल गरेरै छाडें ।'

स्वतन्त्र लिम्बुवान माग्नेको भेला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
झापा । मुलुकको वर्तमान राजनीतिक अवस्थालार्इ मध्यनजर गर्दै लिम्बुवान स्वतन्त्रताको आन्दोलनलाइ अझ शसक्त बनाउन पल्लो किरात लिम्बुवान राष्ट्रिय मञ्चका अध्यक्ष डम्बर लाओतीको अध्यक्षतामा गत जेठ २६ गते भएको भेलाले लाङभपहाङ लिम्बुको अध्यक्षातामा २७ सदस्यीय केन्द्रीय कार्यसमिति पुनर्गठन गरेको छ ।पुनर्गठित समितिमा उपाध्यक्ष इमेकङहाङ, महासचिव खाम्जिरी किराती, सचिव नेल्सन लिम्बु, कोषाध्यक्ष मुक्कुम लिम्बु, सहकोषाध्यक्षा कुसुम लिम्बु, कार्यवाहक कोषाध्यक्षमा थाम्लासोहाङ रहेका छन् । त्यस्तै, सदस्यहरुमा क्रमश: फूङ किराती बान्तवा, केजङइ लिम्बु, हासुम किराती, लाहाङसा, आकाश लिम्बु, मिधङहाङ लिम्बु, टाइगर किराती, चुङवामा किराती, सिर्जना देवान, हिमाल थापा मगर, बादल थारु, नाम्बिनहाङ लिम्बु, शंकर लेप्चा, राम याक्खा देवान, देवी नेपाली, टिकाराम लिम्बु, प्रवीन राइ र सरनकुमार मुखिया रहेका छन् ।त्यसैगरी, समितिका सल्लाहकारहरुमा डा. मिधुङती, बलदेव, रिलिमहाङ, ङामुकसाम र प्रकाश रहेका छन् ।

मन्त्री सेर्मालाई जातीय पहिचानको पीडा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सेर्मा वंशजकै पहिलो मन्त्री बन्ने सौभाग्य पाएका पूर्णकुमार सेर्मालाई किरात याक्थुङ पापोहाङ सेर्मा सङजुम्भोले एक कार्यक्रममाझ आज सम्मान गर्यो ।राजधानीमा आयोजित सो कार्यक्रममा बोल्दै बिनाविभागीय मन्त्री पूर्णकुमार सेर्माले भने, 'मुलुक धर्मनिरपेक्ष, गणतान्त्रिक र समावेशी भएको छ । वर्तमान अवस्थामा मुलुक असहज परिस्थितिमा गुज्रिरहे पनि सोही परिस्थितिलाई मध्यनजर गर्दै सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दछु ।'लिङ्देन कल्याण कोषका महासचिव रमेश लिङ्देनले भने, 'सेर्मा वंशजको भएपनि लिम्बुवानको समग्र ९ जिल्लाकै प्रतिनिधित्व गरेको हुनाले लिम्बुवान वहाँप्रति आशावादी छ । साथै, लिम्बुवानवासीको हकअधिकारको विरुद्धमा सरकारले कुनै निर्णय गरे वहाँले नोट अफ डिसेन्ट लेखेर आउनुहुनेछ भन्ने अपेक्षा लिम्बुवानको छ ।'एकीकृत नेकपा माओवादीका सभासद हरिराज खेवाले भने, 'लिम्बुवानवासीहरुले चाहेजस्तै आत्मनिर्णायको अधिकारसहितको लिम्बुवान स्वायत्त राज्य प्राप्त भएमात्र साँच्चै नै लिम्बुहरु सम्मानित भएको महसुस हुनेछ, र यही नै अन्तिम लडाई पनि हो ।'नेकपा एकीकृतका केन्द्रीय सदस्य भूपेन्द्र नेम्बाङले भने, 'जुन विभाग पाए पनि वहाँले सेर्मा, लिम्बुवान, पान्थर क्षेत्र नं. १ का मतदाता, लिम्बुवानवासी र समस्त नेपालीका लागि जिम्मेवारी र उत्तरदायित्व वहन गर्ने अपेक्षा गरेको छु ।'दक्षिण एसियाली ज्योतिष महासंघका महासचिव चन्द्रकुमार सेर्माले गुनासो पोखे, 'सेर्मालाई शर्मा वा शेर्पा भन्ने गरिएको र मिडियामा समेत यसरी आउनाले अहिले हामी सेर्माको अस्तित्व जोगाउने आन्दोलनमा छौं । राज्यले समेत सेर्मा लिम्बु हो भनेर बुझ्न नसकेकोमा मलाई दु:ख लागेको छ ।'सङजुम्भोका केन्द्रीय अध्यक्षा डगलसिं सेर्माको सभापतित्वमा भएको सो कार्यक्रममा नरेन्द्र सेर्मालाई समेत सम्मान गरिएको थियो । उनी किरात धर्म तथा साहित्य उत्थान संघको नवगठित केन्द्रीय समितिका उपाध्यक्ष भएका छन् ।

सुर्खेतमा माओवादी स्थानीय गाउँ जनसरकार गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादीले शनिबार सुर्खेतमा पहिलो पटक स्थानीय गाउँ जनसरकार गठन गरेको छ। स्थानीय माओवादी कार्यकर्ताको भेलाले सुर्खेतको दशरथपुरमा दशरथपुर गाउँ जनसत्ता गठन गरेको हो। टोपबहादुर रानाको अध्यक्षतामा गठन गरिएको ११ सदस्सीय जनसत्ताको उपाध्यक्षमा कृष्ण कार्की र नौवटै वडाबाट एकएक जना सदस्य चयन गरिएको माओवादी पार्टी खड्का र्घर्तीले बताउनुभयो। सरकारले असंवैधानिक काम गरेको उल्लेख गर्दै उहाँले त्यसको अन्त्य गर्न जनसंघषॅका लागि गाउँ जनसत्ता गठन गरिएको बताउनुभयो। जिल्ला र केन्द्रको निर्देशन नभई गाउँस्तरकै निर्णये जनसत्ता गठन गरिएको जानकारी र्घर्तीले दिनुभएको छ।यता एकीकृत नेकपा माओवादी सुर्खेतका इन्चार्ज कृष्ण धमलाले जनसत्ता गठन गर्न जिल्लाले निर्देशन नदिए पनि त्यसलाई अनुमोदन भने गर्ने बताउनुभयो। उहाँले राष्ट्रपतिको कदम सच्याउन र शान्ति प्रक्रियालाई निष्कर्षा पुर्याउन देशैभरि गाउँ जनसरकार गठन गरिने जानकारी पनि दिनुभएको छ।

एमाले र कांग्रेसले मन्त्री र मन्त्रालय नाम प्रधानमन्त्रीसमक्ष पठाए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ ३१ - सरकारको नेतृत्व गरेको एमाले र कांग्रेसले मन्त्रालय र मन्त्रीहरुको नामावलीको आइतबार अन्तिम टुंगो लगाएका छन् । एमाले श्रोतका अनुसार गृह मन्त्रालयमा भीम रावल, सूचना तथा संचार मन्त्रालयमा शंकर पोखरेल, सामान्य प्रशासनमा रकम चेम्जोङ र शान्ति मन्त्रालय रबीन्द्र श्रेष्ठको भागमा परेको छ । रक्षा र अर्थमा विद्या भण्डारी तथा सुरेन्द्र पाण्डेलाई यथावत राख्ने निर्णय भएको छ । त्यसैगरी कांग्रेसले पनि मन्त्रीहरुको कार्यविभाजन गर्दै नामावली प्रधानमन्त्री माधवकुमार नेपाललाई बुझाएको छ । श्रोतका अनुसार कांग्रेसले जलश्रोत मन्त्रालय बिभाजन गरेर नयाँ उर्जा मन्त्रालय निर्माण गरेको छ । कांग्रेस श्रोतका अनुसार उर्जा मन्त्रालय प्रकाशसरण महत तथा जलश्रोतमा बालकृण खाँडलाई जिम्मेवारी दिइएको छ । यस्तै स्थानीय विकासमा पूर्णकुमार शेर्मा, स्वास्थ्यमा उमाकान्त चौधरी, कानुन तथा संसदीय व्यवस्थामा मिनेन्द्र रिजाल र श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी मोहम्मद आफतव आलमलाई दिइएको छ । कांग्रेसले केही राज्यमन्त्रीको समेत नामावली प्रधानमन्त्रीलाई बुझाएको छ । मन्त्रीहरुको कार्यविभाजनका लागि कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले आफू निकटका शीर्ष नेताहरुसँग छलफल गरेका थिए । प्रधानमन्त्री नेपालले आजै साँझसम्म कांग्रेस र एमालेका मन्त्रीहरुलाई सपथ गराउने कार्यक्रम रहेपनि समय निर्धारण भएको छैन ।

राष्ट्रिय निकुञ्जका गैंडा सुरक्षित भएनन्

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चितवन राष्ट्रिय निकुञ्जका गैंडा संरक्षणका लागि दुई हजारभन्दा बढी कर्मचारी छन् । तर, निकुञ्जका गैंडा सुरक्षित हुन सकेका छैनन् । पछिल्लो गणनामा निकुञ्जमा चार सय आठ गैंडा भेटिएका थिए । ०६४ सालको गणनायता १६ वटा गैंडा मरिसकेका छन् । निकुञ्जका अनुसार चोरी-सिकारीबाट १० वटा मारिएका र बाँकी कालगतिले मरेका हुन् ।निकुञ्ज सुरक्षाका लागि नेपाली सेना, कर्मचारी र विभिन्न्ा संरक्षणकर्मीको हिसाब गर्दा एउटा गैंडा संरक्षणका लागि ६ जना कर्मचारी पुग्छन् । तर, महिनैपिच्छे गैंडा मारिएका छन् । जेठ महिनामा मात्रै निकुञ्जका तीनवटा गैंडा मारिएका छन् । विश्वमै दुर्लभ मानिएको एकसिंगे गैंडा तथा अन्य वन्यजन्तुको संरक्षणका लागि आठ सय ५० सैनिकसहितको गोरखबहादुर गण, दुई सय सैनिकसहितको संग्रम सार्दूल गुल्म र निकुञ्जका दुई सय ७२ कर्मचारी तथा जिल्ला वन कार्यालयका कर्मचारी खटिएका छन् । यसबाहेक विश्व वन्यजन्तु कोष, तराई भू—परिधि कार्यक्रम, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता केन्द्र, वन्यजन्तु संरक्षण नेपाल, वन्यजन्तु चोरी-सिकारी नियन्त्रण युवा जागरण समिति, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, स्थानीय उपभोक्ता समितिलगायतका दुई दर्जन बढी संघसंस्था पनि वन्यजन्तु संरक्षणकै नाममा सक्रिय छन् । कार्यपरिधि निर्धारण नहुँदा ती संस्थाले वन्यजन्तु संरक्षणको नाममा लाखौँ रुपैयाँ खर्च गर्ने गरेका छन् । तर पनि गैंडा मारिने क्रम रोकिएको छैन । मकवानपुर, चितवन, नवलपरासी र पर्सामा फैलिएको सो निकुञ्जका वन्यजन्तु संरक्षणका लागि चार सेक्टरका ४७ स्थानमा चेकपोस्ट स्थापना गरिएको छ । करिब चार किलोमिटरको फरकमा राखिएका चेकपोस्टमा निकुञ्ज प्रशासनका कर्मचारी र नेपाली सेना छन् । निकुञ्ज प्रशासनको रेकर्डमा तिनै चेकपोस्ट आसपासमा गैंडा मारिएको उल्लेख छ ।प्रमाणसहित समातिएका तस्करलाई कारबाही नहुँदा चोरी-सिकारी बढेको विभिन्न क्षेत्रबाट औंल्याइएको छ । नेचरगाइड एसोसिएसनका सचिव नकुल लामिछानेले समातिएका तस्करलाई कडा कारबाही नभएकाले गैंडा संरक्षण नभएको बताए । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष हरिभक्त घिमिरेले प्रभावकारी रूपले खटिएका कर्मचारी परिचालन नभएकाले गैंडा संरक्षणमा समस्या देखिएको बताए । मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिमा राजनीति हस्तक्षेप हुनु र निकुञ्जलाई राजनीतिक भर्तीकेन्द्र बनाइनुले चोरी-सिकारी बढेको मृगकुञ्ज उपभोक्ता समितिका पूर्वअध्यक्ष वासु ढुंगानाले बताए । दुर्लभ गैंडासहित वन्यजन्तु संरक्षणमा मध्यवर्ती क्षेत्रका बासिन्दा सक्रिय हुनुपर्ने उनको भनाइ छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. नरेन्द्रबाबुमान प्रधानले पनि निकुञ्जको एकल प्रयासले मात्र वन्यजन्तु संरक्षण गर्न कठिन हुने बताए । सुरक्षा बढी भए पनि गैंडा मर्ने क्रम नरोकिएको सम्बन्धमा उनले भने, 'गैंडाको पछि-पछि कर्मचारी खटाउन मिल्दैन । स्रोत-साधन र जनशक्ति पूर्ति गर्दै आगामी दिनमा नयाँ रणनीतिसहित संरक्षणमा लाग्न विभागसँग छलफल भइरहेको छ ।'

रेस्लरमा पूर्वरेस्लरको भूमिका बेजोडसँग निभाए मिक्कीले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गत वर्ष सार्वजनिक रेस्लरमा पूर्वरेस्लरको भूमिका बेजोडसँग निभाए मिक्की रकले । बेजोड अभिनयकै कारण यसै वर्ष ओस्कार अवार्डको अन्तिम पाँचसम्म उनको नाम छनोट भएको थियो । भलै उनलाई पछि पार्दै 'मिल्क'का सिन पेनले 'उत्कृष्ट अभिनेता'को पुरस्कार जिते ।उत्कृष्ट अभिनयका लागि पुरस्कार नपाए पनि रेस्लरले उनको वास्तविक जीवनमा भने फाइदा नै गर्‍यो । वास्तविक जीवनका पूर्वबक्सर मिक्कीले सो चलचित्रका लागि शरीर बनाउन निकै मिहिनेत गरेका थिए । त्यसबापत पूर्वरेस्लर र्‍यान्डी 'द राम' रविन्सनको भूमिकालाई जीवन्त बनाए उनले ।गत वर्ष नै अर्को चलचित्र आइरनम्यानले हलिउड बक्सअफिसमा तहल्का मच्चायो । सर्वाधिक कमाइ गर्ने चलचित्रको सूचीमा शीर्ष पाँचभित्र परेर । सोही चलचित्रले सुपरम्यान, स्पाइडरम्यान र ब्याटम्यानजस्ता सुपर हिरोको सूचीमा अर्को थप्यो आइरनम्यान ।आइरनम्यानको सफलतापछि त्यसको सिक्वेल बन्ने भएको छ- इरनम्यान-२ । सो चलचित्रमा प्रमुख भूमिका निभाउँदै छन् 'रेस्लर' मिक्की रोक । रेस्लरका लागि बनाएको शरीरले उनलाई फाइदा दिएको छ । नयाँ आइरनम्यानमा मिक्कीको चरित्र पागलपन रहेको रसियनको भूमिका छन् । यसबाट विश्वस्त हुन सक्छौँ उनी खलनायकको रूपमा देखापर्दै छन् । १९९६ मा बनेको बुलेटमा दाजुको मृत्युको बदलाका लागि भौंतारिएको लागूपर्दाथ दुव्र्यसनीको भूमिकालाई जीवन्त बनाएका मिक्की लामो समयपछि गत वर्ष मात्र पर्दामा देखापरेका हुन् । वास्तविक जीवनमा समेत निकै सन्की मिक्कीले गत वर्ष रेस्लिङ खेलेपछि 'वास्तविक नायक वास्तविक धरातलमा उभिएको' चर्चा चल्यो त्यतिवेला ।'जोनी ह्यान्डसम'मा एक कुरूप पात्रको भूमिकामा देखापरेका मिक्की अन्तिमपटक ल्याटिन गायक इनरिक इंग्लिसको हिरोमा खलनायकको रूपमा देखापरेका थिए । त्यसपछि आइरनम्यानमा खलनायक बनेका मिक्कीले आपनो अभिनय क्षमताबाट कतिलाई तर्साउने हुन् ? केही समय कुरौँ ।

जापानमा धेरै सन्तान जन्माउनेलाई सुविधा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
टोकियो/ जापानको सत्तारुढ दल उदारवादी प्रजातान्त्रिक दल (एलडिपी)ले गर्भवती महिलाको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने र शिक्षणशुल्क घटाउने व्यवस्थासम्बन्धी नयाँ प्रस्ताव ल्याउने भएको छ । घट्दै गइरहेको जनसंख्या वृद्धिदरमा सुधार ल्याउन गर्भवती महिलाको निःशुल्क परीक्षण र शिक्षणशुल्क घटाउने व्यवस्था गर्न लागिएको हो । यस प्रस्तावमा निःशुल्क शिक्षा तथा काममा जानुपर्ने आमाबाबुलाई दिवा शिशुस्याहार तथा धेरै बच्चा जन्माएका परिवारलाई उच्च शिक्षा अध्ययन गर्नका लागि रकमको सुविधा दिने प्रस्ताव गरिएको छ ।

इरानका राष्ट्रपति महमुद अहमदिनेजाद पुनः राष्ट्रपति हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तेहरान/ इरानका राष्ट्रपति महमुद अहमदिनेजाद पुनः राष्ट्रपति हुने भएका छन् । शनिबार इरानमा भएको राष्ट्रपतीय चुनावमा महमुद अहमदिनेजाद विजय हुने निश्चित भएको छ । अहिलेसम्म प्राप्त मत परिणामअनुसार अहमदिनेजादले ६५ प्रतिशतभन्दा बढी मत पाएका छन् । उनका प्रतिस्पर्धी उम्मेदवार मिर हुसेन सुसावीले चुनावमा धाँधली भएको आरोप लगाएका छन् । मतगणनामा धाँधली गरिएको र आफ्ना समर्थकलाई मतदानकेन्द्रमा जानबाट रोकेको उनको आरोप छ । उनले ३२ प्रतिशत मत पाएका छन् ।

दाङको सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीको ज्यादती निरीक्षण टोलीको ठहर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दाङको सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले गरेको ज्यादतीका बारेमा बुझ्न गएको संसदीय टोली र सर्वदलीय टोली अवलोकनपछि फर्किएको छ ।अन्तर्राष्ट्रिय सम्बन्ध र मानवअधिकार समितिका सभापति पदमलाल विश्वकर्माको नेतृत्वमा गएको टोलीले दाङको पूर्वी नाकाको र सभासद् अमिक शेरचनको नेतृत्वमा गएको टोलीले दाङको पश्चिमी नाका क्षेत्रको स्थलगत अनुगमन गरेका थिए ।ती दुवै टोलीले सीमा अतिक्रमणका क्रममा प्राप्त भएका जानकारीलाई प्रतिवेदनका रूपमा तयार पारी सुझावसहित सरकारलाई बुझाउने बताइएको छ ।यसैबीच विश्वकर्माले नेतृत्व गरेको टोली काठमाडौं फर्किसकेको छ । शेरचनले नेतृत्व गरेको टोलीले शनिबार दाङको लमहीमा पत्रकार सम्मेलन गरी स्थलगत अवलोकनको प्राविधिक प्रतिवेदनका बारेमा जानकारी गराइएको थियो ।पत्रकार सम्मेलनमा टोली नेता शेरचनले नेपाली भूमि र जनतामाथि भारतले ज्यादती गरेको बताए ।उनले भारतीय पक्षबाट नेपालीमाथि ज्यादती भएको, सीमा अतिक्रमण बढ्दै गएको, राज्यको त्यस क्षेत्रमा उपस्थिति नभएकोलगायतका थुप्रै समस्या रहेको जानकारी गराए ।

Jun 13, 2009

एमाले र कांग्रेसबीच मन्त्रालय बाँडफाँटमा सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ ३० - तीन साता लामो गतिरोधपछि प्रमुख सत्ता साझेदार दुई दल मन्त्रिपरिषद्को कार्यविभाजन र विस्तार गर्न सहमत भएका छन् । प्रमुख दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालय बाँडफाँटमा सहमति जुटेपछि आइतबार थप मन्त्रीहरुको जिम्मेवारी सहित सपथ हुन लागेको हो ।प्रधानमन्त्री माधवकुमार नेपाल र कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाबीच शनिबार अपरान्ह भएको छलफलमा मन्त्रालय बाँडफाँट गरी आइतबार एमाले र कांग्रेसका मन्त्रीलाई सपथ गराउने सहमति भएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रघुजी पन्तले जानकारी दिए ।सहमति अनुसार एमालेको भागमा रक्षा सहित अर्थ,गृह, सूचना तथा संचार मन्त्रालय परेका छन् भने कांग्रेसले परराष्ट्र सहित स्वास्थ्य, जलश्रोत, स्थानीय विकास मन्त्रालय पाउने भएको छ । यसैबीच एमालेले गृहमा भिम रावल र संचार मन्त्रालयमा शंकर पोखरेललाई पठाउने भएको छ । अन्य दलसँगको परामर्शपछि एमालेले आफ्ना थप मन्त्रीको टुंगो लगाउनेछ । श्रोतका अनुसार एमालेले रबीन्द्र श्रेष्ठ र रकम चेम्जोङलाई मन्त्रीमा पठाउने तयारी गरेको छ । कांग्रेसले बिना विभागीय मन्त्री प्रकाशसरण महतलाई जलश्रोत र मिनेन्द्र रिजाललाई स्वास्थ्य मन्त्रालय दिने लगभग निश्चित भएको कांग्रेस निकट श्रोतले जनाएको छ । कांग्रेस- एमाले नेतृत्वले फोरमको गच्छदार समूहलाई भौतिक योजना , कृषि, सामान्य प्रशासन लगायतका मन्त्रालय दिन थप छलफल गर्ने भएका छन् । अर्को साझेदार दल तराई-मधेस लोकतान्त्रिक पार्टीले शिक्षा र विज्ञान तथा प्रविधि मन्त्रालय पाउने सम्भावना छ भने नेकपा माले र राप्रपालाई बन र भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिइने बताइएको छ । कांग्रेसले श्रम र एमालेले शान्ति मन्त्रालयको माग गरेकाले ती मन्त्रालयको टुंगो भोली बिहान लगाइने सहमति भएको छ । प्रधानमन्त्रीले फोरम, तमलोपा लगायतका दलसँग परामर्श गरी भोलीसम्म मन्त्रीको नाम पठाउन आग्रह गर्नुहुनेछ ।

गच्छेदारद्वारा गृह, संचारसहित ७ मन्त्रालय माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ ३० - मधेशी जन अधिकार फोरम गच्छदार समूहले काँग्रेस र एमालेले मात्र छलफल गरेर मन्त्रालय बाँडफाँड गरे मान्य नहुने बताएको छ । उक्त समूहद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा उपप्रधान तथा फोरम संसदीय दलका नेता विजयकुमार गच्छदारले मन्त्रालयको टुङ्गो आफूहरुसंग सरसल्लाह गरेर गरिनुपर्ने बताए । उनले भने-'सरकार निर्माणमा मधशी दलहरुको महत्वपूर्ण भूमिका छ ।' उनले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गृह, जलस्रोत, भौतिक योजना तथा निर्माण,स्थानीय, संचार, शिक्षा तथा स्वास्थ्य जस्ता महत्वपूर्ण मन्त्रालय पाउनुपर्ने दावी पनि गरे । 'काँग्रेस र एमालेले छाडेको मन्त्रालय लिएर फोरम वा मधेशवादी अन्य दल बस्दैन' उनले भने । सरकारमा मधेशवादी दलहरुको सम्मानजनक सहभागिता हुनुपर्ने माग पनि गरे । मन्त्रालयको टुङ्गो नलागेकोले आफ्नो दलबाट मन्त्री बन्नेहरुको नाम छनौट गर्न नसकिएको उनले बताए । फोरम संस्थापन पक्षले निष्काशन गरेपछि गच्छदारसंग रहेका सभासद तथा केन्द्रीय सदस्यहरुको शनिबार राजधानीमा संयुक्त बैठक बसेको थियो । बैठको निर्णय सार्वजनिक गर्दै गच्छदारले वर्तमान लोकतान्त्रिक गठबन्धनको सरकारलाई बलियो बनाएर अघि बढने बताए । फोरम अध्यक्ष उपेन्द्र यादवले गैरकानुनी, अवैधानिक र स्वेच्छाचारी ढंगले पार्टी हाँकेकोले उनको नेतृत्वलाई अस्वीकार गरिएको भन्दै पार्टीलाई नयाँ रुप दिन निर्वाचन आयोगको निर्णय पर्खेको बताए ।
बैठकले मधेशी जनअधिकार फोरम तथा सयुक्त लोकतान्त्रिक मधेशी मोर्चासंग विगतमा भएको सम्झौता कार्यान्वयनको लागि अनुगमन समिति तत्काल गठन गरिनुपर्ने, सरकारको न्यूनतम साझा कार्यक्रममा समेटिएको मधेशका मागहरु तीन महिना भित्र कार्यान्वयन गरिनुपर्ने, समावेशी विधेयक तीन महिना भित्र पारित गरिनुपर्ने,संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई क्रियाशील गर्ने तथा मधेशका माग पूरा गराउन सडक,सदन र सरकार तीन वटै मोर्चाबाट संघर्ष गर्ने निर्णय गरेको पार्टी प्रवक्ता जितेन्द्र देवले बताए । त्यस्तै, मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोको सम्झनामा प्रसुति गृहको स्थापना, तराईमा व्याप्त असुरक्षा र अशान्ति नियन्त्रणमा लिएर सशस्त्र संघर्ष गरिरहेका राजनीतिक शक्तिसंग वार्ताका लागि सरकारलाई आग्रह गर्ने बैठकले निर्णय गरेको छ । मधेश आन्दोलनका क्रममा राजधानीबाट वेपत्ता पारिएका जितेन्द्र साहको यथार्थ स्थिति पत्ता लगाउन वर्तमान सरकारलाई दवाव दिने लगायतका निर्णय बैठकले गरेको छ ।

राप्रपा नेपालले पनि युवा मोर्चा गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राप्रपा नेपालले आफ्नो भ्रातृ संगठनको रूपमा राष्ट्रिय युवा मोर्चा गठन गरेको छ। पार्टी जिल्ला अध्यक्ष र सचिवहरूको काठमाडौंमा शुरू भएको राष्ट्रिय सम्मेलनको अवसर पारेर सो पार्टी शुक्रबार आफ्नो युवा मोर्चा घोषणा गरेको हो। गत मंसिर १ र २ गते काठमाडौंमा बसेको पार्टीको बैठकले मोर्चा गठन गर्ने निर्णयगरेको थियो। हाल १ सय ५० जना युवा आबद्ध रहेको मोर्चाका संयोजक किशोर गुरुङलाई पार्टी ध्यक्ष्’ कमल थापाले मोर्चाको झन्डा हस्तान्तरण गर्नुभएको थियो।

आइतबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री माधवकुमार नेपालले आइतबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने दाबी गरेका छन् । पार्टी मुख्यालय बल्खुमा चालू एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले सो दाबी गरेका हुन् ।प्रधानमन्त्री नेपालले आफ्नै पार्टीले मन्त्रीहरूको नाम दिन नसकेकाले मन्त्रिपरिषद्को पूर्णतामा ढिलाइ भएको बताएका थिए । 'हाम्रै पार्टीले नाम दिन नसकेर ढिलाइ भएपछि बाहिर राम्रो सन्देश जान सकेको छैन, सकेसम्म आजै मन्त्रीहरूको नाम पार्टीबाट पठाउनुहोस्,' नेपालको भनाइ उद्धृत गर्दै बैठक स्रोतले बतायो । प्रधानमन्त्रीले टुंगो लाग्न बाँकी रहेका केही साना दलबाहेक अधिकांश जिम्मेवारी आइतबारको क्याबिनेट विस्तारमा समेटिने बताएका छन् । 'केही साना दललाई छोडेर मन्त्रिपरिषद्को विस्तार र जिम्मेवारी आइतबारसम्म टुंगो लाग्छ,' प्रधानमन्त्री नेपालको भनाइ उद्धृत गर्दै स्रोतले बतायो । सरकारको नेतृत्व गरेको एमाले आफ्नैतर्फबाट पठाउने मन्त्रीबारे अनिर्णीत भए पनि केन्द्रीय कमिटीमा तीन दिनअघिदेखि पार्टीको आन्तरिक कार्यविभाजनको कार्यसूचीमाथि छलफल भइरहेको छ । बैठकमा केन्द्रीय सदस्यहरूले आफ्नै पार्टीको तर्फबाट मन्त्रीहरूको सर्वसम्मत नाम दिन नसकेकोमा नेतृत्वको आलोचना गरेका थिए । पार्टीको तर्फबाट छिटो नाम दिएर मन्त्रिपरिषद्लाई पूर्णता दिन नेताहरूलाई केन्द्रीय सदस्यहरूले दबाब पनि दिएका थिए । 'प्रधानमन्त्रीलाई मुख्य नेताहरूको समेत सहमति लिएर मन्त्रिपरिषद् विस्तार गर्न सुझाव दिइएको छ,' केन्द्रीय सदस्य कर्णबहादुर थापाले नयाँ पत्रिकालाई बताए । अधिकांश सदस्यले प्रधानमन्त्री नेपाल, अध्यक्ष झलनाथ खनाल र नेता केपी शर्मा ओलीबीच सहमति गरेर मन्त्रीको नाम तय गर्न सुझाव दिएका थिए । केहीले प्रधानमन्त्री नेपाल र अध्यक्ष खनालबीच सहमति गरी मन्त्रिपरिषद्मा पठाउने नेताको नाम टुंग्याउन सुझाव दिएको स्रोतले बतायो । एमालेका कारण मन्त्रिपरिषद् विस्तार अवरुद्ध भए पनि महाधिवेशनको चार महिनापछि पार्टीको आन्तरिक कार्यविभाजनमाथि छलफल चलाएकोमा एमाले नेतृत्व आलोचित हुँदै आएको थियो । 'महाधिवेशन सकिएको चार महिनासम्म सांगठनिक जिम्मेवारी नतोकी बस्ने, जब मन्त्रिपरिषद् विस्तारमा राजनीति अड्क्यो अनि कार्यविभाजनमाथि छलफल चलाउने ? यो सन्तुलित चाल भएन,' एक केन्द्रीय सदस्यले नयाँ पत्रिकालाई बताए । पार्टीको कार्यविभाजनसम्बन्धी बुधबार प्रस्तुत प्रस्ताव परिमार्जन गर्न शुक्रबारको बैठकमा पनि केन्द्रीय सदस्यहरूले नेतृत्वलाई दबाब दिएका छन् । सुझाबहरूलाई समावेश गरी स्थायी समितिबाट सर्वसम्मत प्रस्ताव ल्याउन अधिकांशको सुझाब छ । नेता-कार्यकर्ताको रुचि, योग्यता र क्षमता हेरेर कार्यविभाजन गर्न उनीहरूले आग्रह गरेका थिए ।'नीति र व्यवहारबीचको सामन्जस्यता अनुशरण गर्नुपर्छ, कार्यकर्ता परिचालनको नीति स्पष्ट गरेर त्यहीअनुरूप जिम्मेवारी बाँड्नुपर्छ,' केन्द्रीय सदस्य घनश्याम भुसालले बैठकमा भनेका थिए । शुक्रबारको बैठकमा मुकुन्द न्यौपाने, जगन्नाथ खतिवडा, केशव बडाल, रवीन्द्र श्रेष्ठ, रघुवीर महासेठ, गोकुल घर्ती, ठाकुर गैरे, योगेश भट्टराईलगायत नेताहरूले भनाइ राखे ।

गायक यम बराललाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री माधवकुमार नेपालले गायक यम बराललाई कानुनी कारबाही गर्न गृहसचिव गोविन्द कुसुमलाई निर्देशन दिएका छन् । गायक बरालले घरमा काम गर्न राखेको मजदुर महिला मनकुमारी तामाङलाई पारिश्रमिक नै नदिई उल्टै तीन दिन थुनाएको समाचार पत्रिकाले प्रकाशित गरेपछि प्रधानमन्त्रीले त्यस्तो निर्देशन दिएका हुन् ।प्रधानमन्त्री नेपालले सचिव कुसुमलाई बिहीबार आफ्नै कार्यकक्षमा बोलाएर निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले जानकारी दिए । प्रधानमन्त्री नेपालले पीडित महिलाको पारिश्रमिक दिलाउन र क्षतिपूर्तिको व्यवस्था गराउनसमेत गृहसचिवलाई निर्देशन दिएको रिजालले बताए । त्यस्तै प्रधानमन्त्रीले बराललाई सार्वजनिक माफी मगाउन र महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी शरद खत्रीमाथि पनि छानबिन गर्न सचिव कुसुमलाई निर्देशन दिएका छन् ।तर, पीडितलाई पारिश्रमिक र क्षतिपूर्ति दिलाउन भएको प्रगतिबारे जान्न खोज्दा गृहसचिव कुसुमले केही पनि प्रतिक्रिया दिन चाहेनन् । 'प्रवक्तासँग सोध्नुहोस्, मलाईभन्दा बढी उनलाई जानकारी छ यस विषयमा,' कुसुमले भने । गृहप्रवक्ता नवीन घिमिरेले प्रधानमन्त्रीले सचिवलाई दिएको निर्देशनको बारेमा आफू अनभिज्ञ रहेको बताए । 'मलाई त केही पनि थाहा छैन, थाहै नभएको विषयमा के बोलौं,' घिमिरेले भने, 'प्रधानमन्त्रीले सचिवलाई बोलाएको नै थाहा छैन ।'त्यस्तै बालबालिकाको क्षेत्रमा कार्यरत संस्था सिविसले गायक बरालविरुद्ध श्रम शोषणअन्तर्गत जाहेरी दिने जनाएको छ । बालश्रम शोषण गरिएको प्रमाणित भए ६ महिना जेल सजाय र ५० हजार जरिवाना हुने कानुनी व्यवस्था छ । सिविसले पीडित मनकुमारीलाई बच्चा भर्ना गर्दा लागेको १६ सय पनि दिएको छ ।

आइन्सटाइन र न्युटनको सिद्धान्तलाई चुनौती दिएर फर्के रिजन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विराटनगरवासी १६ वषर्य युवक रिजन कार्की अमेरिकामा नासाले आयोजना गरेको अन्तर्राष्ट्रिय अन्तरिक्ष विकास सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै विश्वविख्यात वैज्ञानिकहरू अर्ल्बर्ट आइन्सटाइन र सर आइज्याक न्युटनले प्रतिपादन गरेका सिद्धान्तलाई चुनौती दिएर स्वदेश फर्किएका छन्। कार्कीले आइन्सटाइनको सापेक्षतावाद र न्युटनको गुरुत्वाकर्षासम्बन्धी सिद्धान्तलाई नयाँ ढंगले परिमार्जन र परिभाषित गर्ने अवधारणासहितको कार्यपत्र प्रस्तुत गरी बिहीबार स्वदेश फर्किएका हुन्। मोरङको विराटनगर स्थायी घर भएका कार्कीले त्यहाँको बूढानीलकण्ठ स्कुलबाट एसएलसी परीक्षा दिएका हुन्। न्युटनको गुरुत्वाकर्षा र आइन्सटाइनका स्पेस टाइम कर्भेचर सिद्धान्तमाथि प्रश्न उठाउँदै ती सिद्धान्तलाई अझै विकसित र सशक्तरूपमा प्रस्तुत गर्ने दाबी उनले गरेका छन्। नेपाल आउनासाथ कार्कीले बानेश्वरस्थित नोबेल एकेडेमीमा आयोजित पत्रकार सम्मेलनमा अमेरिका भ्रमणको अनुभव सुनाए। ‘नासाको सम्मेलनमा भाग लिने क्रममा हलमा खुट्टा राख्दा डर लाग्यो तर आफैंले आँटेको काममा किन डराउनु भनेर पेपर प्रेजेन्टेसन गरेँ’ -कार्कीले भने। कार्यपत्र प्रस्तुत गरिसकेपछि त्यहाँ सहभागी वैज्ञानिकहरूले आफ्नो प्रशंसा गरेको बताउँदै सकारात्मक प्रतिक्रिया पाएको बताए। अमेरिकाको फ्लोरिडा राज्यमा यही जेठ १४ र १५ गते आयोजित सो सम्मेलनमा विश्वभरका वैज्ञानिकहरूले कार्यपत्र प्रस्तुत गरेका थिए। कार्कीलाई एसएलसी उर्त्तर् भएपछि नोबेल एकेडेमीले नै प्लस टुसम्म निःशुल्क पढाइदिने भएको छ। कलेजलाई देशको भौतिकशास्त्र अध्यापन हुने कलेजका रूपमा अघि सारिने र देशभरका कार्कीजस्तै प्रतिभा भएका युवाहरूलाई समेटेर लैजाने पक्षमा आफू रहेको कलेजका प्राचार्य डा. जयराज आचार्यले बताउनुभयो।

गफाडी महिला स्वस्थ हुने वैज्ञानिकको अनुसन्धानले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गफ गर्न पाएपछि महिलाहरू भोकतिर्खा नै बिर्सन्छन् भन्ने उखान नै छ । महिलाको यस बानीलाई नराम्रो मानिँदै आएको छ । तर, खुलेर गफ गर्ने बानी स्वास्थ्यका लागि फाइदाजनक हुने वैज्ञानिकले बताएका छन् । गफ गर्दा प्रोजेस्टेरोन हर्मान बढ्छ । यो पीडा र चिन्ता कम गर्ने हर्मान हो । सामाजिक सम्बन्ध विस्तार गर्न पनि यो हर्मानले सहयोग गर्छ । युनिभर्सिटी अफ मिचिगनका वैज्ञानिकहरूको एक समूहले गफसम्बन्धी अनुसन्धान गरेको थियो । अनुसन्धानमा एक सय साठी महिलामाथि अध्ययन गरिएको थियो । दुई महिलाको एउटा समूह बनाइएको थियो । साथै, महिलालाई थप दुई ठूलो समूहमा विभाजन गरिएको थियो । एउटा समूहका महिलालाई एक-अर्कासँग आत्मीयता बढाउने खालका प्रश्न सोध्न लगाइएको थियो । जस्तै, तपाईं कसलाई सबैभन्दा बढी खाना खान बोलाउन चाहनुहुन्छ ? तपाइंको सबैभन्दा ठूलो उपलब्धि के हो ? आदि । अर्का समूहलाई बोट-बिरुवासम्बन्धी अनुसन्धान-प्रतिवेदनको प्रुफ हेर्न लगाइएको थियो । २० मिनेटपछि, दुवै समूहका महिलाको प्रोजेस्टेरोन जाँचिएको थियो । आत्मीय प्रश्न सोध्न लगाइएका महिलाको प्रोजेस्टेरोन हर्मान बढेको थियो भने प्रुफ हेर्न लगाइएका महिलाको घटेको थियो ।प्रोफेसर स्टेफेनी ब्राउन र उनका सहकर्मीले यो अनुसन्धान गरेका थिए । अनुसन्धानको प्रतिवेदन जर्नल हरमोन्स एन्ड बिह्याभियरमा प्रकाशित छ । अनुसन्धान जैविक प्रक्रिया र सामाजिक व्यवहारबीचको सम्बन्ध पत्ता लगाउन महत्त्वपूर्ण भएको ब्राउनले बताएकी छिन् । ब्राउन भन्छिन्, 'यस अनुसन्धानले बिहे गरेका वा सम्बन्धमा भएका मानिस किन खुसी, स्वस्थ हुन्छन् र लामो समय बाँच्छन् भन्ने बुझ्न सहयोग गरेको छ ।' प्रोजेस्टेरोन हर्मान पाठेघरमा उत्पादन हुन्छ । यसले महिलालाई गर्भधारणका लागि तयार गर्छ, रोगको संक्रमणबाट बचाउँछ । र, अस्ट्रोजिनको उच्च उत्पादनलाई नियन्त्रण गर्छ । अस्ट्रोजिनको उत्पादन ज्यादा भएमा क्यान्सरको जोखिम हुन्छ ।

Jun 12, 2009

एमाले केन्द्रीय सदस्यहरूले असन्तुष्टि जनाए कार्यविभाजनमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पार्टी नेतृत्वले प्रस्तुत गरेको कार्यविभाजनको प्रस्ताव पक्षपातपूर्ण भएको भन्दै एमाले केन्द्रीय सदस्यहरूले असन्तुष्टि जनाएका छन् । पार्टी मुख्यालयमा भएको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले कार्यविभाजनको प्रस्ताव उचित मापदण्ड र सन्तुलनलाई बेवास्ता गरेर ल्याइएको बताएका छन् । महासचिव ईश्वर पोखरेलले पार्टीका केन्द्रीय विभाग र फाँट तथा भौगोलिक क्षेत्रहरूको कार्यविभाजन प्रस्ताव राखेका थिए । प्रस्तावमाथि छलफलका क्रममा केन्द्रीय सदस्यहरूले पार्टीको मूल नेतृत्व गर्नुपर्ने अध्यक्ष विभागको नेतामा सीमित हुन खोजकोमा पनि आलोचना गरेका थिए । बैठकमा पोखरेलले पार्टीका १८ वटै विभागका प्रमुख र सबै फाँटका इन्चार्जहरूको नाम प्रस्ताव गरेका थिए भने अञ्चलगत जिम्मेवारीको कार्यविभाजन प्रस्ताव पनि गरेका थिए । पार्टी नेतृत्वद्वारा प्रस्तुत कार्यविभाजनको प्रस्तावमा पार्टी अध्यक्ष झलनाथ खनाल स्वयंलाई पार्टी स्कुल विभागको प्रमुख र महासचिव ईश्वर पोखरेललाई प्रचार विभाग तथा जनवर्गीय संगठनको प्रमुखका रूपमा जिम्मेवारी दिइने उल्लेख छ ।बैठकमा बोल्ने सदस्यहरूले पार्टीको अध्यक्ष सिंगो पार्टीको वैचारिक कामको नेता भएकाले विभागको प्रमुख बनाइनु अनुपयुक्त भएको बताएका थिए । 'विभागका काम नै अध्यक्ष-महासचिवले गर्ने भए नेतृत्वको कार्यविभाजन जरुरी नै भएन,' पोलिटब्युरो सदस्य खगराज अधिकारीले बैठकमा बताए । पार्टी नेतृत्वले महत्त्वपूर्ण विभागहरू आफूनिकटकालाई दिने प्रस्ताव अगाडि ल्याएको छ । प्रस्तावमा संगठन विभागमा अशोक राई, केन्द्रीय सचिवालय सचिवमा युवराज ज्ञवाली, विदेश विभागमा केपी शर्मा ओलीलाई अगाडि सारिएको छ ।केन्द्रीय सदस्यहरूले अध्यक्ष खनाललाई प्रस्ताव गरिएको पार्टी स्कुल विभाग प्रदीप ज्ञवालीलाई र महासचिव ईश्वर पोखरेललाई प्रस्ताव गरिएको प्रचार विभाग प्रदीप नेपाललाई दिन माग गरेका थिए । केपी शर्मा ओलीलाई दिइएको विदेश विभाग र भरतमोहन अधिकारीलाई दिइएको आर्थिक विभागमा भने कसैले दाबी गरेका छैनन् । पार्टी नेतृत्वद्वारा प्रस्तुत कार्यविभाजन प्रस्तावमा उद्योग व्यवसाय तथा श्रम सम्बन्ध विभागमा मुकुन्द न्यौपाने, सहकारीमा केशव बडाल, संघीय मामिला विभागमा रकम चेमजोङ, समाजिक संस्था विभागमा उर्मिला अर्याल, राज्यव्यवस्थामा राजेन्द्र पाण्डे, कानुन तथा निर्वाचनमा अग्नि खरेल, स्थानीय विकास तथा भौतिक योजनामा गोकर्ण विष्टको नाम छ ।उपाध्यक्ष वामदेव गौतमलाई किसान र अर्का उपाध्यक्ष विद्या भण्डारीलाई महिला फाँटको जिम्मेवारी प्रस्तावित कार्यविभाजनमा राखिएको छ । बिहीबारको बैठकमा बोल्ने अधिकांश सदस्यले प्रस्तावित कार्यविभाजन अवैज्ञानिक भएकाले यसलाई परिमार्जन गर्नुपर्ने आवाज उठाएका थिए । बैठकमा करिब दुई दर्जन केन्द्रीय सदस्यले बोलेका थिए ।

७ साउन ०६६ मा पूर्ण खग्रास हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अब धेरै छैन, करिब एक महिनामा आउँदै छ, ७ साउन ०६६ । बिहानै उठ्ने बानी छ भने नझुक्किनुहोला, उज्यालो हुनासाथ अन्धकार हुनेछ, रातको १२ बजेजस्तै । सूर्यग्रहण त पटक-पटक लाग्छ, तर यसपालि सूर्यमा लाग्ने ग्रहण चानचुने होइन, पूर्ण खग्रास हुनेछ । यस्तो ग्रहण यसपालि हेर्ने पुस्ताले अर्कोपटक सायदैै हेर्न पाउनेछ । किनकि, अबको ७८ वर्षपछि मात्र ब्रह्माण्डमा यस्तो संयोग जुर्नेछ । ७ साउनको बिहान नेपालमा उज्यालो हुनासाथ अँध्यारो हुनेछ, सामान्य अथवा अधिक रूपमा होइन, शतप्रतिशत अँध्यारो । खग्रास सूर्यग्रहणले बिहानीलाई नै अन्धकार बनाउनेछ । अन्तर्राष्ट्रिय खगोल वर्ष- २००९ का नेपाल संयोजक जयन्त आचार्यका अनुसार बिहान ५:४६ बाट सुरु हुने खग्रास सूर्यग्रहण ७:४५ मा सकिनेछ । नेपालका फरक-फरक ठाउँमा फरक-फरक समयमा खग्रास हुनेछ । नेपालमा सबैभन्दा बढी विराटनगरमा तीन मिनेट ३६ सेेकेन्ड शतप्रतिशत अँध्यारो हुनेछ । त्यस्तै काठमाडौंमा ६ बजेर ४२ मिनेटमा सबैभन्दा बढी ९६.६ प्रतिशत अँध्यारो हुनेछ । ५० वर्षको अन्तरालमा हुन लागेको खग्रासको अँध्यारो सबै नेपालीले देख्न पाउनेछन्, तर ग्रहण लागेको सूर्य भने नगण्य नेपालीले मात्र हेर्न पाउनेछन् । ग्रहण हेर्न एक जापानी खगोलशास्त्रीको सहयोगमा सयवटा मात्र विशेष चस्मा ल्याइएका छन् । 'सूर्यग्रहण हेर्न एक सयवटा विशेष चस्मा नेपाल ल्याइसकिएको छ,' आचार्यले भने ।विराटनगरपछि इलाममा ६ बजेर ४३ मिनेटमा सुरु हुने पूर्ण अन्धकार तीन मिनेट आठ सेकेन्डसम्म रहनेछ । सूर्यग्रहण इलामबाट राम्रोसँग अवलोकन गर्न सकिने आचार्यले बताए । खगोलशास्त्रीका अनुसार नेपालमा खग्रासको सबैभन्दा कम प्रभाव महेन्द्रनगरमा पर्नेछ । महेन्द्रनगरमा ८५ प्रतिशत मात्रै अँध्यारो हुनेछ । जनकपुरदेखि पूर्व इलामसम्म पूर्णग्रहण लाग्ने आचार्यले बताए । सूर्यग्रहण हेर्न काठमाडौंको प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठ र विशालनगरको लक्षशिला एकेडेमीमा व्यवस्था मिलाइएको छ । सूर्यको प्रकाश चन्द्रमाले छेकेर चन्द्रमाको छाया पृथ्वीमा पर्दार् सूर्यग्रहण लाग्छ । सूर्यलाई पृथ्वी र पृथ्वीलाई चन्द्रमाले घुम्ने क्रममा जब चन्द्रमा सूर्य र पृथ्वीका बीचमा पर्छ, तब सूर्यग्रहण लाग्छ । ७ साउनको सूर्यग्रहण भारतबाट सुरु भएर जापानसम्म पुग्नेछ । भारत, नेपाल, बंगलादेश, म्यानमार, चाइना, प्यासिफिक ओसन र रुकोयु आइल्यान्डमा पूर्ण सूर्यग्रहण लाग्नेछ । वैज्ञानिकहरूले ग्रहण लागेका बेला सक्नेजति काम गर्दा नबिग्रने बताए पनि धार्मिक ग्रन्थअनुसार के गर्ने के नगर्ने भन्ने विषयमा थरीथरीका धारणा छन् ।

एभिन्युज टेलिभिजनका संवाददाता कुटपिट गरी घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
क्यासिनो भेनसका कर्मचारीले बिहीबार बिहान एभिन्युज टेलिभिजनका संवाददाता डिल्लीराज पोखरेल र क्यामरा-पर्सन निरनराज बानालाई कुटपिट गरी घाइते बनाएका छन् ।लैनचौरस्थित होटल मल्लपरिसरमा रहेको क्यासिनो भेनसमा बुधबार राति प्रहरीले छापा मारेको समाचार संकलन गरेको निहुँमा त्यहाँका कर्मचारीले पोखरेल र बानामाथि आक्रमण गरेका हुन् । छापा मारेको विषयलाई लिएर प्रहरी र क्यासिनोका कर्मचारीबीच बिहीबार बिहान क्यासिनोपरिसरमा झडप भएको थियो । झडपको रिपोर्टिङ गरिदिन क्यासिनोका कर्मचारी आपै+mले एभिन्युज टेलिभिजनमा खबर गरेका थिए । त्यसको रिपोर्टिङका लागि बिहान ९ बजे क्यासिनोपरिसर पुग्नासाथ उनीहरूले पोखरेल र बानामाथि एक्कासि आक्रमण गरेका थिए ।कुटपिटमा ५०/६० जनाको समूह संलग्न थियो । आक्रमणबाट एभिन्युज टेलिभिजन संवाददाता पोखरेलको शरीरका विभिन्न भाग र अनुहारमा गम्भीर चोट लागेको छ । आक्रमणकारीले एभिन्युज टेलिभिजनको क्यामरासमेत तोडफोड गरेका थिए ।

बालिका अपहरण गर्ने दुई अपहरणकारीलाई पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बालाजु माछापोखरीकी १० वर्षीया बालिका अपहरण गर्ने दुई अपहरणकारीलाई स्थानीयवासीले स्वयम्भूबाट पक्राउ गरी प्रहरीमा बुझाएका छन् । पक्राउ पर्नेमा काभ्रे माझीफेदा-७ का २७ वर्षीय विदुर गौतम र नुवाकोट भद्रटार-१ का रवि श्रेष्ठ छन् । चारजनाको संख्यामा आएका अपहरणकारीले वनस्थलीस्थित सौर्यदीप बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययनरत मोनिकापिया श्रेष्ठलाई स्कुलअगाडिबाटै अपहरण गरेका थिए ।बा३३प २९९१ नम्बर र नम्बरप्लेटको भित्रपट्टि बा३०प ४४८८ नम्बर लेखिएको मोटरसाइकलमा आएका अपहरणकारीले बिहान स्कुल गइरहेकी बालिका मोनिकालाई मुख थुनेर कलंकीतिर लैजाँदै गर्दा स्थानीयवासीले स्वयम्भूको नाम्गेलचोक पुगेपछि पक्राउ गरेका हुन् । पक्राउ गरी प्रहरीलाई बुझाउनुअघि स्थानीयवासीले अपहरणकारीलाई कुटपिटसमेत गरेका थिए । बालिकालाई मुक्त गरेपछि स्थानीयवासीले अपहरणकारीको मोटरसाइकल जलाइदिएका छन् । बालिकाका आफन्त र स्थानीयवासीले अपहरणकारीलाई आफैंले कारबाही गर्न पाउनुपर्ने माग गर्दै प्रहरी कार्यालय वनस्थलीअगाडि नाराबाजीसमेत गरेका थिए । सुरुमा प्रहरीले अपहरणकारी भगाएको आरोप लगाएका स्थानीयवासी अपहरणकारीलाई बालाजु चौकी लगिएको जानकारी पाएपछि उतैतिर गएका थिए ।बालिकाका आफन्तले बालाजु चौकीअगाडि चर्का नाराबाजी गर्न थालेपछि भीड तितरबितर पार्न प्रहरीले लाठीचार्जसमेत गरेको थियो । बालाजु लगेपछि महानगरीय प्रहरी प्रभाग बालाजुकी डिएसपी मीरा चौधरीको कमान्डमा पक्राउ परेका दुई अपहरणकारीलाई सार्वजनिक गरिएको थियो ।चार अपहरणकारीमध्ये मुख्य नाइकेसहित दुईजना भने फरार भएको डिएसपी चौधरीले बताइन् । पक्राउ परेका एकजना बालाजु गोलढुंगामा कुखुरा फार्म चलाएर बसेको र अर्का एकजना कक्षा नौमा पढ्दै गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको चौधरीले जानकारी दिइन् ।अपहृत बालिकाकी आमा पपलापिया श्रेष्ठको जाहेरीका आधारमा जिल्ला अदालत काठमाडौंले अपहरणकारीको अनुसन्धानका लागि सात दिनको म्याद थप गरेको महानगरीय प्रहरी प्रभाग बालाजुकी डिएसपी चौधरीले बताइन् ।

ग्वान्तानामोमा राखिएका बन्दीहरूलाई चीन फर्काउनुपर्ने धारणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेइजिङ/ चीनले ग्वान्तानामो खाडीको बन्दी शिविरमा राखेका १७ जना उग्योर जनजातिका मुसलमान बन्दीहरू कुनै पनि तेस्रो मुलुकलाई हस्तान्तरण नगर्न अमेरिकालाई आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चिङ गाङले अमेरिकाले तेस्रो मुलुकमा आतंकवादी भनी थुनिएका बन्दी हस्तान्तरण गर्न रोक्नुपर्ने बताएका हुन् । प्रशान्त महासागरस्थित पहिलेको अमेरिकी भू-भाग पलाउले अझसम्म चीनलाई मान्यता दिएको छैन, तर उसले ती उग्योर मूलका बन्दीहरूलाई पलाउमा राख्न मन्जुर गरिसकेको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आगामी वर्षको सुरुमै ग्वान्तानामो बन्दी केन्द्र बन्द गर्ने आदेश दिइसकेका छन् । अमेरिका उग्योर बन्दीहरूलाई चीनमा यातना दिइने वा ज्यान सजाय दिइने डरले चीन फर्काउन हिच्किचाइरहेको छ । बेइजिङले उग्योर विद्रोहीहरूलाई चीनको सुदूरपश्चिम क्षेत्रमा पृथकतावादी आन्दोलन चलाइरहेको बताउँदै ग्वान्तानामोमा राखिएका बन्दीहरूलाई चीन फर्काउनुपर्ने धारणा व्यक्त गरेको छ । करिब २२ जना उग्योरलाई अमेरिकी सेनाले अफगानिस्तानमा समातेको थियो र क्युबाको ग्वान्तानामो पुर्‍याए तापनि चार वर्षअघि उनीहरू शत्रु लडाकु नभएको पाइएको थियो । अल्बानियाले २००६ मा तीमध्ये पाँचजनालाई पुनर्बास गराउन खोजेको थियो । तर, चीनले अल्बानियालाई सहयोग नपुर्‍याउने डरले गर्दा उनीहरूलाई त्यहाँ बसाल्न सकेको थिएन । अमेरिकी अधिकारीहरूले ४ जुनमा पलाउका राष्ट्रपति जोन्सन टोरिबोङलाई ती १७ जना उग्योर बन्दी स्वीकार्न आग्रह गरेका थिए । यसअघि अमेरिकी कंग्रेसले तिनीहरूलाई अमेरिकी भूमिमा मुक्त नगर्न कडा प्रतिरोध गरेका थिए । पलाउका राष्ट्रपतिले उनको सरकारले पलाउमा अस्थायी रूपले राख्न अमेरिकाको अनुरोधलाई स्वीकार गरेको र उनीहरूका गतिविधिलाई वेलावेलामा जाँच गर्ने बताएका छन् । उनले दुश्मन लडाकु नभएको पाइएका उग्योर जातीय बन्दीहरूलाई पुनर्बास गराउन आफ्नो फुच्चे देशले पाएकोमा गौरवान्वित तथा सम्मानित भएको बताएका छन् । आफ्नो मञ्जुरीलाई मानवीय संकेत भएको समेत बताए । अमेरिकाले पलाउलाई ठूलो धनराशि दिँदै आएको छ । कुल २० हजार जनसंख्या मात्र रहेको पलाउ आठ प्रमुख टापु र दुई सय ५० भन्दा बढी स-साना टापुको शृंखला हो । यो मुलुक फिलिपिन्सदेखि आठ सय किलोमिटर पूर्व प्रशान्त महासागरमा अवस्थित छ । अमेरिकासँग घनिष्ठ सम्बन्ध रहेको पलाउ सन् १९९४ मा स्वतन्त्र भएपछि स्वतन्त्र संघको सम्झौता गरेको थियो र सहायता र प्रतिरक्षा मामलामा अमेरिकामाथि पूरै निर्भर रहेको छ ।

बेइजिङ/ चीनले ग्वान्तानामो खाडीको बन्दी शिविरमा राखेका १७ जना उग्योर जनजातिका मुसलमान बन्दीहरू कुनै पनि तेस्रो मुलुकलाई हस्तान्तरण नगर्न अमेरिकालाई आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चिङ गाङले अमेरिकाले तेस्रो मुलुकमा आतंकवादी भनी थुनिएका बन्दी हस्तान्तरण गर्न रोक्नुपर्ने बताएका हुन् । प्रशान्त महासागरस्थित पहिलेको अमेरिकी भू-भाग पलाउले अझसम्म चीनलाई मान्यता दिएको छैन, तर उसले ती उग्योर मूलका बन्दीहरूलाई पलाउमा राख्न मन्जुर गरिसकेको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आगामी वर्षको सुरुमै ग्वान्तानामो बन्दी केन्द्र बन्द गर्ने आदेश दिइसकेका छन् । अमेरिका उग्योर बन्दीहरूलाई चीनमा यातना दिइने वा ज्यान सजाय दिइने डरले चीन फर्काउन हिच्किचाइरहेको छ । बेइजिङले उग्योर विद्रोहीहरूलाई चीनको सुदूरपश्चिम क्षेत्रमा पृथकतावादी आन्दोलन चलाइरहेको बताउँदै ग्वान्तानामोमा राखिएका बन्दीहरूलाई चीन फर्काउनुपर्ने धारणा व्यक्त गरेको छ । करिब २२ जना उग्योरलाई अमेरिकी सेनाले अफगानिस्तानमा समातेको थियो र क्युबाको ग्वान्तानामो पुर्‍याए तापनि चार वर्षअघि उनीहरू शत्रु लडाकु नभएको पाइएको थियो । अल्बानियाले २००६ मा तीमध्ये पाँचजनालाई पुनर्बास गराउन खोजेको थियो । तर, चीनले अल्बानियालाई सहयोग नपुर्‍याउने डरले गर्दा उनीहरूलाई त्यहाँ बसाल्न सकेको थिएन । अमेरिकी अधिकारीहरूले ४ जुनमा पलाउका राष्ट्रपति जोन्सन टोरिबोङलाई ती १७ जना उग्योर बन्दी स्वीकार्न आग्रह गरेका थिए । यसअघि अमेरिकी कंग्रेसले तिनीहरूलाई अमेरिकी भूमिमा मुक्त नगर्न कडा प्रतिरोध गरेका थिए । पलाउका राष्ट्रपतिले उनको सरकारले पलाउमा अस्थायी रूपले राख्न अमेरिकाको अनुरोधलाई स्वीकार गरेको र उनीहरूका गतिविधिलाई वेलावेलामा जाँच गर्ने बताएका छन् । उनले दुश्मन लडाकु नभएको पाइएका उग्योर जातीय बन्दीहरूलाई पुनर्बास गराउन आफ्नो फुच्चे देशले पाएकोमा गौरवान्वित तथा सम्मानित भएको बताएका छन् । आफ्नो मञ्जुरीलाई मानवीय संकेत भएको समेत बताए । अमेरिकाले पलाउलाई ठूलो धनराशि दिँदै आएको छ । कुल २० हजार जनसंख्या मात्र रहेको पलाउ आठ प्रमुख टापु र दुई सय ५० भन्दा बढी स-साना टापुको शृंखला हो । यो मुलुक फिलिपिन्सदेखि आठ सय किलोमिटर पूर्व प्रशान्त महासागरमा अवस्थित छ । अमेरिकासँग घनिष्ठ सम्बन्ध रहेको पलाउ सन् १९९४ मा स्वतन्त्र भएपछि स्वतन्त्र संघको सम्झौता गरेको थियो र सहायता र प्रतिरक्षा मामलामा अमेरिकामाथि पूरै निर्भर रहेको छ ।

Jun 11, 2009

दिसा खुवाउने प्रधानाध्यापिका पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दलित महिला कल्लीकुमारी विश्वकर्मालाई बोक्सीको आरोप लगाउँदै दिसा कोच्याउने प्रधानाध्यापिका विमला गोले पक्राउ परेकी छिन् । गोलेलाई प्रहरीले बुधबार ललितपुर मानभवनबाट पक्राउ गरेको हो । गोलेले प्युटार-७ की कल्लीकुमारीलाई बोक्सीको आरोप लगाउँदै गत ७ चैतमा दिसा कोच्याएकी थिइन् । गोलेलाई सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही गरिने जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।

खोलाले बगाएको गरी ४ सय ७४ सीमास्तम्भ गायब

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ २८ - पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म भारतसँग सीमा जोडिएका तराईका २० मध्ये १८ जिल्लाका १ हजार १ सय ७१ सीमास्तम्भ जोखिममा छन् । यीमध्ये खोलाले बगाएको समेत गरी ४ सय ७४ सीमास्तम्भ गायब छन् । सशस्त्र प्रहरी बल सीमा सुरक्षा विभागको तथ्यांकअनुसार २ सय ४४ सीमास्तम्भ नाम मात्रका छन् । यीसहित ६ सय ९७ सीमास्तम्भ तत्काल पुनर्निर्माण नगरिए हराएर जाने अवस्थामा छन् । कुल ३ हजार ५ सय २९ सीमास्तम्भमध्ये २ हजार ३ सय ५८ मात्र सामान्य अवस्थामा रहेको जानकारी विभागका प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक किशोरकुमार लामाले दिए । यो विवरण सीमा सुरक्षा बलका रूपमा खटिएका सशस्त्र प्रहरीले करिब एक वर्ष लगाएर तयार पारेको हो । तथ्यांकअनुसार सबैभन्दा बढी सीमास्तम्भ गायब भएका जिल्लामा पर्सा र बारा छन् । यी दुई जिल्लामा क्रमशः १ सय ९० र १ सय ८३ सीमास्तम्भ गायब छन् । पर्सामै ८९ सीमास्तम्भ अत्यन्त जीर्ण अर्थात् ससाना ठुटामा मात्र सीमित छन् । सशस्त्र प्रहरी ऐन, २०५८ को परिच्छेद २, दफा ६ को उपदफा १ मा 'नेपाल राज्यको सीमा सुरक्षा गर्न' बललाई 'म्यान्डेट' दिइएको छ । गठन हुँदा सीमा सुरक्षासमेतको 'म्यान्डेट' दिइए पनि सशस्त्र सीमा सुरक्षा कार्यालय नै स्थापना गरी १५ महिनाअघि मात्र बल सक्रिय रूपमा सीमा सुरक्षामा खटिएको हो । तराईका झापा, मोरङ, सुनसरी, सिराह, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, कपिलबस्तु, नवलपरासी, रूपन्देही, बाँके, बर्दिया, कैलाली र कन्चनपुर गरी १८ जिल्लामा सीमा सुरक्षा कार्यालय स्थापना गरी हाल सशस्त्र रूपमा तैनाथ छ । ती जिल्लाहरूमा सशस्त्रका प्रहरी उपरीक्षक -एसपी) को कमान्डमा २ सय ३७ जनशक्ति परिचालित छन् । आफ्नो जिम्मामा परेका १८ जिल्लाको सीमाको सम्पूर्ण अवस्था भूउपग्रहबाट तथ्यांक लिएर जीपीएस -ग्लोबल पोजिसनिङ सिस्टम) मा राखिएको जानकारी दिँदै विभाग प्रमुख लामाले भने, 'अब यी १८ जिल्लाको सीमास्तम्भ कसैले उखले, खोलाले बगाए पनि हामी हाम्रो सीमा कहाँसम्म हो भनेर पत्ता लगाउन सक्छौं ।' भारतसँग सीमा जोडिएका तराईका चितवन र दाङका साथै पहाडका इलाम, पाँचथर, ताप्लेजुङ, डडेल्धुरा, बैतडी र दार्चुला गरी आठ र चीनसँग सीमा जोडिएका १४ जिल्लामा भने सशस्त्रका सीमा सुरक्षा कार्यालय नै छैनन् । कार्यालयको अभावमा ती जिल्लाको सीमास्तम्भबारे संगठनलाई कुनै जानकारी नभएको सशस्त्रले जनाएको छ । नेपालका दुई जिल्लाको सीमा चीन र भारत दुवैसँग जोडिएको छ ।
भारतीय सशस्त्र सीमा बल -एसएसबी) को भने तराईका २० वटै र पहाडको ताप्लेजुङबाहेक पाँच जिल्लाको सीमामा उपस्थिति छ । सशस्त्रको सीमा सुरक्षा बल नभएकै कारण पछिल्लो समय दाङमा समस्या देखिएको जनाउँदै विभाग प्रमुख लामाले भने, 'दाङमा हाम्रो एसएसबी भएको भए यो समस्या नआउन सक्थ्यो । सीमा सुरक्षालाई प्राथमिकतामा राखेर राम्ररी एसएसबी परिचालन गरे यस किसिमका सीमा विवाद पूर्णरूपमा हट्न वा निकै घट्न सक्छन् ।' 'भारतीय सीमा सुरक्षा बलका अधिकारीहरूको संरक्षणमा स्थानीय भारतीयले आफ्नो जग्गा बढाउन रातारात सीमास्तम्भ नेपालतिर सार्ने गरेको पाइएको छ,' तराईको एक जिल्लामा नेपाली सीमा सुरक्षा बलको नेतृत्व गरेका सशस्त्रका एक एसपीले कान्तिपुरसित टेलिफोनमा भने । सशस्त्र प्रहरी महानिरीक्षक सनत बस्नेतले सीमामा खटिएका एसएसबीले राम्रो काम गरिरहेको बताए । 'जनशक्ति र स्रोत साधन थप भए अझ प्रभावकारी ढंगले काम गर्न सकिन्छ,' उनले भने । सशस्त्रले चीनसँगमात्र सीमा जोडिएका १२, चीन र भारतसँग सीमा जोडिएका दुई र भारतसँग सीमा जोडिएका पहाडका चार जिल्लामा पनि सीमा सुरक्षा कार्यालय स्थापनाका लागि सरकारसँग प्रस्ताव गरेको छ । भारतसँग सीमा जोडिएका तराईका चितवन र दाङमा कार्यालय स्थापनाका लागि भने प्रक्रिया अघि बढिसकेको विभाग प्रमुख लामाले बताए । जनशक्तिको अभावमा सबै स्थानमा सीमा सुरक्षा कार्यालय स्थापनाका लागि अप्ठ्यारो भएको जानकारी दिँदै गृह प्रवक्ता नवीन घिमिरेले भने, 'सशस्त्रको प्रस्तावलाई सकारात्मक रूपमा लिइएको छ । क्रमशः सीमा जोडिएका सबै जिल्लामा कार्यालय स्थापना गर्ने सरकारको सोच छ ।'

सम्पत्ति विवरण नबुझाउने १० हजार कर्मचारीलाई कारबाहीको सिफारिस

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२७ जेठ राष्ट्रिय सर्तकता केन्द्रले लामो समयदेखि सम्पत्ति विवरण नबुझाउने १० हजार कर्मचारी तथा पदाधिकारीलाई कारबाहीको सिफारिस गरेको छ । कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गरिएकामध्ये नौ हजार आठ सय कर्मचारी र दुई सय ४९ राजनीतिक तथा संवैधानिक नियुक्ति पाएका उच्च पदस्थ व्यक्ति छन् । कारबाहीका लागि सिफारिस गरिएकामा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष एवं पूर्वप्रधानन्यायाधीश केदारनाथ उपाध्यायदेखि राष्ट्रबैंकका गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीसम्म छन् ।यसैगरी त्रिभुवन, तथा नेपाल संस्कृत विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, काठमाडौं र लुम्बिनी विश्वविद्यालयका उपकुलपति, रजिस्टार र शिक्षाध्यक्ष पनि कारबाहीको सूचीमा परेका छन् । संघ/संस्थान र कम्पनीका अध्यक्ष, महाप्रबन्धक, कार्यकारी निर्देशक तथा प्रहरी र नेपाली सेनाका वरिष्ठ अधिकारीलाई पनि केन्द्रले कारबाहीका लागि सिफारिस गरेको छ ।सम्पत्ति विवरण नबुझाउने नेपाल प्रहरीका ७६, सशस्त्र प्रहरीका दुई सय ८३ र राष्ट्रिय अनुसन्धान विभागका ४८ गरी तीन सय सातजनालाई यसअघि नै कारबाहीका लागि अख्तियारमा पठाइसकिएको केन्द्रले जनाएको छ । भ्रष्टाचार निवारण ऐनको ठाडो उल्लंघन गर्दै सार्वजनिक पदधारण गरेका यी उच्चपदस्थ व्यक्तिले लामो समयदेखि सम्पत्ति विवरण नबुझाएपछि केन्द्रले उनीलाई कारबाही गर्न सिफारिस गरेको हो । यसैगरी केन्द्रले सम्पत्ति विवरण नबुझाउने २६ जना सहसचिव, दुई सय ८० उपसचिव, एक हजार चार सय २६ शाखाअधिकृत गरी नौ हजार आठ सय कर्मचारीलाई कारबाहीको सिफारिस गरेको छ । केन्द्रका प्रमुख अधिकृत ताना गौतमले केन्द्रले पटकपटक ताकेता गर्दा पनि सम्पत्ति विवरण नबुझाएकाले उनीहरूमाथि कारबाहीको सिफारिस गरिएको बताए । सम्पत्ति विवरण नबुझाउने सबैको नाम बिहीबार नै अख्तियारमा पठाइने अधिकृत शर्माले जानकारी दिए । केन्द्रले बुधबार नै पत्रकार सम्मेलन गरी सम्पत्ति विवरण नबुझाउनेको नाम सार्वजनिक गरेको हो । 'सजिलो बाटो अपनाउँदा नभएपछि कडा बाटो अपनाएका हौं,' प्रमुख अधिकृत गौतमले भने, 'पटकपटक विवरण बुझाउन ताकेता गरे पनि उनीहरू गम्भीर नभएपछि यस्तो कदम चालेका हौं ।'कुनै पनि व्यक्तिले सार्वजनिक पदधारणा गरेको ६० दिनभित्र र प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण नेपाल सरकारले तोकेको निकायसमक्ष पेस गर्नुपर्ने कानुनी व्यवस्था छ ।तोकिएको समयभित्र सम्पत्ति विवरण पेस नगर्नेमाथि पाँच हजार जरिवाना र सम्बन्धित व्यक्तिको नाममा गैरकानुनी सम्पत्ति रहेको अनुमान गरी अख्तियारले अनुसन्धान गर्न सक्ने व्यवस्था भ्रष्टाचार निवारण ऐन, २०५९ ले गरेको छ । सम्पत्ति विवरण नबुझाएर कारबाहीको सिफारिसमा पर्नेमा लोकसेवा आयोगका कार्यबाहक अध्यक्ष कयोदेवी यमी तथा सदस्यहरू टीकादत्त निरौला, कृष्ण पोख्रेल र राजेन्द्रप्रसाद शाहसमेत रहेको सर्तकता केन्द्रले जनाएको छ ।राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गौरी प्रधान, कृषि विकास बैंकका अध्यक्ष वामदेव क्षेत्री, महाप्रबन्धक जनकराज जोशी, राष्ट्रिय बिमा संस्थानका अध्यक्ष बाबुराम अर्याल, प्रशासक शिवहरि श्रेष्ठ, नेपाल धितोपत्र बजारका अध्यक्ष नारायण पौडेल, महानिर्देशक शंकरमान सिंह तथा बिमा समितिका अध्यक्ष फत्तबहादुर केसी, राष्ट्रिय वाणिज्य बैंकका कार्यकारी निर्देशक जनार्दन आचार्य पनि सम्पत्ति विवरण नबुझाएका कारण कारबाही सिफारिसमा परेको केन्द्रले जनाएको छ ।

गच्छदारसहित सातजनामाथिको कारबाही अनुमोदन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पर्सा/ वीरगन्जमा बुधबार सम्पन्न मधेसी जनअधिकार फोरम संस्थापन पक्षको बैठकले पार्टीबाट निष्कासित संसदीय दलका नेता विजयकुमार गच्छदारसहित सातजनामाथिको कारबाही अनुमोदन गर्दै नौबुँदे निर्णय गरेको छ । निर्धारित समयभन्दा तीन घन्टा ढिलो मध्याह्न १२ बजेबाट सुरु भएको बैठकका निर्णयबारे जानकारी दिँदै अध्यक्ष उपेन्द्र यादवले गच्छदारलाई मधेस आन्दोलनको उपलब्धि समाप्त पार्न पार्टीमा प्रवेश गरेको घुसपैठियाको आरोप लगाए । उनले गच्छदारलगायत निष्कासितलाई षडयन्त्रकारीको संज्ञा दिँदै भने, 'तिनीहरूलाई कारबाही गरेर निकाल्यौं । अब फोरम सशक्त भएर जान्छ ।' उनले कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र प्रधानमन्त्री माधवकुमार नेपालको फोरम फुटाउने षडयन्त्रको विरुद्ध सचेत रहन आफ्ना कार्यकर्तालाई अपिलसमेत गरे । बैठकमा ४० मध्ये ३२ जना केन्द्रीय सदस्यको उपस्थिति रहेको भनिएको थियो । गच्छदारले कांंग्रेस र एमालेको षडयन्त्रलाई सहयोग गरेको आरोप यादवले लगाए । बैठकले पार्टीको निर्णयविपरीत सरकारलाई समर्थनको हस्ताक्षर गरेको विषयमा छानबिनको जिम्मा पार्टीको अनुशासन समितिलाई दिने र समितिको प्रतिवेदनका आधारमा कारबाही गर्ने निर्णय भएको छ । फोरमका ५३ सभासद्मध्ये २९ जनाले सरकारलाई समर्थनसहितको हस्ताक्षर सभामुखलाई बुझाएका छन् । स्थानीय सम्झना होटलमा फोरमको केन्द्रीय बैठक चलिरहँदा बैठकस्थलबाहिर यादव पक्ष र गच्छदार पक्षका कार्यकर्ताबीच झडप भइरहेको थियो । गच्छदारलाई पार्टीबाट निकालेपछि रिक्त हुन आएको संसदीय दलको नेता चयन गर्न केन्द्रीय सदस्य एवं सभासद् सीताराम अग्रवालको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति पनि गठन गर्ने निर्णय बैठकले गरेको छ ।

इराकमा विस्फोट कम्तीमा २८ जनाको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बग्दाद/ इराकमा बुधबार भएको आत्मघाती बम विस्फोटमा कम्तीमा २८ जनाको मृत्यु भएको छ । विस्फोटमा कयौं घाइते भएका छन् । विस्फोट दक्षिण सहर नासिरियाको व्यस्त बजारमा भएको थियो । मर्नेहरूमा महिला तथा बालबालिका पनि छन् । मर्नेहरूका संख्या अझ बढ्ने बताइएको छ । यसभन्दाअघि २१ मेमा बग्दादमा भएको आत्मघाती बम विस्फोटमा ३४ व्यक्तिको मृत्यु भएको थियो । यसरी लगातार भएको हमलाले इराकमा सुरक्षाको जिम्मेवारी तथा हिंसा नियन्त्रणजस्तो प्रश्न पुनः उब्जन थालेका छन् । यसै महिनाको अन्त्यतिरबाट इराकबाट अमेरिकी सैनिक फिर्ता हुने क्रम सुरु हुने बताइएको छ । इराकका सहरी क्षेत्र अब इराकी सेना र प्रहरीको जिम्मेवारीमा सुम्पिइनेछ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकाको प्राथमिकता अब इराकको सट्टा पाकिस्तान र अफगानिस्तान भएको स्पष्ट पारेका छन् ।

Jun 10, 2009

संसारकै होचालाई गिनिज बुकमा नाम लेखाउने अभियान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१८ वर्ष पुग्नै लाग्दा पनि २० इन्च उचाइ र साढे चार किलो तौल मात्र भएका बाग्लुङ, धल्लुबासकोटका खगेन्द्र थापामगरलाई गिनिज बुकमा नाम लेखाउने अभियान लिएर सोमबार राजधानी ल्याइएको छ । उनलाई बुवा रूपबहादुरसहितको शुभेच्छुक टोलीले काठमाडौं ल्याएको हो । सेतो रङको दौरा सुरुवाल, कालोकोट, ढाका टोपी पहिरिएका खगेन्द्रलाई संसारकै होचा दाबी गरिएको छ ।उनी २०४९ असोज २८ मा जन्मिएका हुन् । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बुवा रूपबहादुरले निहुरिंदै मायालुपूर्वक हात समाएर डुलाउँदा खगेन्द्रको टाउको मुस्किलले उनको पिंडुलासम्म पुगेको थियो । बुवाले मारेको एक फड्को पार गर्न छोरालाई चारपटक लाग्थ्यो । कुर्सीमा नढल्की बस्दा पनि खुट्टामुनि झरेका थिएनन् । कार्यक्रमकी मुख्य अतिथि परराष्ट्रमन्त्री सुजाता कोइरालाले माला पहिर्‍याइदिंदा पाउसम्म झरेको थियो । 'यस्तो सानो नानी अन्त कहीँ होला त ?' फूलको थुँगाजस्तै हलुंगो गरी काखीमा बोक्दै रूपबहादुरले सबैको जिज्ञासा बनिरहेका छोराबारे भने, 'त्यही भएर गिनिज बुकमा नाम लेखाउन खोजेका हौं ।' यसअघि भारतका २२ दशलमलब ५ इन्च उचाइका गुल मोहम्मदलाई गिनिज बुकमा 'संसारकै होचा' व्यक्ति दर्ज गरिएको थियो । 'अब नयाँ रेकर्ड राख्नुपर्छ' रूपबहादुरले आफ्नो छोराले मोहम्मदको कीर्तिमान तोडेको दाबी गरे, 'खगेन्द्र नै संसारकै होचो हो ।' आमा धनमायाको कोखबाट जेठो सन्तानका रूपमा जन्मदा खगेन्द्रको तौल कुखुराको अण्डाबाट निस्किएको चल्लाको जति अर्थात ६ सय ग्राम थियो । तीन दिनसम्म आमाको दूधसमेत थोपाथोपा गरेर खुवाउनु परेका खगेन्द्रलाई हत्केलामा राखेर तेल घस्दै हुर्काएको बुवा रूपबहादुर झल्झली सम्झन्छन् । 'जन्मेको आठ वर्षपछि हिँड्न थाल्यो' सबैखाले खाना खान रुचाउने छोराबारे उनले भने, '११ वर्षको हुञ्जेल बढेर यत्रो भयो, अहिले बढ्नेक्रम रोकियो ।' उनको खाना भनेको दिनमा चार गाँस भात, दुई चम्चा दाल र एक चिया ग्लास पानी मात्र हो । टाउको हल्का बंग्याएर छाती अगाडि ढल्काउँदै खगेन्द्र टुकुटुकु हिँडेको दृश्य कैद गर्दा फोटो पत्रकार रमाउँदै थिए । यतिकैमा 'काठमाडौं कस्तो लाग्यो' भनेर कान्तिपुरले सोध्दा बुवाको काखीमा बोकिएका बेला खगेन्द्रले भने, 'निकै रमाइलो ।' विकासका सुविधाबाट वञ्चित गाउँमा जन्मिएका खगेन्द्रको शरीर वर्षौंसम्म गाउँलेले मात्र देख्दै आएका थिए । उनको अवस्था थाहा पाएपछि पोखराका मीनबहादुर रानाले २०६२ फागुनमा पोखरामा जनसाधारणसामु साक्षात्कार गराएका थिए । 'हामीले धेरैतिर बुभदा उनको जस्तो शरीर भएका अन्त कतै छ्र्रैन' रानाले भने 'सरकारले पनि गिनिजमा लेखाउन सहयोग गर्नुपर्छ ।' विभिन्न गीत र नृत्यसहित धेरैजनालाई सम्मान गर्न शिखर नेपालले आयोजना गरेको कार्यक्रममा उनले त्यसो भनी रहँदा मञ्चबाट मन्त्री, सभासद, मुख्य सचिवसहित चार सय बढीतिर फर्किएका खगेन्द्रचाहिँ मुठ्ठी उचाल्दै घरी लाल सलाम त मुठ्ठी फुकाल्दै घरी जय नेपालको अभिवाददन गरी मुस्कुराउँदै थिए ।

लडाकु समायोजन सरकारको पहिलो प्राथमिकता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ २७ - प्रधानमन्त्री माधवकुमार नेपालले माओवादीका लडाकु समायोजन सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । प्रेस चौतारीका पदाधिकारीहरुसंग बुधबार आफ्नै कार्यकक्षमा भएको भेटमा उनले संविधान निर्माण, शान्ति प्रक्रिया र निर्वाचन मार्फत नयाँ सरकार गठन सम्मको अभिवारालाई पूरा गर्न आफू प्रतिवद्ध रहेको बताए । लोकतान्त्रिक आन्दोलनमा नेपाली प्रेसले खेलेको भूमिकाको प्रसंशा गदैं उनले सरकारका नीति तथा कार्यक्रम कार्यान्वयनमा सहयोग गर्न पनि प्रेसलाई आग्रह गरे । त्यस अवसरमा समाचार सम्प्रेषण गरेकै भरमा संचारकर्मी र संचार गृहमाथि हुने गरेका आक्रमण बन्द हुनुपर्ने, दोषीलाई कारवाही हुनुपर्ने, पूर्वाग्रही ढंगले पत्रकार माथि लगाइएका मुद्दा खारेज गरिनुपर्ने माग राख्दै प्रेस चौतारीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो । लोक कल्याणकारी विज्ञापनलाई दोब्बर बनाउन, श्रमजीवी पत्रकार ऐन प्रभावकारी रुपमा लागु गर्न र पत्रकारको हत्यमा संलग्नलाई कडा कारवाही गरी मृतकको परिवारलाई राहत दिन प्रेस चौतारीले माग गरेको छ ।

हिन्दीलाई पनि नेपालीसरह मान्यता दिनुपर्ने माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हिन्दी भाषालाई राष्ट्रिय भाषाको रुपमा मान्यता दिने नदिने विषयमा संविधानसभाको सांस्कृतिक सामाजिक ऐक्यबद्धता समितिमा विवाद उत्पन्न भएको छ। मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा हिन्दी भाषालाई पनि नेपालीसरह मान्यता दिनुपर्ने माग आएपछि विवाद उत्पन्न भएको हो। हिन्दी भाषालाई मान्यता दिनैपर्ने विषयमा मधेसी जनअधिकार फोरमकै सभासद्बीच मत बाझिएपछि समितितिकी सभापति नवोदिता चौधरीले सबै भाषालाई उचित सम्मान दिनुपर्छ भन्नेमा आफूहरू रहेको र यो वा त्यो भाषा नभनी सबैलाई उति नै सम्मान दिने जानकारी दिँदै यस विषयलाई टुङ्याउन भोटिङमै जान पनि तयार रहेको बताउनुभयो। यसअघि नेकपा एमालेका सभासद नेत्र पन्थीले भाषाबारे समितिकै भाषा उपसमितिले छलफल गरिसकेको र अव भाषा आयोगले निर्धारण गर्ने जानकारी दिनुभएको थियो। बहुभाषा रहनुपर्ने कुरामा दुई मत नरहकाले भाषामा विवाद नझिक्न पन्थीले आग्रह गर्नुभयो। फोरम सभासद् जयराम यादवले हिन्दी भाषा भएकाले अनावश्यक विवाद झिकिएको जिकिर गर्दै अग्रेजी वोले वेलायती भइन्छ। भनने प्रश्न गर्नुभयो। नेपालको सबैजसो क्षेत्रका जनताले हिन्दी भाषा बोल्ने र सबैले बुझ्ने भएकाले उक्त भाषालाई राष्ट्रिय भाषाका रुपमा मान्यता दिनुपर्ने भनाइ यादवको थियो। यादवको भनाइपति असहमति जनाउँदै फोरम सभासद् कुगालाल महतोले भने हिन्दी भाषालाई मान्यता दिए आफूले नोट अफ डिसेन्ट लेख्ने बताउनुभयो। नेपाली कांग्रेसी उषा गुरुङले कुनै पनि विषयमा फरक विचार राख्न पाइन्छ तर त्यसै विषयलाई लिएर फेरि आन्दोलन चर्काउने कुरा गलत भएको टिप्पणी गर्नुभयो। विवादकै कारण बैठक भोलि बिहीबारसम्मका लागि स्थगित भएको छ।

माओवादीले आफ्ना माग पूरा भए स‌‌ंसद चल्न दिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ २७ माओवादीले आफूले सडक र सदनबाट उठाएको माग पूरा गर्ने भए संसद चल्न दिने भएको छ। आज बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो। संसद चल्न दिन प्रधानमन्त्री माधव नेपालले माओवादीसमक्ष आग्रह गरेपछि यसबारे बैठकमा छलफल भएको थियो। यसअघि मंगलबार गोदावरीमा भएको एमाले-माओवादी उच्चस्तरीय बैठकमा सहमतिका प्रस्ताव आज (बुधबार) पेश गर्ने सहमति भएको थियो। सहमतिका बुँदा तय गर्न दुवै दलका प्रमखु सचेतकलाई जिम्मेवारी दिइएको थियो।

पत्रकारको आवरणमा ठगी गर्दै हिँड्ने पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कसैलाई अमेरिका पठाइदिने आश्वासन दिने त कसैलाई प्रहरीमा रहेको मुद्दा मिलाइदिने प्रलोभन देखाएर पत्रकारको आवरणमा ठगी गर्दै हिँड्ने भेषबहादुर थापा पक्राउ परेका छन् । महानगरीय प्रहरीपरिसरमा थापाविरुद्ध नौ लाख ८३ हजार ठगेको दाबीसहितका आठवटा ठगीको उजुरी परेका छन् । अमेरिका पठाइदिन्छु, प्रहरीमा अनुसन्धानका क्रममा रहेको मुद्दा मिलाइदिन्छु र प्रहरीको ठेक्का पारिदिन्छु भनेर उनले रकम लिई ठगी गर्ने गरेको महानगरीय प्रहरीपरिसर काठमाडौंका एसपी नवराज सिलवालले बताए । सिलवालका अनुसार फसेको रकम फिर्ता माग गर्दा उनले पीडितलाई उल्टै अपहरण गरेको अभियोगसमेत छ ।प्रहरीका अनुसार थापा आफूलाई पत्रकारको परिचय दिन्थे । उनले आफूलाई राष्ट्रिय नयाँ विचार दैनिकको सम्पादक हुँ भनेर प्रहरीका उच्च अधिकारीसँग भेट गरी प्रहरी कार्यालयमा मुद्दा खेपिरहेका व्यक्तिका परिवारलाई प्रभावमा पारेर मुद्दा मिलाइदिने आश्वासन दिँदै रकम उठाउन सक्रिय रहेको प्रहरीको भनाइ छ । अनुसन्धानका लागि काठमाडौंको हिरासतमा रहेका राजेन्द्र गोर्खालीको केस मिलाइदिन्छु भन्दै उनको मित प्रदीप आचार्यसँग दुई लाख लिन थापा सफल भएका थिए । परिसर प्रमुख नवराज सिलवालले परिसरमा मंगलबार भने, 'केस मिलाउन दुई लाख दिँदा पनि मेरो मान्छे नछुट्ने ? भन्दै आएपछि बल्ल ठगीको रहस्य खुल्यो ।'सिलवालका अनुसार अभियुक्त थापाले आचार्यसँग 'गोर्खालीको केस मिलाउन मुद्दा शाखाका प्रहरीलाई पैसा दिनुपर्छ' भनेर दुई लाख रकम लिएर भागेका थिए । थापाले सिन्धुपाल्चोक फुल्कोटका दोर्जे शेर्पा र सोलुखुम्बुका प्रकाश केसीलाई अमेरिका पठाइदिन्छु भनेर एक लाख ६० हजार रकम ठगी गरेका थिए । पीडितमध्ये प्रकाशले थापासँग आफ्नो रकम फिर्ता माग गर्दा उनले केसीको अपहरणसमेत गरेको सिलवालले बताए । थापाले कास्की पुरानचौरका विनोद अधिकारीलाई अमेरिकी दूतावासमा जागिर लगाइदिन्छु भन्दै ४० हजार ठगेको र चितवन भरतपुरका बेली पौडेललाई अमेरिकामा सेमिनारमा पठाइदिने प्रलोभन देखाएर दुई लाख ४३ हजार ठगेको अभियोग छ ।थापाले प्रहरीलाई समेत ठगेको उनको अभियोगपत्रमा उल्लेख छ । थापाले कारबाहीमा परेका सशस्त्र प्रहरीका जितेन्द्र गजुरेल र सुरेशप्रसाद कोइरालालाई पुनर्बहाली गराइदिन्छु भनेर एक लाख १५ हजार ठगी गरेका थिए ।प्रहरीका अनुसार थापाबाट ठगिनेहरू धेरै छन् । कार्यालयमा थापाविरुद्ध उजुरी गर्न आउनेको संख्या बढिरहेको उल्लेख गर्दै सिलवालले उनको साथबाट एसएलसीको नक्कली सर्टिफिकेटसमेत बरामद भएकाले हिरासतमा राखेर अनुसन्धान अघि बढाएको बताए ।

अन्मिनको म्याद थप्न सबै दल तयार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आगामी साउन ८ गते म्याद समाप्त हुने क्रममा रहेको संयुक्त राष्ट्रसंघीय राजनीतिक मिसन (अन्मिन) को म्याद थप गर्न सत्तारूढ दलहरू नेकपा (एमाले), नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल एनेकपा (माओवादी) समेत तयार देखिएका छन्। संयुक्त राष्ट्रसंघको राजनीतिक मामिला विभागअर्न्तर्गत एसिया तथा प्रशान्त क्षेत्र हेर्ने निर्देशक स्यामुअल टाम्राटसँग मंगलबार भएका अलगअलग भेटवार्तामा प्रधानमन्त्री माधवकुमार नेपाल, नेपाली कांगे्रसका सभापति गिरिजाप्रसाद कोइराला र प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्मिनको म्याद थप्ने विषयमा आफूहरू तयार रहेको प्रतिक्रिया दिएका हुन्।टाम्राट मंगलबार मात्रै नेपालको पाँचदिने भ्रमणका लागि काठमाडौं आइपुग्नुभएको हो। उनीहरूले शान्ति प्रक्रिया तार्किक निष्कर्षा नपुगिसकेकाले अन्मिनको भूमिका अझै आवश्यक देखिएको बताउँदै टाम्राटसँगको भेटवार्तामा अन्मिनको म्याद थप गर्ने विषयमा सबै दलसँगको छलफलमार्फ सहमति गरी अघि बढ्ने बताएका हुन्। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री माधवकुमार नेपाल र टाम्राटबीच भएको भेटवार्तामा जारी शान्ति प्रक्रिया, नयाँ संविधान निर्माण र समसामयिक परिस्थितिबारेमा छलफल भएको थियो। भेटका क्रममा टाम्राटले नयाँ सरकारले अघि सारेका कार्यक्रम, माओवादी सरकारबाट बाहिरिएपछिको अवस्थाबारे चासो व्यक्त गर्नुभएको थियो।

ग्वान्तानामोका प्रथम बन्दी न्युयोर्क आइपुगे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
न्युयोर्क / ग्वान्तानामोका प्रथम बन्दी पुर्पक्षका लागि अमेरिकी नागरिक अदालतमा जान न्युयोर्क आइपुगेका छन् । अहमद घैलानीलाई सन् १९९८ मा पूर्वी अपिकामा अमेरिकी राजदूतावासमा बम विस्फोट गराएको आरोपमा न्युयोर्क अदालतमा मुद्दाको सामना गर्न त्यहाँ ल्याइएको हो । उनी तान्जानियाका नागरिक हुन् र २००४ मा पाकिस्तानमा समातिएका थिए । उनी पहिलो पुर्पक्षका लागि सोमबार म्यानहट्टन अदालतमा पुर्‍याइए । उनलाई अन्य महत्त्वपूर्ण बन्दीहरूसँगै २००६ को अन्त्यमा ग्वान्तानामो लगिएको थियो । 'संघीय अदालतमा उपस्थित भएपछि घैलानीलाई तान्जानिया र केन्यामा अमेरिकी राजदूतावासमा बम आक्रमण गरी दुई सय २४ जना मानिस मार्न भूमिका निर्वाह गरेको आरोपमा बन्दी तुल्याइएको हो,' अमेरिकी महान्यायाधिवक्ता एरिक होल्डरले एक वक्तव्यमा भनेका छन् । बन्दकक्षमा हुने सुनुवाइका लागि तयार गरिएको मार्च २००७ मा अभिलेखअनुसार घैलानीले दार-स्सलामस्थित अमेरिकी राजदूतावासमा बम हान्नका लागि विस्फोटक पदार्थ पठाएको कुरा स्वीकार गरेका थिए । सुनुवाइका क्रममा घैलानीले आफूलाई आक्रमणबारे पहिले कुनै जानकारी नभएको र अमेरिकी सरकार तथा पीडितका परिवारसँग क्षमा मागेको बताए । अनुसन्धाताका अनुसार उनले आक्रमण गर्नु ठीक अघि मात्र अपिका छाडेको बताएका छन् ।

फोरम कार्यकर्ताबीच एकापसमा झडप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मधेशी जनअधिकार फोरमको केन्द्रीय कार्यसमितिको बैठक चल्दै गर्दा सभास्थलअगाडि फोरम कार्यकर्ताबीच एकापसमा झडप भएको छ । अध्यक्ष उपेन्द्र यादवविरुद्ध गच्छादार समूहका कार्यकर्ताले नाराबाजी गरेपछि सुरु भएको झडपमा ३ सभासद् घाइते भएका छन् । दिउसो १२ बजे होटल सम्झनामा कार्यसमितिको बैठक सुरु भएलगत्तै गच्छादार पक्षका कायकर्ताले अध्यक्ष यादवविरुद्ध सडकमा नाराबाजी गरेका थिए। नाराबाजीलगत्तै यादव पक्षधर कार्यकर्ताले पहिल्यै तयार गरेर राखेको बाँसको लठ्ठीले गच्छादार समूहका कायकर्ता खेदेका थिए। यस क्रममा यादव पक्षधर कार्यकर्ताले फोरम सभासद् करिमा बेगम चढेको मोटरसाइकल तोडफोड गरेका थिए। उनलाई सामान्य चोट लागेको छ ।पर्सा क्षेत्र नं. १ की फोरम सभासद् करिमा बेगमले नेतृत्व गरको उक्त समूह पुन: भिड बटुलेर बैठकस्थलतर्फ आउन थालेपछि फेरि झडप भएको थियो । पहिल्यैदेखि तयार यादव पक्षधर कार्यकर्ताको पिटाईबाट पर्साकी सभासद् दुर्गादेवी महतोको हातमा गहिरो चोट लागेको छ। त्यस्तै अर्की सभासद् कलावती पासवानलाई यादव पक्षधर महिला कार्यकर्ताले बीच सडकमा लछारपछार पारेका थिए। नजिकै सुरक्षाकर्मी रहे पनि सुरक्षा नपाएको गुनासो उनले गरिन् ।उनीहरु दुवैले अध्यक्ष यादवविरुद्ध चर्को नारा लगाएका थिए।घाइते सभासद् दुर्गादेवी साह र कलावती पासवानको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार हुँदै गरेको पर्सा फोरमका उपाध्यक्ष वीरेन्द्र यादवले जानकारी दिए ।