News

Aug 5, 2013

भारत अझै टुक्रिने खतरा, थप २० वटा राज्यको माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
२० साउन,नेपालमा कतिवटा राज्य बनाउने भन्ने विवाद छ । मधेसमा कति प्रदेश बनाउने भन्ने विवाद नेपालमा थाती छ । तर, नेपालको सीमानामा रहेका भारतीय भूमिमा समेत जातीय राज्यको माग उठ्न थालेको नयाँ रहस्य भारतीय सञ्चारमाध्यमले खोलेका छन् । उत्तरी भारतमा भोजपुरा, मैथिल राज्यको समेत माग भइरहेको रहस्य खुलेको छ । पूर्वी नेपालको सीमाक्षेत्रमा गोर्खाल्याण्डका लागि आन्दोलन चलिरहेको छ । नेपालको जातीय एवं पहिचानको आन्दोलनले छिमेकमा प्रभाव परेको हो या भारतको संघीय आन्दालनले नेपालमा असर गरेको हो भनेर छुट्याउनै नसकिने गरी यी दुई मुलुकहरु जातीय राज्यको मागको चपेटामा रुमलिन थालेका छन् । अब नेपाल र भारत दुबै देशका लागि जातीय एवं भाषिक पहिचानको मुद्दा साझा समस्या बन्न पुगेको छ । 
‘युनाइटेड स्टेट अफ इण्डिया’ 
नयाँ तेलंगाना राज्यसहित २९ वटाको संघीय राज्य बन्न लागिरहेको भारतमा नयाँ राज्यका लागि केन्द्र सरकारसमक्ष थप २० वटा नयाँ निवेदन परेका छन् । सबैले मागेजति राज्य दिने हो भने संयुक्त राज्य अमेरिकामा जस्तै भारतमा ५० वटा राज्य बन्ने चर्चा शुरु भएको छ । केही भारतीय सञ्चारमाध्यमहरुले भारतमा नायँ राज्यको बढ्दो मागलाई व्यंग्य गर्दै ‘युनाइटेड स्टेट अफ इण्डिया’ भन्न थालेका छन् । त्यहाँका सञ्चारमाध्यमले जनाएअनुसार गृहमन्त्रालयमा प्राप्त नयाँ राज्यका आवेदनहरुमा उत्तर बंगालबाट कामातपुरका लागि, कर्नाटकमा तुलुनाडूका लागि माग भएको छ भने मणिपुरबाट कुकिल्याण्ड र तामिलनाडूमा कोंगु नाडू राज्यको माग भएको छ । 
उत्तरप्रदेशमा अवध र बिहारमा मिथिला प्रदेशको माग 
उत्तर प्रदेशमा तत्कालीन मायावती नेतृत्वको सरकारले देशलाई घना आवादीका आधारमा ४ वटा राज्यमा विभाजन गर्न माग गरेको थियो । राज्य सरकारलाई त्यसरी नयाँ राज्यको माग गर्ने अधिकार नभए पनि मागहरु आउने गरेको भारतीयहरुले बताएका छन् । भारतीय सञ्चारमाध्यमले त्यहाँका अधिकारीहरुलाई उधृत गर्दै बताए अनुसार उत्तरप्रदेशमा अवध प्रदेश, पूर्वाञ्चल प्रदेश, बुन्देलखण्ड प्रदेश र पश्चिमाञ्चल या हरित प्रदेश बनाउनुपर्ने माग छ । त्यसैगरी उत्तर प्रदेशको आगरा र अलिगढ एवं राजस्थान र मध्यप्रदेशबाट ग्वालिअर भरतपुर जिल्लालाई मिलाएर ब्रज प्रदेश निर्माण गर्ने माग भारतीय केन्द्र सरकारसमक्ष पुगेको छ । पूर्वीउत्तर प्रदेश, विहार र छत्तीसगढ क्षेत्रमा भोजपुरा राज्य निर्माणको माग समेत गृहमन्त्रालयमा दर्ता भएको भारतीय सञ्चारमाध्यमको दाबी छ । त्यसैगरी विहार र झारखण्डको मैथिलभाषी क्षेत्रमा मिथिलाञ्चल प्रदेशको माग केन्द्र सरकारसम्म पुगेको बताइएको छ । त्यस्तै महाराष्ट्रको विदर्भ क्षेत्र बाहिर एक पृथक राज्यको पुरानै माग छ भने पश्चिम बंगालबाट अलग गोर्खाल्याण्ड राज्यको माग जोडदाररुपमा उठेको छ । गुजरातको बाहिरी क्षेत्रलाई पनि अर्कै प्रदेश बनाउने माग उठेको छ । पश्चिमी आसामको बोडो बाहुल्य क्षेत्रमा अलग बोडोल्याण्ड राज्यको माग भइरहेको छ । त्यस्तै आसाम अन्तरगतकै कार्बी स्वायत्त जिल्लामा पनि उनीहरुले अलग राज्यको माग गर्दै आएका छन् । त्यसैगरी पूर्वोत्तर भारतमै अर्को दिमाराजी वा दिमाल्याण्ड राज्यको माग आसाम र नागाल्याण्डका दिमासाहरुले गरिरहेको बताइएको छ । तामिलनाडू राज्यको दक्षिण-पश्चिम, कर्नाटकको दक्षिण-पूर्व र केरलको पूर्वीभागलाई मिलाएर कोंगु नाडू राज्यको माग उठेको छ । कर्नाटाको कुर्ग बाहुल्य भूभागमा कुर्ग राज्यको माग छ । त्यस्तै उडिसा, झारखण्ड, छत्तीसगढका केही हिस्सालाई मिलाएर कोसल राज्यको माग उठेको छ भने कर्नाटक र केरलको सीमानामा तुलुनाडू राज्यको माग छ । मणिपुरका कुकी आदिबासीहरुले कुकील्याण्ड मागिरहेका छन् । अरबसागर समुद्री तटसम्मको पश्चिमी भारतको एउटा हिस्सामा कोंकण राज्यका लागि आवेदन परेको बताइएको छ । कुचबिहार र जलपाइगुडी समेत पश्चिम बंगालका केही जिल्ला मिलाएर कामतपुर राज्यको माग गरिएको छ भने मेघालयको गारो क्षेत्रमा गारोल्याण्डको माग उठेको छ । पूर्वोत्तर भारतमा पूर्वी नागाल्यण्डको समेत माग छ । त्यस्तै दुर्गम लद्दाख क्षेत्रलाई केन्द्र प्रशासित बनाइनुपर्ने माग समेत केन्द्र सरकारमा थाती रहेको छ ।

No comments: