News

Sep 26, 2013

३३ दलद्वारा आमहड्तालसहितका आन्दोलन घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
१० असोज,नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले मंसिर ४ को चुनाव सक्रिय बहिस्कार गर्ने भन्दै आमहड्तालसहितका आन्दोलन घोषणा गरेका छन् । माओवादी पार्टी कार्यालय बुद्धनगरमा बिहीबार बसेको ३३ दलीय मोर्चाले असोज १३ गतेदेखि मंसिर ५ गतेसम्मका आन्दोलनका कार्यक्रम तय गरेको हो । घोषित कार्यक्रममा १३ गते सबै जिल्ला निर्वाचन कार्यलयलाई कार्यान्वयन नगर्न सचेतता पत्र बुझाउने, १६ गते चुनाव बहिस्कारको प्रचार गर्ने र १७ गते चार दलका शीर्ष नेताहरुको पुत्ता लगाउने छन् । निर्वाचन आयोगको कार्यतालिका अनुसार १० गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको दिन हो । यसअघि असोज १० गतेको उम्मेदवारी दर्तालाई लक्षित गरेर ३३ दलले ९ र १० गते नेपाल बन्दको घोषणा गरेको थियो । तर, निर्वाचन आयोगले उम्मेदवारी दर्तालाई १७ गते सारेपछि ३३ दललाई दशैंको मुखमा बन्द आहृवान गर्न संकट परेको एक नेताले बताए । असोज १९ गतेदेखि कात्तिक १ गतेसम्म घरदैलो अभियान चलाउने र उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ताका लागि पत्राचार गर्ने, सरकारी कर्मचारी र सुरक्षाकर्मीलाई चुनावमा साथ नदिन अपील गर्ने घोषणा गरेका ३३ दलीय मोर्चाले कात्तिक २ गतेबाट उम्मेदवारलाई जिल्ला तथा गाउँ प्रवेशमा रोक लगाउने, उम्मेदवारको घर अगाडि कालो झण्डा गाढ्ने र सामाजिक बहिस्कार अभियान सञ्चालन गर्ने बताएको छ । चार दलका शीर्ष नेताहरु गएका समयमा जिल्ला बन्द गर्ने, बुथ बुथमा युवाहरुको बहिस्कार टोली खटाउने र कात्तिक २५ देखि मंसिर ५ गतेसम्म आहमड्ताल गरी मंसिर ४ को चुनावलाई सक्रिय रुपमा बहिस्कार गर्ने ३३ दलको कार्यक्रम छ । 
मुलुक सैन्य शासनतर्फ 
आन्दोलनका कार्यक्रम घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा माओवादी सचिव देव गुरुङले मुलक सैन्य शासनतर्फ उन्मुख भएको बताउनु भयो । चुनावमा सेना परिचालन गर्ने निर्णय शान्ति सम्झौता विपरित भएको भन्दै उहाँले भन्नुभयो-’सेना परिचालन गरेर चुनाव गर्न खोजिएको होइन् । प्रकारान्तरले मुलुकको सत्ता प्रधानन्यायाधीशश हुँदै जंगी शासनतिर लैजाने षड्यन्त्र भइरहेको छ ।’ 
भारतीय गाडी गुड्न नदिने 
३३ दलीय मोर्चाले असोज १७ गतेदेखि नेपालमा भारतीय सवारी साधान गुड्न नदिने घोषणा गरेका छन् । ३३ दलले भारतीय सुरक्षाकर्मी नेपाल प्रवेशमा रोक्नु पर्ने, भारतबाट भित्रिएको भनिएको वर्ड फ्लुबारे छानविन गर्नु पर्ने, माथिल्लो कणर्ाली र अरुण तेस्रोको पीडीए गर्ने तयारी रोक्नु पर्ने, हालै नेपाल आएको अमेरिकी सैन्य विमानले ल्याएको सामानबारे जानकारी दिनु पर्ने लगायतका माग समेत अघि सारेका छन् ।

No comments: